दिवंगत वृद्धका तीन श्रीमती, २० छोरा–बुहारी र सात छोरी किरियामा

दिवंगत वृद्धका तीन श्रीमती, २० छोरा–बुहारी र सात छोरी किरियामा
सुन्नुहोस्

एक जनाको मृत्युमा आजकल शोक बार्ने कति हुन्छन् ? किरियाका लागि आफ्नै छोराछोरी वा नजिकका नातेदार पनि पाउन कतिपय अवस्थामा मुश्किल देखिन्छ । तर, मोरङको नेमुवामा एक ज्येष्ठ नागरिकको निधनमा ३० जनाले जुठो बारेका छन् । बुढीगंगा गाउँपालिका–४ मा पर्ने नेमुवा निवासी ८९ वर्षीय शारदाप्रसाद भट्टराईको गत माघ ४ गते मृत्यु भएपछि उनीहरुमध्ये केही किरियापुत्री हुन् ।

परिवारका ३० जना सदस्यले जुठो बारिरहेको बताइन्छ । भट्टराईकी तीनवटी श्रीमती, २० जना छोरा–बुहारी र सात जना छोरी किरिया बसेका छन् । नाती जीवन भट्टराईका अनुसार शारदाको जेठी श्रीमतीतर्फ चार छोरा, पाँच जना बुहारी र तीनवटी छोरी छन् । 

माइली श्रीमतीतर्फ पाँच छोरा, पाँच बुहारी र एकजना छोरी छन् । कान्छी श्रीमतीतर्फ एउटा छोरा र बुहारी छन् । त्यसैगरी, कान्छीकी एउटी छोरी छिन् । सबै श्रीमती, छोरा–बुहारी र छोरीहरु मूलघरमा भेला भएर आशौच बारिरहेका छन् । दिवंगत भट्टराईका ३० जना नातिनातिनी र आधा दर्जन पनाती–पनातिनी छन् ।

टिप्पणीहरू