प्रधानमन्त्रीज्यू, आफ्नै क्षेत्रको के छ हाल ?

प्रधानमन्त्रीज्यू, आफ्नै क्षेत्रको के छ हाल ?

यतिबेला मुलुक अन्योलको भुमरीमा परेको छ । त्यसको एउटै कारण हो, ७० वर्षदेखिको जनचाहनामा तुषारापात हुनु । खासगरी छँदाखाँदाको नेकपाको बहुमतलाई लत्याएर प्रतिनिधिसभा विघटन गर्दा भोलिका दिनमा त्यो मत प्राप्त हुने हो कि नहुने हो भन्ने चिन्ताले प्रधानमन्त्रीलाई नसताएको अवस्था छ । तैपनि, प्रधानमन्त्री भनिरहेका छन्, अब फेरि बहुमत आउँछ । तर, कसरी ! जब उनै निर्वाचन क्षेत्रमा विगतको संसदीय निर्वाचनको तथ्यांक केलाउँदा र आजको अवस्था आँकलन गर्दा फरक स्थिति देखा पर्छ ।

यसै त प्रम ओली पक्ष जिल्ला कमिटीभित्र अल्पमतमा परेको छ । त्यसमा पनि ओलीले जितेको झापा ५ को दमक नगरपालिका क्षेत्रमा नेकपाले जिते पनि अरू सबै पालिकाको हालत कमजोर थियो । कमल गाउँपालिका अध्यक्ष तथा हाल केन्द्रीय सदस्य बनाइएकी मेनका काफ्लेले कांग्रेसका हुकुमसिंह राईसँग गोलामा जितेकी हुन् । त्यहाँ उनले नसोचेको मत ल्याए । त्यसको एउटा कारण थियो, त्यो क्षेत्र जनजाति बहुल हुनु । त्यो सँगै अर्को कारण बन्यो, रंगशाला निर्माण । स्थानीय जनजातिको चिहान बनाउने ठाउँलाई मासेर आदिवासी जनजाति रंगशाला बनाउने भनियो । त्यसमा उनीहरू सहमत भए । तर पछि त्यो नाम मेटेर मदन भण्डारी रंगशाला बनाउने भनियो । आज पनि त्यहाँ त्यो मुद्दाले भाउ पाइरहेको छ । उता ओलीकै क्षेत्रको गौरादह नगरपालिकामा ओलीपक्षीय मेयर उम्मेदवार मदन अधिकारीले शर्मनाक हार व्यहोरे तर उपमेयरले भने जितिन् । त्यहाँ कांग्रेसबाट रोहितकुमार साहले जिते । ओलीकै निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिका अध्यक्ष राप्रपा र उपाध्यक्षमा कांग्रेसले जिते ।

स्थानीय तहको निर्वाचनको यस्तो परिणाम भए पनि ओलीले चुनाव जिते । कारण हो, राप्रपासँग तालमेल हुनु । ओलीको गृहनगरमा नेकपापछि राप्रपाको मत छ । त्यहाँ पटकपटक मेयरमा उठ्ने र हाराहारी मत ल्याएर पराजित हुने राम थापा भने अहिले सूर्यबहादुर पुत्र सुनील थापासँगै कांग्रेस पसेका छन् । उनलाई कांग्रेसले केन्द्रीय सदस्य नै बनाएको छ ।

आज फेरि निर्वाचनको कुरा चल्नेबित्तिकै झापामा चर्चा हुन्छ– अब ओलीले कोसँग तालमेल गरेर चुनाव जित्न खोज्ने हुन् ? जवकि जीवनमै कहिलेपनि चुनाव जित्ने सपना नदेखेका राप्रपा नेता राजेन्द्र लिङदेनलाई त्यसपटक ओलीकै कारण चिठ्ठा प¥यो । उनलाई झापा ३ मा कांग्रेस नेता कृष्ण सिटौलाविरुद्ध उठाएर ओलीले आफ्नो क्षेत्र सुरक्षित पारे । तर, अब त्यो अवस्था नरहेको राप्रपाकै नेता बताउँछन् । देशैभरि राप्रपा हार्दा राजेन्द्रले मात्र जितेका थिए । त्यो नचाहिँदो खेल भयो । उता, कमल थापाले पराजय व्यहोरे । तर, राजेन्द्रले चुनाव जिते । त्यसकै कारण राप्रपामा भुइँचालो गयो । उनलाई ओलीसँग सती गएको आरोप लाग्यो । अब त्यो अवस्था नरहने उनको भनाइ छ । हिजो राप्रपामा रहेका राम थापाको कांग्रेस प्रवेशको एउटा कारण पनि त्यही हो । बरु अब राम थापाले त्यो क्षेत्रबाट लड्ने आकलन गरिन्छ ।

यो अन्तर २५ हजार ७४७ हुन्छ । यत्रो मत कहाँबाट आयो भन्नेहरूलाई सिधा उत्तर हुन्छ, राप्रपासँगको तालमेल ।

दक्षिणी झापातिर, जहाँबाट उनै राजेन्द्रले कम्युनिष्टको मत लिएर चुनाव जिते उनी यतिबेला गणतन्त्र र संघीयताविरुद्ध विषबमन गरेर हिँडिरहेका छन् । यो दिन आउला भनेर ती निरीह मतदाताले कल्पनासमेत गरेका थिएनन् । आफ्नो मत आफँैविरुद्ध प्रयोग हुने दिन आयो, त्यो पनि एउटा मान्छेको क्षेत्र सुरक्षित गर्ने नाममा ।

ओलीले त्यसरी राप्रपासँग तालमेल गरेर ल्याएको मत संख्या हो ५७ हजार १३९ । निकटतम प्रतिद्वन्द्वी नेकाका उम्मेदवार डा.खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । सोही निर्वाचन क्षेत्र प्रदेश सभामा हिक्मत कार्कीले २४ हजार ९८ मत र अर्का उम्मेदवार अर्जुन राईले ३० हजार ९७३ मत पाएका थिए । तर स्थानीय तहको चुनावमा भने परिणाम फरक आयो । त्यसमा राप्रपासँग तालमेल गरिएको थिएन । ओलीको गृहनगर दमकमा एमालेका मेयर रोमनाथ ओलीले १० हजार ८०६ मत ल्याएर जिते । तर निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६५५, कांग्रेसका ढुण्डिराज भण्डारीले ५ हजार ५३७ र माओवादीका रेवतराज पुरीले ६ हजार ८९८ मत ल्याए । जबकि त्यो क्षेत्रको कमल गाउँपालिकामा दुवै अध्यक्षका उम्मेदवारले ८ हजार २७५ मल ल्याएर गोला गरियो । गौरादहमा कांग्रेसका निर्वाचित मेयरले १० हजार ३०८ मत ल्याउँदा गौरीगञ्जका राप्रपाका अध्यक्षले ३७ सय ४० मत ल्याएका थिए । त्यो क्षेत्रमा तत्कालीन एमालेका उम्मेदवारहरूले त्याएको मतलाई हेर्ने हो भने ३१ हजार ६९२ मात्र हुन्छ । एमालेका चारवटा पालिकाका प्रमुखले एक्लै ल्याएको मत र राप्रपासँग तालमेल गर्दाको अन्तर मत ठूलो छ । यो अन्तर २५ हजार ७४७ हुन्छ । यत्रो मत कहाँबाट आयो भन्नेहरूलाई सिधा उत्तर हुन्छ, राप्रपासँगको तालमेल ।

तर, अहिलेको अवस्था झन् कमजोर छ । झापामा पूर्वएमाले पक्षीय कार्यकर्तामा ठूलो विभाजन छ । पार्टी विभाजन हुने अवस्था आउँदासम्म ५ नम्बर क्षेत्रबाट ओलीपक्षले ३० प्रतिशत कार्यकर्ता गुमाइसकेको छ । यो स्थितिलाई नियाल्ने हो भने त्यहाँ ओलीका लागि फलामको च्यूरा सावित हुने पक्का छ ।

– अनिश अविनास

टिप्पणीहरू