भीआईपीहरुबाट जनताको मोहभंग

भीआईपीहरुबाट जनताको मोहभंग

आफूलाई भिआइपी सम्झने जनप्रतिनिधिहरू कतिसम्म क्रूर, संवेदनहीन र सोखिन बनेका छन् भन्ने गतिलो उदाहरण सोमबार मोरङमा देखियो । कुरा हो प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र उनीसँगै सवारहरूको ।

त्यसदिन मोरङको बेलबारी नगरपालिका–४ मा एउटा दुर्घटना भएको थियो । स्कुटर दुर्घटना हुनेबित्तिकै मुख्यमन्त्रीको लस्कर पुग्यो । दुई जना मान्छे सडकमा लडिरहेका थिए तर मुख्यमन्त्री र उनका अगुवा पछुवा गाडी केही देख्दै नदेखेझैंं गरी तर्किएर दायाँ च्यापी सरासर गए । स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका–११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए ।

घाइतेहरू सडकमै लडिरहेको अवस्थामा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी सोही स्थानबाट पार भयो तर उनीहरूको उद्धार भएन । मुख्यमन्त्रीको सवारी भएको केही समयपछि घटनास्थल पगेर प्रहरीले उद्धार त गर्‍यो तर उद्धारमा ढिलाइ भएको कारण घाइते अर्जुन खत्रीको ज्यान गयो । अर्का घाइते भण्डारीको भने उपचार भइरहेको छ ।

बेलबारी–४ स्थित बेतना सिमसार नजिकै पूर्व–पश्चिम सडकमा घाइते छट्पटाइरहेको देख्दादेख्दै उद्धार गर्नुको सट्टा नदेखेझैं गरी मुख्यमन्त्रीको टोली हुइँकिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । मुख्यमन्त्रीको लाजमर्दो हर्कत कामचलाउ सरकारका मन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्रमा देखिएको हो । त्यसै क्षेत्रबाट अतिथि उम्मेदवार ढकालले कांग्रेस नेता तथा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्मासँग बल्लतल्ल चुनाव जितेका थिए ।

टिप्पणीहरू