प्रधानन्यायाधीश र गृहमन्त्रीको नाम बेचिँदै

नेकपा नेता अशोक गौतमले विभिन्न घटनामा सर्वसाधारण ठग्ने गरेको बताइन्छ । गौतम नेकपाका काभ्रे जिल्ला सदस्य हुन् । उनीसँगै केही महिनाअघि दिवंगत नेता उज्ज्वल लामा, माइला भनिने व्यक्तिले पटक–पटक नेपालका विभिन्न स्थानमा पुगेर ठगी गर्ने गरेका हुन् । बा५क ५३४३ नम्बरको टिपरले भक्तपुरको राधेराधे नजिकै ठक्कर दिँदा ०७६ वैशाख १५ गते साँझ मोटरसाइकलमा सवार एक व्यक्तिको निधन भयो । साविक कुरुवास, चापाखोरी २ हाल तेमाल गाउँपालिका घर भई रोशी कटुञ्जे बस्ने इन्द्रबहादुर लामा र उनको परिवारसँग गौतमसहितका व्यक्तिहरूले पटक–पटक ठगी गरेका हुन् । सत्ता नेकपाकै छ, आफैँ गृहमन्त्रीको पिए हुँ भन्दै ठगी गरेका गौतमलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिने तयारी छ ।

१८ महिनाअघिको उक्त घटनामा संलग्न भनिएका सहचालक मेग लामा र चालक टलक राना मगर जेलमा छन् । मेग लामाको सवारी अनुमति पत्र छैन । सोही समयमा मेग लामाले टिपर चलाएका थिए । तर, लाइसेन्स नभएको र टलकबहादुर मगर पनि सँगै भएकाले उनले चलाएको भन्दै झुटो बयान दिएको आरोपमा टिपर मालिक इन्द्रबहादुर लामासहित तीनै जनालाई प्रहरीले थुन्यो । टिपरका मालिक नै थुनामा परेपछि निकाल्न भन्दै नेकपाका जिल्ला सदस्यद्वय अशोक गौतम र उज्ज्वल लामामार्फत भक्तपुर जिल्ला प्रहरी कार्यालयअन्तर्गत ठिमी वृत्तमा पुगेर १५ लाख रूपैयाँ दिए दुई सातामा निकाल्ने आश्वासन दिइयो ।

रोशी गाउँपालिका वडा सदस्य इन्द्रमाया तामाङसहित प्रहरी कार्यालयमा पुगेर ‘नेकपाको सरकार छ, गृहमन्त्री रामबहादुर थापा बादल, अध्यक्ष पुष्पकमल दाहाल र महान्यायाधिवक्ता अग्नि खरेल आफ्नै मान्छे हो’ भन्दै अशोक गौतमले बानेश्वरको होटलमा पहिलो किस्ताबापतको ३ लाख रकम लिए । इन्द्रबहादुरलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको थियो । पैसा नतिरे पनि २५ दिनमा रिहा हुने थिए । तर, उनलाई निकाल्न प्रहरी र प्रशासनलाई पैसा खुवाउनुपर्छ भन्दै अशोक गौतम र उज्ज्वल लामाले ब्लाकमेलिङ गरे । श्रीमान् जेलमा भएको देख्न नसकेर इन्द्रबहादुर लामाकी श्रीमतीले पैसा बुझाएको भिडियो सुरक्षित छ । क्षतिपूर्तिबापत मृतकका परिवारलाई इन्द्रबहादुर लामाले यसअघि नै साढे १३ लाख रूपैयाँ बुझाइसकेका थिए ।

कानुन व्यवसायीमार्फत प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा साढु भाइ भएकाले मुद्दा मिलाइदिने भन्दै उनै अशोक गौतम र उज्ज्वल लामाले थप ६५ हजार लिए । इन्द्रबहादुर लामालाई प्रशासनले छाड्ने दिन श्रीमतीमार्फत् पुनः २ लाख रूपैयाँ बुझिलिए । मेग लामाका बाबु चन्द्रबहादुरमार्फत कसैलाई नभन्ने शर्तमा अशोक गौतमले घरमै गएर डेढ लाख रूपैयाँ लिए । अग्नि खरेल साथी हो भन्दै अर्का कानुन व्यवसायी प्रभाकरमार्फत थप पैसा ब्ल्याकमेलिङ भयो । तैपनि, मेग र टलकबहादुर छुटेनन् । पुर्पक्षका लागि जेल गएपछि अशोक र उज्ज्वलले लिएको पैसा फिर्ता भएन । एउटा घटनामा गौतम र लामाले ८ लाख रूपैयाँ पटक पटक ब्ल्याकमेलिङ गरे तर काम भएन । लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानन्यायाधीशको नाम बेच्ने सुरज राणा, प्रभाकरलगायतले ढुंगा खानी चलाउन दिन्छौं भन्दै थप रकम बार्गेनिङ गरे । पुनरावेदनले पनि जिल्ला अदालतको फैसला सदर गरेसँगै गौतम र लामाले थप रकम बार्गेनिङको बाटो बनाए । पुनरावेदनको न्यायाधीशका लागि भनेर पुनः २ लाख रूपैयाँ माग गरिएको थियो । गौतम र लामा पूर्वमाओवादी हुन् ।

नेकपा नेता अशोक गौतमले उक्त घटनामा वडासदस्य इन्द्रमाया तामाङले अनुरोध गरेकाले सहजीकरण गरिदिएको तर पैसा आफूले नखाएको बताए । उज्ज्वलको साथी सुरज राणा वकिल भएकाले उसैमार्फत सहजीकरण गरेकाले आफूले पैसा नखाएको उनको दाबी छ । ‘उहाँहरूको पैसा खर्च भएको हो, वकिलहरूलाई बुझाएका छौं, आफूले खाएका छैनाँै, ’ गौतमले भने, ‘प्रतिशोधका रूपमा मलाई फसाउने षड्यन्त्र भएको छ ।’

यसअघि उनले धनुषा जिल्ला चिसापानी नगरपालिका–५ घर भएका सूर्य मानन्धरलगायतको परिवारसँग शिक्षकमा नियुक्ति मिलाइदिन भन्दै ५० हजार रकम घुस खाएका थिए भने विवेक मानन्धर लागुऔषधमा पक्राउ पर्दा छुटाइदिने भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको पिए बनेर १५ लाख रकम मागेका थिए । पटक पटक गरेर गौतमले उक्त परिवारसँग ६ लाख रूपैयाँ खाए । लागुऔषध अभियोगमा जेलबाट छुट्न नसकेका उनी आफैँ १८ महिनाको कैदपछि छुटे पनि रकम फिर्ता गरेनन् । गौतमको ठगीका घटना एकपछि अर्काे गर्दै सार्वजनिक हुन थालेका छन् ।

यसअघि गौतमले नेपालथोकमा मेडिकल राख्दा स्थानीयले माटोको डल्लाले हानेर खेदेका थिए । महिलालाई गरेको अभद्र व्यवहारका कारण स्थानीयले लखेटेका हुन् । काठमाडौंको बौद्धमा मेडिकल राख्दा युवाहरूलाई लागुऔषध बिक्री गरेको अभियोगमा पक्राउ परे । युवालाई गलत बाटोमा लगाउँदै पैसा कमाउने धन्दामा सक्रिय गौतमलाई तत्कालीन समयमा हाल रोशी गाउँपालिकाका प्रमुख डिबी लामा र तत्कालीन राज्यमन्त्री सूर्यमान दोङले छुटाएर ल्याएका थिए । युवालाई सही स्थानमा ल्याउनुपर्ने, गाउँमा तास र जुवा खेल्दा माओवादीले पक्राउ गर्ने समूहमा सक्रिय गौतम भने आफैं लागुऔषध बिक्री धन्दामा थिए । नेता गौतमले राजनीतिक रूपमा रोशीका अनावश्यक मान्छेले प्रतिशोध लिन आरोप लगाएको बताए पनि पीडितहरूले भण्डाफोरको निम्ति संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका छन् ।

टिप्पणीहरू