प्रधानमन्त्रीको भनाई, भारतका बुझाई
आफ्नो वैधानिकता, जनमत सबै दुरुस्तै रहेको बुझाईमा केही दिनअघिसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँसँग भेट्न गएका पूर्व माओवादी एक राजनीतिज्ञले जनआस्थालाई सुनाए, ‘केपी ओलीको सारा गन्थन प्रचण्ड र माधव नेपालविरुद्ध छ ।’
प्रचण्ड र माधव केही आधारभूत कुरा नै मान्न तयार नभएको गुनासो पोख्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘झलनाथ र माधवले एमालेको महाधिवेशन र संसदीय दलमा मसँग हारेको हो कि होइन ? पहिला यो कुरा बुझौँ न ! आधारभूत कुरा मान्न उनीहरु तयार छैनन् । उनीहरुले छोडेको अध्यक्ष फेरि उनीहरुलाई मैले कसरी दिऊँ ?’
‘भारतले ओलीलाई चुनावसम्ममा थचारेर राखिदिन्छ । किनभने, उनीसँग अब पार्टीको पनि सानो हिस्सा बाँकी छ । ओलीलाई प्रहार गर्दा कम्युनिष्टहरु नै खुशी हुने अवस्था छ ।’
ओलीको अर्को दावी थियो– ‘तत्कालिन एमालेको संसदीय दलमा आफूसँग बहुमत नभएको कुरालाई उनीहरु मान्न तयार छैनन् । जो पूर्वएमाले छन्, तीबीचमा अहिले पनि मेरो बहुमत छ । मैले नै टिकट दिएका र समानुपातिकमा नाम माथि पारेका मानिस मविरुद्ध जान्छन् ? भोलि संसदीय दलको चुनाव गराउने हो भने आउने फेरि मैँ हो ।’
प्रचण्ड स्वतन्त्र कम्युनिष्ट पार्टीको रुपमा टिक्न नसकेर आफूसँग मिल्न आएको टिप्पणी उहाँले गर्नुभयो । ‘मैले कांग्रेससँगै मिलेर सरकार बनाएको भए पनि ऊ सखाप हुन्थ्यो । आफ्ना मान्छेलाई जोगाएर राख्न यताउता गइराख्नु परेन ? आफ्नो सुरक्षाका लागि आएको हो । पर्सनल डिलिङमा सबै कुरा मानेकै थिएँ । पछि चूप लागेर बसेका माधवलाई सन्काएर भताभुङ्ग पारे ।’
उता, देखिँदै, तर बाक्लोसँग पाक्दै छ, जनता समाजवादी पार्टीभित्रको झगडा । र, अहिलेदेखि नै पूर्वमधेसवादी र पहाडेबीच अन्तरसंघर्ष शुरु भइसकेको छ ।
राजेन्द्र महतोहरुको बुझाई, संसद विघटनपछिको चित्रमा जे देखिन्छ, त्यो यथार्थ होइन । उनीहरुले आन्दोलन पनि देखाउनमात्र हो भनेर बुझेका छन् । तर, फाइदाचाहिँ चुनावमै हुने निश्कर्षमा पुगेका छन् । उनीहरुको डर छ– बाबुराम भट्टराईले भारतको सहयोगमा सबैलाई विस्थापित गर्छन् ।
तत्कालिन मधेसवादीहरु भन्दैछन्, ‘अहिले आन्दोलनका रुपमा जनतामा जान पाइयो, यो राम्रै भयो । मधेसमा हाम्रै नेतृत्वमा आन्दोलन भइरहेको छ । चुनाव भयो भने मधेसी दललाई फाइदा छ । भारतलाई ओलीको विकल्प चाहिएको छ । कांग्रेसलाई थचारेर मधेसीसँग मिलाउँछ ।’ अहिले मधेसको मुद्दामा भोट पाइँदैन । केही न केही बहानामा जनताबीच त जानुपर्यो । यही मौकालाई उनीहरुले ‘सदुपयोग’ गरेको भनेर विश्लेषण गर्ने गरेका छन् ।
भनाइ छ– ‘भारतले ओलीलाई चुनावसम्ममा थचारेर राखिदिन्छ । किनभने, उनीसँग अब पार्टीको पनि सानो हिस्सा बाँकी छ । ओलीलाई प्रहार गर्दा कम्युनिष्टहरु नै खुशी हुने अवस्था छ ।’ अर्कातिर, ओलीले भारतसँग सम्बन्ध बढाउँदा चिनियाँसँगको विश्वसनीयतामा समस्या आएको छ । संसद विघटन भएपछि पनि मिलाउन आएका टोलीसँग अलिकति पनि टसमस नहुने कुराले चिनियाँहरु रिसाएर फर्किएको मधेसी नेताहरुले बुझेका छन् ।
टिप्पणीहरू