मास्केवारी विवरण अरुले राख्लान् नि !

मास्केवारी विवरण अरुले राख्लान् नि !
सुन्नुहोस्

‘विषय : जो जस सँग सम्बन्धित छ ।

उपरोक्त विषयमा यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका विभिन्न करदाताहरुबाट मूल्य अभिवृद्धि कर मास्केवारी विवरण पेश गर्नु अगावै अज्ञात व्यक्तिले आन्तरिक राजस्व विभागको ITS System मा प्रवेश गर्ने र गलत अंक प्रविष्ट गरी मूल्य अभिवृद्धि कर मास्केवारी विवरण पेश गर्ने गरेको भनी गुनासो आइरहेको हुँदा आ–आफ्नो स्थायी लेखा नम्बरको Password Change गरी Strong Password Create  गर्नुहुन सम्पूर्ण करदाताहरुमा यो सूचना जारी गरिएको छ ।’

आन्तरिक राजस्व कार्यालय भरतपुरले आज प्रकाशित गरेको सूचना हो यो । पत्रको चलानी नम्ब ८४८३ रहेको देखिन्छ । केही दिनअघि नारायणगढको शहीदचोकमा बजाज सर्भिस सेन्टर पछाडि प्रिमियर अटो ट्रेडर्स र नर्थहिल एजुकेसन प्रालि रहेको भवनमा सञ्चालित एउटा अडिट फर्ममा छापा मारेर केही फाइल र कम्प्युटर सिस्टमसहित सञ्चालकलाई पक्रेर लगेको गाइँगुइँ सुनिएको थियो । नारायणगढबाट दुईजना पक्राउ परेको सूचना आन्तरिक राजस्व कार्यालयबाट पनि पुष्टि भएको छ । 

पहिले यस्तो सुनिएको थिएन, चितवनमा पहिलोपटक भएको बताइन्छ । ‘करदाता आफैंले मिस्टेक गरेर सच्याइ पाऊँ भन्ने त हुन्थ्यो’, आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काले भने, ‘तर आफूलाई थाहा नभएको र आफूले विवरण हाल्न खोज्दा अनधिकृत व्यक्तिबाट पहिल्यै हालिसकेको भन्ने उजुरी अहिले आएको छ ।’ ८÷९ जना करदाताहरुको विवरणमा यस्तो समस्या देखिएपछि आन्तरिक राजस्व विभागमा जानकारी गराइएको उनले बताए । 

विभागबाट छानबिनका लागि प्रहरीको सिआईबीमा अनुरोध भएपछि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको प्रमुख कर अधिकृतले बताएका छन् । सरसर्ती हेर्दा कुनै रिसइबी साँध्न बढी कर तिराउने मनासयले विवरण बिगारिदिएको देखिन्छ’, उनले भने । त्यसैले करदाता व्यवसायीहरुले आयकर प्रणालीको बलियो पासवर्ड राख्न र बेलाबेलामा पासवर्ड परिवर्तन गर्न आवश्यक देखिएको उनी बताउँछन् । 

‘ट्याक्स पेयर पोर्टल’ मजबुत नभएमा आफ्नो गोप्य व्यवसायिक कारोबार अरुले थाहा पाएमा आर्थिक विवरण पनि बिगारिदिएर फसाउनसक्ने भएकोले सुरक्षित र सतर्क रहन कार्यालयबाट सम्पूर्ण करदाताहरुलाई सजग गराइएको छ । 

 

टिप्पणीहरू