पूर्वको केबलकार रोक्न पुलचोकमा हारगुहार

पूर्वको केबलकार रोक्न पुलचोकमा हारगुहार
सुन्नुहोस्

मुलुककै प्रसिद्ध तीर्थस्थलमध्ये एक ताप्लेजुङको पाथीभरा देवी मन्दिरमा केबलकार निर्माण गर्न थालिएपछि सम्पदा संरक्षकहरुले राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन् । विकासको नाममा सम्पदा मासेर केबलकार निर्माण गर्न थालिएको भन्दै उक्त कार्य रोक्नुपर्ने मागसहित आयोग अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाइएको छ ।

‘मुक्कुमलुङ’ (पाथीभरा) लाई लिम्बू तथा याक्युङ समुदायको मुन्धुमी, सांस्कृतिक आध्यात्मिक आस्था स्थल मानिन्छ । मुक्कुमलुङ उक्त समुदायसँग जोडिएको संस्कृति र सांस्कृतिक सभ्यता भएपनि हिन्दुकरण गरेर पाथीभरा बनाइएको आरोप छ । त्यसविरुद्ध स्थानीय बासिन्दा, लिम्बू समुदाय र विभिन्न जनसमूह आन्दोलित भइरहँदा अहिले कथित विकासको नाममा स्थानीय सरोकारवालाको हित विपरीत व्यापारीकरणका निम्ति केबलकार निर्माण गर्न लागिएको र सरकारले त्यसमा सहयोग गरेको उनीहरुको दाबी छ । ‘राज्य र व्यापारिक कम्पनीको मिलेमतोमा मुन्धुमी ऐतिहासिक स्थल अतिक्रमण गरी नाम विस्थापित गर्दै केबलकार निर्माण गर्ने कार्य शुरु गरिएको छ । अहिलेसम्म केबलपार निर्माणको निहुँमा हजारौं रुख काटिए, राष्ट्रिय फूल लालीगुराँसका थुप्रै प्रजातिका रुख काटिए, बहुमुल्य जडिबुटी सखाप पारिएका छन् । यी सबै काम राज्यकै आडमा गरिएका हुन्,’ ज्ञापनपत्रमा उल्लेख छ ।

मुक्कुमलुङ क्षेत्र र स्थल लिम्बू, याक्थुङ समुदायको समुदायको परम्परागत प्रथाजनित पुख्यौली भूमिसँगै मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक आस्था स्थल र विश्वासको केन्द्र भएकोले यसलाई राज्यले अतिक्रमण गरी नाम परिवर्तन गरिएकोमा आपत्ति जनाउँदै उनीहरुले ऐतिहासिक नाम मुक्कुमलुङ नै कायम गर्नुपर्ने माग पनि गरेका छन् । 

‘यस कुरासँग जोडिएको वि.सं. १८३१ मा गोरखा नेपाल र लिम्बुवानबीच भएको लालमोहर सन्धि, अन्तर्राष्ट्रिय कानून र संविधानको धारा ३२ (३) को समन गर्दै कार्यान्वयन गर्नुपर्ने र मुक्कुमलुङलाई मुन्धुमी आध्यात्मिक स्थल र सांस्कृतिक मूल्यमान्यताअनुसार प्राकृतिक रुपमै राख्न चाहन्छौं,’ उनीहरुले भनेका छन् । 
 
साथै, पाथीभराको प्राकृतिक वातावरण्लाई प्रतिकूल प्रभाव पार्ने गरी थालिएको केबलकार निर्माण कार्य बन्द गर्न र यस क्षेत्रमा कुनै पनि कार्य गर्नुपरेमा अन्तर्राष्ट्रिय कानूनअनुसार आदिबासी समुदायको अग्रिम जानकारीसहित मञ्जुरी लिने व्यवस्थाका लागि पनि अनुरोध गरिएको छ । 

ज्ञापनपत्र बुझाउन मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, संघीय समिति तथा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, लिम्बु थरगत संस्था सहजीकरण समूह, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समिति र मुक्कुमलुङ तान्सेह्ःप् चुम्चोका प्रतिनिधिहरु पुगेका थिए ।

टिप्पणीहरू