सूर्य चिन्ह नभए पनि फरक पर्दैन : महेश बस्नेत

सूर्य चिन्ह नभए पनि फरक पर्दैन : महेश बस्नेत

नेकपा ओली समूहका नेता महेश बस्नेतले जुनसुकै चिन्ह लिएर पनि निर्वाचनमा जान आफूहरू तयार रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा बिघटनपछि विभाजित नेकपामा चुनाव चिन्ह र आधिकारिकताको विवाद चर्किंदै गएको बेला बस्नेतले निर्वाचन आयोगले गर्ने निर्णयले आफूहरूलाई कुनै फरक नपार्ने भनेका हुन् ।

बस्नेतका अनुसार नेकपा मूलतः विभाजित भइसकेको छ । कानूनी अड्चन बाँकी भए पनि राजनीतिक र व्यवहारिक रूपमा फुटिसकेको छ । दुवै पक्षले संगठनका तल्ला कमिटीसम्मै फुटको अभ्यास गरिरहेका छन् । पार्टीको आधिकारिकता र चुनाव चिन्हमाथि दुवै पक्षले आ–आफ्नै दाबी प्रस्तुत गरिरहेका बेला आइतबार एक टेलिभिजनसँग कुरा गर्दै बस्नेतले आफूहरू सूर्य चिन्ह पाउनेमा विश्वस्त भए पनि अन्य चिन्ह लिएरसमेत निर्वाचनमा जान कुनै अप्ठेरो नहुने धारणा राखेका हुन् ।

‘सूर्य चिन्ह साविक एमालेको हो । अहिले हामी एमाले एकै ठाउँमा छौँ । सूर्य चिन्हमा एमालेको लिगेसी भएकाले हामीले नै पाउनेमा कुनै शंका छैन । यदि हामीले पाएनौँ भने पनि जुनसुकै चिन्ह लिएर समेत चुनावमा जान हिम्मत गर्नुपर्छ’ बालुवाटारका थोरै विश्वासपात्रको रूपमा चिनिएका बस्नेतले दाबी गरेका छन् । पार्टी एकताको झण्डै तीन वर्षपछि पनि बस्नेतले सूर्य चिन्ह एमालेको भनेर दाबी गरेका छन् । यद्यपि सूर्य चिन्ह एमाले–माओवादीबीचको एकतापछि बनेको नेकपाको चुनाव चिन्ह रहँदै आएको छ ।

बैठक नबसेका बेला ओलीले जे भन्यो त्यही हुन्छ, प्रचण्डलगायत सबैले त्यो मान्नुपर्छ ।

‘ल सूर्य चिन्ह दिएनछ,हामी त्यहिअनुसार लडौंला नि त !’ नेकपा विभाजनपूर्व स्थायी कमिटीको एउटा बैठकमा पार्टी फुटाउने उद्देश्यले ओलीको प्रत्यक्ष निर्देशनमा एमाले नामको दल दर्ता गराइएको उपाध्यक्ष वामदेव गौतमले खुलासा गर्नुभएको थियो । बस्नेतले पनि हिजोको कुराकानीमा ओलीकै योजनामा दर्ता भएको संकेत गरेका छन् । उनले ‘पार्टीमा सबैतिर माओवादीको हालीमुहाली बढेको देखेपछि एमालेलाई माया गर्नेहरूले दर्ता गरेको हो’ उल्लेख गर्दै भने, ‘एकता भंग हुँदा एमाले फेरि ब्युँतिन्छ ।’

पार्टी विभाजनपछि झन्डै दुई तिहाई केन्द्रीय सदस्य प्रचण्ड–माधव नेपालतिर लागेको खुला सत्यलाई चुनौति दिँदै बस्नेतले आफूहरू नै आधिकारिक पार्टी भएको समेत जिकिर गर्न भ्याएका छन् । उनले भने ‘दाबी चैं कस्तो हुन्छ भने,जसको सामान हो उसले दाबी गर्दैन । जसलाई डाउट (शंकास्पद) लाग्छ उसले मात्र दाबी गर्ने हो । हामी नै संस्थापन हौँ त्यसैले संस्थापन नेकपाले हामीलाई चिन्ह र आधिकारिकता चाहियो भनेर भन्दैन ।’

उनले प्रधानमन्त्री ओलीले जे भन्यो त्यही पार्टीको निर्णय हुने पनि बताएका छन् । उनको तर्क छ, ‘दुइटा अध्यक्षमध्ये एक नम्बरको अध्यक्ष नै मुख्य हुन्छ । त्यसैले बैठक नबसेका बेला ओलीले जे भन्यो त्यही हुन्छ, प्रचण्डलगायत सबैले त्यो मान्नुपर्छ ।’

बस्नेतले माओवादीका आधार इलाकाहरूमा अझै लोकतन्त्र र गणतन्त्र नआएको समेत खुलासा गरेका छन् । रोल्पा, रुकुमतिर संकेत गर्दै उनले अरु दललाई अस्वीकार गर्ने र कालो झण्डा देखाउने गरिएको बताए । उनले त्यसो भन्दै गर्दा हालैका दिनमा ओली उपस्थित हुने हरेक कार्यक्रममा सहभागीहरूलाई कालो पोशाक, कालो मास्क र कालो क्यापसमेत लगाउन प्रतिबन्ध लगाएको तर्फ भने केही पनि बताएनन् ।

टिप्पणीहरू