कसैलाई भने जहिलेसुकै काइदा

कसैलाई भने जहिलेसुकै काइदा

कानुनी छिद्र प्रयोग गरेर अर्काे एक सचिवले ४ वर्ष ढुक्कैले सरकारी जागिर खाने प्रबन्ध मिलाएका छन् ।

रिटायर्ड भएकै भोलिपल्ट रामचन्द्र पौडेलका सम्धी युवराज भुसाल, खुमराज पुञ्जाली, विष्णु लम्सालहरूले झैं सचिव आनन्दराज ढकालले स्टाफ कलेजमा जागिर मिलाएका हुन् ।

निजामती किताबखानाको विवरणअनुसार सि.नं. १११७ का ढकालले ५८ वर्षे उमेर हद लागेर पुस २१ मा अनिवार्य अवकाश पाउँदै थिए । त्यसभन्दा साताअघि बसेको मन्त्रिपरिषद्को बैठकले (१५ पुस) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशकको रूपमा काज सरुवा गरेको छ । उनी यसअघि लोकसेवा आयोगको सचिव थिए । त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अतिरिक्त समूहमा तानिए ।

निजामती सेवामा कस्तोसम्म रोग छ भने उमेर हद सकिएर घर गइसकेका कर्मचारीलाई टपक्क टिपेर सचिवमा बढुवा गर्ने । जस्तो : महाश्रम शर्मा, सूर्यप्रसाद आचार्य । अवकाश पाएकै दिनको मन्त्रिपरिषद्को बैठक बसेर उनीहरूको बढुवा गराइएको उदाहरण छ । सहसचिवबाट अवकाश पाउँदा र सचिव हुँदा निवृत्तिभरणमा झण्डै ६ हजार तल–माथि पर्छ ।

यता, गत सोमबार बालुवाटारमा बसेको क्याबिनेट बैठकले चौधरी ग्रुपका एसम्यानलाई महत्वपूर्ण अवसर दिएको छ । ती हुन् गोपीकृष्ण न्यौपाने । जो उदयपुर सिमेन्टको जिएम नियुक्त भएका छन् । चौधरीको पनि आफ्नै सिजी सिमेन्ट कम्पनी छ । यसलाई स्वार्थ बाझिने सम्बन्ध भनिन्छ ।

टिप्पणीहरू