ग्लोबल बैंक : ‘लुकिङ लण्डन,टकिङ्ग टोकियो’

ग्लोबल बैंक : ‘लुकिङ लण्डन,टकिङ्ग टोकियो’

द्रव्य शाह

केहि समयदेखि नियमनकारी निकायको निर्देशनलाई लत्याउँदै र आफूखुशी काम गर्दै आएको ग्लोबल आईएमई बैंकले ‘कुरो इन्टरनेशनल तर काम लोकल’ गरेको देखिएको छ । नेपाली बैंकहरूले विदेशमा पनि सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्न पाउने प्रावधान आएपछि ग्लोबलले आफूलाई अन्तर्राष्ट्रियस्तरको देखाउने नाममा एकाएक लण्डन,सिड्नी र नयाँ दिल्लीमा करोडौं रूपैयाँ खर्चेर कार्यालय खोलेको थियो । विश्वकै महँगो शहरमा खोलिएका ती कार्यालय अहिले बैंकको लागि ‘सेतो हात्ती’ सावित बनेको बताइन्छ ।

स्रोतका अनुसार बेलायत,अष्ट्रेलिया र भारतमा खोलिएको सम्पर्क कार्यालय उद्घाटनमा दश करोड रूपैयाँ भन्दाबढी खर्च गरिएको थियो । तामझाम र नेपालबाट प्रमुख अतिथिको श्रीमान् श्रीमती नै लगेर खोलिएका ती कार्यालयको उपलब्धि शून्य देखिएपछि सेता हात्ती बनेका हुन् । नेपाल राष्ट्र बैंकले पनि २०७४ साउनदेखि जोखिममा आधारित सुपरीवेक्षण पूर्ण रूपमा लागू भएको बताएको छ । तर,ग्लोबलको हकमा फिल्डमा होइन कागजमा मात्रै सीमित  छ । विभिन्न गतिविधिबाट बैंकको जोखिम बढेको थाहा हुँदाहुँदै राष्ट्र बैंकले साँधेको मौनता भने थप रहस्यमय बन्दै आएको छ ।

गभर्नर नेपाल र अर्का एकजना निर्देशकलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोकियोमा हुने कार्यक्रममा भाग लिन जाने क्रममा ‘रुट नपरे पनि’ एक रात,दुई दिन सिओलमा राख्ने र घुमाउने तारतम्य मिलाउन ग्लोबल बैंकका ठूला मान्छेहरू सफल भएका थिए । 

अष्ट्रेलियामा खोलिएको बैंकको सम्पर्क कार्यालय उद्घाटनमा मात्रै झण्डै पाँच करोड रूपैयाँ खर्च भएको थियो । जुन उद्देश्यले अष्ट्रेलिया,बेलायत र भारतमा सम्पर्क कार्यालय खोलियो त्यसको ‘परफरर्मेन्स’ नदेखिएको उच्च स्रोतको दाबीसँगै ‘सिडनी र लण्डन कार्यालय नेपालबाट गएका ठूलाबडालाई घुमाउने र भेटघाट गर्ने औपचारिक थलोको रूपमा परिणत हुँदै गएकाले ‘टिपिकल मिटिङ र च्याटिङ् पोइन्ट’ मा परिणत भएको’ बताइएको छ । नयाँ दिल्लीको हालत पनि त्योभन्दा फरक नभएको स्रोतको दाबी छ ।

दुवै ठाउँमा कार्यालय उद्घाटन गर्दा बैंकका उच्च अधिकारीले त्यतिबेला व्यक्त गरेका वाचा र जारी गरिएको प्रेस विज्ञप्तिमा ‘बेलायत र अष्ट्रेलियाबाट नेपालमा पर्याप्त विदेशी लगानी ल्याइन्छ’ भनिएको थियो । तर,त्यस्ता प्रतिबद्धता तपसिलबमोजिम भनाई र कागजमै सीमित भएको छ । त्यसैगरी,व्यापार प्रवर्धन गराउन अहम् भूमिका खेल्ने समेत बताइएको थियो । त्यसतर्फ पनि सिन्को भाँचिएको देखिएको छैन ।

मुखले जे भनेपनि तथ्याङ्कमा नदेखिएकाले त्यसको कुनै अर्थ नहुने केन्द्रीय बैंकका एकजना अधिकारी बताउँछन् । ग्लोबल बैंकले आफ्ना सम्पर्क कार्यालयले दुवै देशमा रहेका लाखौं नेपाली विद्यार्थी र वैदेशिक रोजगारी अनुमतिप्राप्त नेपाली कामदारहरूलाई थप सेवा पुर्याउने भनेको थियो । अहिलेसम्म न तिनले सेवा पाएका छन्,न ती कार्यालय खुलेपछि त्यहाँबाट स्वदेश भित्रिने विप्रेषण नै उल्लेख्य मात्रामा बढेको देखिन्छ ।

लण्डन सम्पर्क कार्यालय उद्घाटनको क्रममा मात्र ३ लाख ६५ हजार पौण्ड खर्च गरिएको थियो । तीन वर्ष अघिको प्रचलित विनियमदरअनुसार उक्त खर्च ५ करोड २० लाख रूपैयाँ भन्दाबढी हुन आउँछ । लण्डनको अल्डरसट,ह्याम्पसायरमा ग्लोबलले सन् २०१८ जनवरी २१ मा सम्पर्क कार्यालय खोलेको हो ।

सिड्नीमा उद्घाटन भन्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई सपत्नी अस्ट्रेलिया घुुमाएको बैंकले लण्डनमा तत्कालीन गभर्नर डा.चिरञ्जीवी नेपाल र उनकी श्रीमतीको खर्चसमेत व्यहोरेर लगेको थियो । त्यहि मेसोमा बैंकको खर्चमा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तत्कालीन सीईओ जनकराज पौडेललगायत पनि नजाने कुरो भएन । उनीहरूले ‘आफ्नै हात जगन्नाथ’ भन्दै सम्पर्क कार्यालय उद्घाटनको नाममा बैंकको खर्चमा दुबैतर्फ आउजाउ गरेका थिए ।

नयाँ दिल्लीमा राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई प्रमुख अतिथि बनाएर लगिएको थियो । नियमन विभागमा रहेका पौडेललाई अन्य समूहमा नलागी आईएमई ग्रुपको पक्षमा ध्यान दिन लगाउने गरी रणनीतिक हिसाबले लगिए पनि पछि उनी प्रभू ग्रुपतिर लागे । बैंकबाट अवकाश लगत्तैदेखि उनी त्यहि ग्रुपको प्रभू लाईफ इन्स्योरेन्समा सीईओ छन् । कुनै बेला निकै सुमधुर सम्बन्ध र बिजनेस पार्टनरसमेत रहेका ढकाल र प्रभूका देवीप्रकाश भट्टचनबीच पछिल्लो समय व्यावसायिक सम्बन्ध पहिलेझैँ मिठासपूर्ण देखिँदैन ।

त्यसैगरी बैंकले एकपटक दक्षिण कोरियाको राजधानी सिओलमा जीएमई रेमिट्यान्सको कार्यालय उद्घाटनको नाममा गभर्नर नेपाल र बैंकका एकजना कार्यकारी र अर्का एकजना निर्देशकलाई समेत बोकेर गएको थियो । राष्ट्र बैंक स्रोतका अनुसार कार्यकारी निर्देशकको सम्पूर्ण खर्च ग्लोबल बैंक आबद्ध जीएमई रेमिट्यान्सले व्यहोर्ने गरी निम्तो पठाइएको थियो ।

उता,गभर्नर नेपाल र अर्का एकजना निर्देशकलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोकियोमा हुने कार्यक्रममा भाग लिन जाने क्रममा ‘रुट नपरे पनि’ एक रात,दुई दिन सिओलमा राख्ने र घुमाउने तारतम्य मिलाउन ग्लोबल बैंकका ठूला मान्छेहरू सफल भएका थिए । त्यतिबेला आईएमएफको कार्यक्रममा जाने क्रममा हतारमा सिओल पुग्दा प्राविधिक कारणले गभर्नर नेपाल त्यहाँबाट झण्डै टोकियो प्रस्थान गर्न नपाएको किस्सा सहभागीहरूले नै पछि नेपाल फर्केर बताएका थिए ।

नियमनकारी निकायले ग्लोबल र बज्राचार्य दुवैमाथि कुनै कारबाही नगर्नुले बैंकिङ्ग क्षेत्रसमेत लज्जित हुन थालेको भन्दै बैंकरहरूले कानेखुशी गर्न थालेका छन् ।

त्यतिबेला सबैभन्दा रोचकचाँहि गभर्नर उपस्थित हुँदाहुँदै सिओलको औपचारिक कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशकले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए । गभर्नर नेपाल र उनीसँगै टोकियो जान भन्दै सिओल पुगेका निर्देशक भने जीएमई रेमिटको कार्यक्रममा दर्शक दीर्घामा बसेको चर्चाले पनि त्यतिबेला ठूलै तहल्का मच्चाएको थियो ।

यो सम्मको पहुँच र हैसियत देखाउने बैंकलाई कसले छुने भन्ने मनोविज्ञान अहिले सर्वत्र परेको छ । त्यसैले पछिल्लो दिनमा नियम,कानुन र निर्देशनविपरित रत्नराज बज्राचार्यलाई बैंकको सीईओ बनाउनुलाई अचम्म मान्नु नपर्ने बताइन्छ । निर्देशनविपरित नियुक्त गरिएको छ महिना बितिसक्दा पनि नियमनकारी निकायले ग्लोबल र बज्राचार्य दुवैमाथि कुनै कारबाही नगर्नुले बैंकिङ्ग क्षेत्रसमेत लज्जित हुन थालेको भन्दै बैंकरहरूले कानेखुशी गर्न थालेका छन् ।

तोकिएको उमेर हद नाघेका बज्राचार्यलाई ह्याकुलाले पेलेर ग्लोबलको उच्च व्यवस्थापनले सीईओमा नियुक्त गरेको समाचार यसअघि नै जनआस्था डट कम र जनआस्था साप्ताहिकमा प्रकाशित भइसकेको छ । ग्लोबल बैंकलाई नियम मिच्ने छुट महाप्रसाद अधिकारी गभर्नर बनेपछि झन् बढि दिइएको राष्ट्र बैंकका एकथरि कर्मचारीले स्वीकारेका छन् । चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यलाई अधिकारीले गुरु मान्दै आएका छन् । त्यहि धरातलमा टेकेर पछिल्लो दिनमा ग्लोबलले राष्ट्र बैंकका अरु पदाधिकारी र कर्मचारीलाई टेरपुच्छर नलगाउनु कुनै अचम्म नभएको बताइन्छ ।

टिप्पणीहरू