‘रविलाई धरौटीमा छाड्नुको कारण पेश गर्नू’

‘रविलाई धरौटीमा छाड्नुको कारण पेश गर्नू’
सुन्नुहोस्

उच्च अदालत कास्कीले सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्नुको आधार र कारण पेश गर्न जिल्ला अदालतलाई आदेश दिएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज सहकारी ठगी तथा संगठित अपराध मुद्दाका प्रतिवादीलाई धरौटीमा छाड्नुको कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको छ । 

मुलुककै कान्छा न्यायाधीश नितिज राईको इजलासले पुस २५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धक निर्देशकसमेत रहेका लामिछाने, उनका व्यवसायिक साझेदार पूर्व डिआईजी छविलाल जोशी, जिबी राईकी प्रेमिका भनिएकी लिला पछाई, नेचर हब्र्सका रामबहादुर खनालसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, सूर्य दर्शन सहकारीका पीडितहरुले ‘विगो मागदाबी गरिएको भन्दै निकै कम धरौटीमा रिहा गरेको’ भन्दै निवेदन दिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले हिजो सातै जनालाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिएको थियो । 

अब जिल्ला अदालतले प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्नुको आधार र कारणसहितको प्रतिवेदन बुझाएपछि उच्च अदालतमा अर्को पेशी तोकिने छ । उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई सदर वा बदर गर्ने अधिकार राख्छ ।
 

टिप्पणीहरू