माधव प्रचण्डलाई बस्नेतको व्यंग्य: पार्टीको नाम पुमा र चुनाव चिन्ह बयलगाडा राख्नुस्
नेकपा (ओली समूह)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माधव प्रचण्डलाई आफ्नो पार्टीको नाम पुमा र चुनाव चिन्ह बयलगाडा लिन सुझाएका छन् ।
ओली पक्षीय नेकपाको जनवर्गीय संगठनले इलाममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले नेकपा र सुर्य चिन्ह ओलीले नेतृत्व गरेको नेकपाको भएको दाबी गर्दै पुष्पकमल दाहाल र माधव कुमार नेपालको नामको अगाडिको अक्षरबाट पार्टीको नाम जुराउन सुझाएका हुन् । ‘पार्टीको नाम पुमा राख्नुहोस्’ उनले भने, ‘बयलगाडा प्रदर्शन गरेर विरोध जनाइरहनु भएको छ, बयलगाडा चुनाव चिन्ह लिनुहोस् सुर्य त हाम्रो हो ।’
राष्ट्रपतिको अपमान गर्नेहरुलाई प्रतिरोध गर्ने बताउँदै नेता बस्नेतले भने, ‘मेरी आमा राम्री छिन् भन्न पाइन्छ तर तिम्रो आमा बोक्सी भन्न पाइन्न ।’ आफ्नो भूमिका खोज्ने प्रचण्डले पार्टी एकतालाई पूर्णता नदिएर कार्यकताहरुलाई भूमिका विहीन बनाएर राखेको ओरोप पनि उनले लगाए ।
‘केपी ओलीलाई बा भन्छन् अष्ट लक्ष्मी शाक्यलाई पनि आमा भन्दछन् भन्ने कुरा माधव कुमार नेपालको कानमा परेको छ कि छैन ।’ नेता बस्नेतले भने, ‘अरुलाई अपमानित गर्नेले सम्मानको कुरा गर्न सुहाउँछ ?’
भेलालाई कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम राना, अनेरास्ववियूका केन्द्रीय सदस्य रश्मी आचार्यले सम्बोधन गरेका थिए ।
टिप्पणीहरू