रात परेपछि राप्रपाको खबर : नवराज सुवेदीको कार्यक्रममा जानू

राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाले ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा भोलि काठमाडौँमा हुने प्रदर्शनमा सहभागी हुन पार्टीपंक्तिलाई आह्वान गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको विशेष रुचीमा राजावादी आन्दोलनको मोर्चा सम्हाल्ने जिम्मेवारी पाएका वयोवृद्ध नवराज सुवेदी संयोजक रहेको समितिको कार्यक्रममा राप्रपाको सहभागितालाई लिएर दुइथरी कुरा आइरहेका बेला प्रवक्ता मोहनकुमार श्रेष्ठले कार्यकर्तालाई आन्दोलनमा जान भनेका हुन् । उनले भर्खरै जारी गरेको विज्ञप्तिमा कुनै पनि भ्रममा नपरी भोलिको प्रदर्शनमा सक्रियतापूर्वक सहभागी हुन अपिल गरिएको छ ।
‘भोलि चैत १५ गते काठमाडौंको तिनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंक्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनका सम्बन्धमा पार्टीको नाम, छाप र लोगो दुरुपयोग गरी भ्रम फिँजाइएको भन्दै राप्रपाले कडा शब्दमा आपत्ति जनाएको छ । यसअघि राप्रपाको नामबाट भोलिको प्रदर्शन स्थगित भएको सूचना सम्प्रेषित भएको थियो ।
‘भोलि चैत १५ गते शुक्रबार राजधानीमा राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका विषयमा हुने प्रदर्शन र आन्दोलनका सम्बन्धमा पार्टीको नाम, छाप र प्रवक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सन्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता कार्यहरु निन्दनीय र आपत्तिजनक छन् । राप्रपा उक्त कार्यको खण्डन गर्दछ र कोही भ्रममा नपर्नका लागि आग्रह गर्दछ ।’
राप्रपाले समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर एकसाथ उभिन प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । त्यसो त, राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष नवराजलाई अघि सारेर आन्दोलन गर्ने निर्मल निवासको कदमप्रति लिङ्गदेन स्वयम् सन्तुष्ट देखिँदैनन् । प्रारम्भमा उनले आफ्नो समर्थन नरहेको प्रतिक्रिया दिएका थिए ।
राप्रपाको पछिल्लो कार्य सम्पादन समितिको बैठकमा यसबारे चर्को विवादसमेत भएको थियो । तर, धवलशमशेर राणा, रविन्द्र मिश्र, विक्रम पाण्डे, प्रकाशचन्द्र लोहनीलगायत ठूलोपंक्ति नवराजकै अगुवाइमा राजा फर्काउनुपर्नेमा अडिग रहेपछि लिङ्गदेन लतारिन बाध्य भएको पार्टीका नेताहरुको बुझाइ छ ।
टिप्पणीहरू