मूर्दावाद भन्नेलाई पुरस्कार
‘संसद विघटनको सिफारिस ओलीको तुच्छ स्वार्थ हो,केपी ओली मूर्दावाद!’ -आफ्नो फेसबुक वालमा नेकपा कार्यकर्ता योगेन्द्र घिसिङले यस्तो स्टाटस राखे। डिसेम्बर २० अर्थात् पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै उनले आफ्नो यस्तो लेखेका थिए। सोही दिन अर्को स्टाटस पोष्ट गरे -‘केपी-विद्याले पुस-५ संविधान र संसद कू गरे। संविधानको रक्षा र समाजवादी क्रान्तिका लागि जनता जागौँ !’
प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमका बिरुद्ध आगो ओकलेका तिनै घिसिङ अहिले नेकपा ओली समूहमा १५ सयको जम्बो केन्द्रीय सदस्य बनेका छन् । अहिले उनको फेसबुकमा यस्तो स्टाटस छ- ‘सम्माननीय प्रधानमन्त्री र गृहमन्त्री ज्यूबाट नेकपा केन्द्रीय सदस्यमा चयनको जानकारी प्राप्त भयो। अवसर र चुनौतिलाई सहजरुपमा लिएको छु । ‘
संसदबिघटनलगत्तै ओलीको कदम विरुद्ध देखिएका घिसिङजस्तै नेकपाका अन्य थुप्रै नेता-कार्यकर्ता यतिबेला ओली समूहको केन्द्रीय सदस्य बनेका छन् । पुस ५ गते संसद विघटनकाबिरुद्ध आक्रोशित देखिएका प्रभु साह भोलिपल्टै ओली कित्तामा पुगे। मन्त्रीको अफरसामु नतमस्तक बनेर उनले रातारात आफ्नो बिचार,सिद्धान्त र नैतिकता दाउमा राखेको आरोप लाग्यो ।
प्रभु मात्र हैन बालुवाटारको अफरमा आफ्नो बिचार बन्धकी राखेर मन्त्री, नियुक्ति र केन्द्रीय सदस्य खान जानेको लर्को ठूलै छ । गौरीशंकर चौधरी अर्का उदाहरण हुन् । ओलीको कदमकाबिरुद्ध आयोजित आन्दोलनबाट फुत्केर बालुवाटार पुगे र मन्त्री पड्काए । नेता-कार्यकर्ता तानातानको अवस्था जारी छ। यद्यपि कतिले चैं केन्द्रीय सदस्य बनाउने ओलीको अफर अस्वीकार पनि गरेका छन् ।
अर्को प्रसंग पनि छ – काठमाडौँ महानगरपालिका १८ नं. वडाका वडाध्यक्ष न्हुछे महर्जन प्रचण्ड-नेपाल पक्षमा खुलेरै लागेका थिए। पछि ऊनी १५ सय वाला कमिटीको हुलमा छिरे, र अहिले संसद विघटनको कदम ठीक भन्न थालेका छन्। गज्जवको कुरो त महानगरका मेयर बिध्यासुन्दर शाक्य पनि केन्द्रीय सदस्य अनि वडाध्यक्ष पनि।
यता, लुम्बिनी प्रदेश सभासद तथा रुपन्देही जिल्ला सहइन्चार्ज माधव शर्माले अघिलो दिन केपी ओली समूह विचार र विधि नभएका अराजकहरुको समूह भन्दै उनीहरुलाई कम्युनिस्ट आन्दोलनको गद्दारको संज्ञा दिए । भोलिपल्टै ‘आइएम विथ केपी ओली’ लेखिएको गलबन्दी भिरेर ओली समूहको कार्यक्रममा झुल्किए । बालुवाटारले प्रदेशको मन्त्री अफर गरेपछि शर्मा रातारात पल्टिएको उनीनिकट कार्यकर्ताको दाबी छ।
झन्डै एक वर्षे विवाद र शक्ति शंघर्ष संसद विघटनपछि उत्कर्षमा पुगेपछि नेकपा फुट्यो। फुटपछि अहिले दुवै समूह आक्रामक ढंगले संगठन बिस्तारमा लागेका छन् । बहुमत केन्द्रीय सदस्य भएको प्रचण्ड-नेपाल समूह संसद विघटनका विरुद्ध सडक संघर्षमा केन्द्रित छ भने रक्षात्मक बनेको ओली पक्ष आन्तरिक सांगठनिक गतिविधिका साथै अर्को पक्षका नेता-कार्यकर्ता चोर्ने अभियानमा छ।
अर्को पक्षको नेता-कार्यकर्ता तान्न बालुवाटारसंग अफरै अफर छ। संघीय मन्त्री, प्रदेशका मन्त्री, राजनीतिक नियुक्ति,केन्द्रीय सदस्य र साइबर सेना कति हो कति ! सूर्य चिन्हको इमोस्नल ब्ल्याकमेलिङको त कुरा गरिसाध्य छैन । हाम्रोजस्तो राजनीतिक चेतना भएको देशमा यस्ता अफरले राम्रै काम पनि गर्छ । न सिद्धान्त, न बिचार, न कार्यदिशा न न्यूनतम नैतिकता । यस्तो अवस्थामा खोलिएको केन्द्रीय सदस्यको विज्ञापनले ओली समूहलाई गज्जव फाइदा भएको देखिन्छ।
त्यहि भएर नेकपा (बहुमत)का अध्यक्ष माधव नेपालले भन्नुभएको होला, ‘ओली समूहमा बिचारबिहीन, नैतिकताहिन,अराजक भीड मात्र छ। केपी ओलीलाई ‘बा’ भनेर मक्ख पारेपछि सबै कुरा पाइन्छ भने किन बिचार र सिद्धान्त चाहियो ?’ हालसालैको एउटा कार्यक्रममा निरास हुँदै उहाँले भन्नुभएको थियो, ‘बा’ प्रवृतिले नेकपा खायो,अब देशै खान सक्छ।‘
प्रचण्ड-माधव समूह चैं दूधले नुहाएको त पक्कै नहोला तर पदको लोभमा बालुवाटार छिर्नेको लर्को देख्दा भने प्रश्न गर्ने ठाउँमा उभ्याइदिएको छ ।
टिप्पणीहरू