चितवनमा यस्तो छ समयको अपराध चक्र

चितवनमा यस्तो छ समयको अपराध चक्र

आर्थिक वर्ष २०८०-०८१ मा २४ घण्टाको दिनलाई चार भागमा बाँडेर हेर्दा रातिभन्दा पनि चितवनमा दिउँसो १२ बजेदेखि साँझ ६ बजेको समयमा अपराध बढी भएको देखिन्छ । हप्ताको सात बारमा आपराधिक दृष्टिले बुधबार कालो दिनको रुपमा चित्रित छ । त्यसपछि क्रमशः सोमबार, आइतबार, बिहीबार, शनिबार र शुक्रबार कम–कम हुँदै मंगलबार अरु दिनभन्दा कम अपराध भएको आंकडा प्रहरीले प्रस्तुत गरेको छ । 

समयको अपराध चक्र हेर्दा गत वर्ष जेठ–असारतिर अपराधिक घटना बढी भएका छन् । गत आर्थिक वर्षमा विभिन्न प्रकृतिका अपराधसँग सम्बन्धित १६ सय २८ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकोमा अभियुक्त संख्या १७ सय ४० छ । त्यसमा स्वदेशी पुरुष १५ सय ६४, महिला १५५ र विदेशी पुरुष २१ जना रहेको तथ्यांकमा देखिन्छ । 

गत वर्ष सोही समयमा १२ सय १९ जना अभियुक्तसहित फरार १३५ समेत गरी १३ सय ५४ जना पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा १५ सय ३६ र ०७८-०७९ मा १३ सय ८६ वटा मुद्दा दर्ता भएका थिए । ०७९-०८० को मासिक स्थिति केलाउँदा चैत अनि बारलाई नियाल्दा सोमबार बढी अपराध भएको विवरणमा बताइएको छ । ०७८-०७९ मा आईतबार अपराध धेरै भएको जनाइएको छ ।
 
प्रहरीको त्रिवर्षीय अपराध तथ्यांकले चितवनमा अपराध संख्या वर्षेनी बढ्दै गएको देखाएपनि ज्यानसम्बन्धी कसुर भने क्रमिकरुपमा घटेको भेटिन्छ । आ.व. ०७८-०७९ मा ३३५, ०७९-८० मा २९४ र ०८०-८१ मा २७५ वटा ज्यानसम्बन्धी कसुर भएको तथ्यांकमा उल्लेख छ । आत्महत्या सम्बन्धी कसुर चाहिँ प्रत्येक वर्ष केही न केही मात्रामा बढेकै देखिन्छ । चोरी डाँका विगतमा भन्दा गत वर्ष घटेको विवरण छ । 

संगठित तथा आर्थिक अपराध आर्थिक वर्ष ०७८-०७९ को तुलनामा ०७९-०८० मा ह्वात्तै बढ्दा गत वर्ष भने केही घटेको देखिन्छ । सामाजिक अपराध अघिल्ला वर्षको तुलनामा गत वर्ष झण्डै दोब्बर बढी भएको तथ्यांकले बताउँछ । 

महिला तथा बालबालिका सम्बन्धी कसुर भने पहिलेभन्दा गत वर्ष केही घटेको प्रहरीले जनाएको छ । सवारी सम्बन्धी अपराध पनि विगतमा भन्दा घटेको पाइन्छ । अन्य अपराध शीर्षकको प्रहरी विवरणको ग्राफचाहिँ चितवनमा वर्षेनी उकालो नै चढ्दै छ । – अजय गोर्खाली

टिप्पणीहरू