उत्तरपुस्तिका ज्युँका त्युँ, फेरि मुद्दा

नष्ट गरिएको भनिएका स्नातकोत्तर भौतिकशास्त्र विषयका उत्तरपुस्तिका जस्ताको तस्तै फेला परेपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अदालतलाई गुमराहमा राखेको भन्दै अवहेलना मुद्दा लिएर पीडित विद्यार्थी सर्वोच्च अदालत पुगेका छन् ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको परीक्षा सञ्चालक समिति, डिनको कार्यालय, त्रिवि भौतिकशास्त्र विषय स्थायी समिति, समितिका तत्कालीन अध्यक्ष एवं हाल डीन प्रा.डा. विनिल अर्याल र तत्कालीन डीन प्रा.डा. रामप्रसाद खतिवडामाथि कारबाहीको मागसहित पुस २० गते अवहेलना मुद्दा दर्ता गरिएको हो ।

यो विवादमा सर्वोच्च अदालतमा दर्ता भएको एक रिटमा २०७७÷०३÷३० गते ‘उत्तरपुस्तिकालगायत विवादित परीक्षासँग सम्बन्धित कागजात रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नधुल्याउनू, सुरक्षित राख्नू’ भन्दै अन्तरिम आदेश भएको थियो । स्याङ्जा पुतली बजारका परीक्षार्थी आशिष पौडेलले दिएको रिटमा त्यतिबेला त्रिविका जिम्मेवार पदाधिकारीले उत्तरपुस्तिका धुल्याइसकिएको भन्दै सर्वोच्चमा लिखित जवाफ पेश गरेका थिए ।

यो विवादमा सत्यतथ्य छानबिन गर्न शिक्षाध्यक्षद्वारा सेवानिवृत्त प्राध्यापक सीताराम व्याहुतको संयोजकत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरिएको थियो ।

मिति ०७६÷०१÷२४ मा शिक्षाध्यक्षलाई बुझाएको छानबिन समितिको प्रतिवेदनमा ४५ पूर्णांकको परीक्षाको प्रश्नपत्रका अधिकांश प्रश्न पुरानो कोर्सको पाठ्यक्रमभित्र नरहेको उल्लेख छ ।

त्यसपछि परिणाम फेरबदल गरिएको जिकिरसहित विवादित उत्तरपुस्तिकाको पुनः परीक्षण र दोषीउपर कानुनअनुरूप कारबाही गरिपाऊँ भन्दै अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री एवं त्रिवि कुलपति, शिक्षामन्त्री एवं सहकुलपति, विश्वविद्यालय अनुदान आयोगलगायत निकायमा उजुरी परेको थियो । त्रिविले सर्वोच्च, सूचना आयोगलगायत जिम्मेवार निकायमा उत्तरपुस्तिका नष्ट भएको दाबीसहित जवाफ पठाएको थियो ।

यसअघि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसाललाई राष्ट्रिय सूचना आयोगको आदेश अनादर गरेको आरोपमा पाँच हजार रूपैयाँ जरिवाना तोकिएको थियो । उत्तरपुस्तिका सुरक्षित राख्न आदेश दिए पनि नियमबमोजिम भन्दै सबै अभिलेख नष्ट गरिसकेको जवाफ पठाएपछि आयोगले जरिवानाको कारबाही गरेको जानकारीमा आएको छ । त्रिविले आयोगको आदेश कार्यान्वयन गर्न असम्भव भएको ठाडो जवाफ पठाएको थियो । शिक्षाध्यक्षलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (५) बमोजिम कारबाही हुने व्यहोराको जानकारी गराउँदा र चेतावनी दिँदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार रहेको ठहर आयोगको छ ।

महेन्द्ररत्न क्याम्पस ताहाचलमा तोकिएको उक्त परीक्षामा केही विद्यार्थीले भौतिकशास्त्र विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै अवज्ञा गरेपछि विवाद भएको थियो । उक्त विषयको परीक्षा पुनः गराउन परीक्षार्थीले माग गर्दै आएका थिए । तर, त्रिविले विद्यार्थीको माग सुनुवाइ नगरी उक्त विषयको परीक्षाफल ०७६ वैशाख ११ गते प्रकाशित ग¥यो । जाँचमा ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराइएपछि उत्तरपुस्तिका नष्ट गरिएको त्रिविको भनाइ थियो । तर, परीक्षार्थी उत्तरपुस्तिका सकुशल भेटिएको दाबीसहित फेरि न्यायका लागि सर्वोच्चको ढोकामा पुगेका हुन् ।

टिप्पणीहरू