भोजपुरबाट झरेर भाँडभैलो

औपचारिक शिक्षा पाँच कक्षाभन्दा माथि नभएका व्यक्तिले प्रमाणपत्र तह, स्नातक मात्र होइन स्नातकोत्तर उत्तीर्ण गरेका व्यक्तिलाई मुर्गा बनाएभन्दा पत्याइदिने कसले ? यस्ता नटबरलालबाट ठगिनु आफैंमा लज्जाको विषय हुँदै हो तर के गर्नु लाज मानेर काज टर्दैन रहेछ । एक÷दुई जना मात्र ठगिएको भए चुपै लागेर बस्नुहुन्थ्यो, ती ‘दलाल’ बाट ठगिनेको संख्या सयभन्दा बढी होला । ठगिने सयौंको सूची बोकेर हिँडिरहेको छु । पहिले जुन आधारमा उक्त दलाललाई विश्वास गरिएको थियो ती सबै झुटका फेहरिस्त मात्र रहेछन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको गृहजिल्ला हो भोजपुर । तर, यही जिल्लाको नाम बेच्दै एक छट्टु नयाँ नटबरलालको रूपमा उदाएका छन् ।

‘दलाल’हरू आफूलाई ब्रोकर भनिदिँदा आनन्द महसुस गर्छन्, दलालभन्दा पिट्न पछि पर्दैनन् ।

आई ए तहसम्म अध्ययन पूरा गरिसक्दासमेत रोजगारीको अवसर भेटिएन । मध्यमवर्गीय परिवारबाट रोजगारीको सिलसिलामा काठमाडौं भित्रिएँ । उच्च शिक्षा अध्ययन गर्नसक्ने अवस्था रहेन । राजधानीमा प्रवेश गरी आठ÷दश हजारको जागिर खाएर जिन्दगीमा प्रगति हुने अवस्था रहेन । दाल, भात र डुकुले एक मुठी सास धान्नेबाहेक अरू उपलब्धि भएन । लाग्यो यही बाटो हिँडियो भने जीवन पत्रु भएर सकिन्छ । फेर्नै पर्छ जीवनको नक्सा, बदल्नै पर्छ आफ्नो पाइला । कसलाई रहर हुँदैन सुखी र समृद्ध जीवन जिउने ? मनभरि यही उत्साह बोकेर बिदेसिने सपना सजाइयो । त्यतिबेला कोभिड शुरु भइसकेको थिएन । डेढ वर्षअगाडि पासपोर्टमा छाप लगाउँदै गर्दा मनमा जुन उत्साह र सपना थियो त्यो सबै तुहियो दलालको भरमा पर्दा । शिव विसुंखे भन्ने दलालका कारण आज हामी घर न घाटको अवस्थामा छौं, न्यायका लागि लड्दै छौं । यी ‘दलाल’हरू आफूलाई ब्रोकर भनिदिँदा आनन्द महसुस गर्छन्, दलालभन्दा पिट्न पछि पर्दैनन् । भोजपुरमै जन्मेर हुर्किएका यी व्यक्ति वैदेशिक रोजगार क्षेत्रमै कार्यरत थिए । अनामनगरको कफी हाउसमा पहिलो भेट भयो । परिचय दिए आफू श्रम मन्त्रालयको शाखा अधिकृतको रूपमा कार्यरत रहेको । हामीलाई त ढुंगा खोज्दा देउता मिलेझैं भयो । चिया पिउँदै गर्दा उनैले प्रस्ताव गरे ‘तिम्रो गाउँबाट अस्ट्रेलिया, इरानलगायत मुलुकमा जाने मान्छे छन् भने जम्मा गर, मन्त्रालयबाट सेटिङ गरी पठाउने जिम्मा मेरो भयो ।’ एउटै जिल्लावासी हुनुको नाताले सम्बन्ध घनिष्ठ बन्यो । त्यो माथि मन्त्रालयकै अधिकृतले भनेपछि भैहाल्छ भन्ने विश्वासमा परियो । भविष्य राम्रै बन्दछ भन्ने सोचेर सँगै पढेका, आफन्त जम्मा गरियो । यही बीचमा यिनले लोकेन्द्र मगरसँग चिनाजानी गराए । भनेका थिए, ‘उहाँचाहिँ हाम्रो मन्त्रालयको सहसचिव ।’

आलु प्याजभन्दा सस्तो मोबाइलको सीम छ ।

हामी त कुवाभित्रकै भ्यागुतोको जिन्दगीमा बाँचिरहेको गाउँको मान्छे । टाढामा भोजपुरको सदमुकाम टक्सार, प्रदेशको मुकाम थाहा थियो । गाउँका मान्छे, सिंहदरबारका कुन मन्त्रालयमा को सचिव, को सहसचिव छन् ? थाहा हुने कुरै थिएन । थाहा पाउनुपर्ने कारण पनि थिएन । मन्त्रालयको सहसचिवजस्तो मान्छेले भनेपछि नपत्याउने कुरा पनि भएन । ऋण धन गरेरै डेढ÷दुई लाख जम्मा गरियो । सस्तो शुल्कमा विदेश जान पाइने सपना देखेर गाउँका दुई दर्जन आफन्त÷साथीहरू मेरो पछाडि लागे । मान्छे हेरी ५० हजारदेखि २ लाखसम्म रकम असुलियो । पैसा दिइएको पोहोर कात्तिकमा । आजभन्दा भोलिभन्दा पैसा दिइएको पनि वर्ष दिन बित्यो ।

हुँदै नभएका मान्छे, मन्त्रालयमा खोजेर कहाँ भेटिनु ?

यही बीचमा कोरोना भाइरसले विश्वआक्रान्त पार्‍यो । दलालका लागि कोरोना झन् ठूलो बहाना भइगयो । भेटघाट, सम्पर्कमा प्रोसेस हुँदै छ भन्ने जवाफ आउँथ्यो । पैसा त दिइयो तर हामीसँग पैसा दिएको प्रमाण केही थिएन । फागुनसम्म पनि केही खबर आएन । चैतबाट लकडाउन शुरु भयो । लकडाउन खुकुलो भएपछि भदौ, असोजसम्म कु¥यौं । पैसा लिएपछि उनीहरू सम्पर्कविहीन भए । चलाउँदै आएको मोबाइल स्वीच अफ भयो । आलु प्याजभन्दा सस्तो मोबाइलको सीम छ । सीम बदलेछन् । कहाँ गएर भेट्ने ? कसरी भेट्ने ? केही ज्ञान थिएन । लकडाउन खुकुलो भएपछि असोजमा जसोतसो सिंहदरबारभित्रबाट पास मिलाएर श्रम मन्त्रालय पुग्यौं । त्यहाँ कोठा कोठा चाहरेर विंसुखे सरलाई खोज्यौं, पहिला सहसचिव भनी भेटिएका लोकेन्द्र सरलाई खोज्यौं । हुँदै नभएका मान्छे, मन्त्रालयमा खोजेर कहाँ भेटिनु ? त्यहाँका कर्मचारीसँग दुःखको पहाड बिसायौं । ती कर्मचारीले यी नाम भएको मान्छे यहाँ काम गर्दैनन् । सायद, तपाईंहरू ठगिनुभयो भन्ने जवाफ दिनुभयो । बल्ल पो घैंटामा घाम लाग्यो । थाहा पायौं हामी त ठगिएछौं । तर, ढिला भइसकेको थियो । यतिबेला घैंटामा घाम लागेर हुनेवाला केही थिएन । गुम्ने पैसा गुमिसकेको थियो । नपाउनु हण्डर, ठक्कर खाइसकेका थियौं । जाने कहाँ ? केही थाहा थिएन ? गर्ने के ? केही थाहा थिएन । यस्तैमा हामी सबै साथी मिलेर अनामनगर प्रहरीमा उजुरी दर्ज गरायौं । त्यहाँ पनि उल्टै हामीलाई सताइयो । हारेको खप्पर जता पुग्यो उतै ठक्कर भनेजस्तो भयो । बर्मा गए पनि कर्मसँगै भनेजस्तो जता पुग्यौं उतै ठक्कर मात्र पायौं । न्याय पाइने छेकछन्द देखिएन । हिजो विदेश जाने सपना देखेर लाखौं ऋण काढी दलालका हातमा दिएका साथीहरूले भने उल्टै मेरो खेदो खन्न थाले । उनीहरू नै मेरै मिलेमतोमा यो ठगी भएको भन्दै उल्टै हिलो छ्याप्न थाले । मान्छेलाई खाएको विष पो लाग्छ, ए बाबा, नखाएको विष पनि लाग्छ भने के गरौं ?

सास छउन्जेल आस भन्छन् । न्याय मरिसकेको छैन भन्ने आशा र विश्वास बोकेर प्रशासन र प्रहरी कार्यालय चाहारियो । हनुमानढोकाबाट सरेर मीनभवन पुगेको अपराध अनुसन्धान महाशाखामा हप्तौं धायौं । आशा थियो प्रहरीबाट न्याय मिल्छ । तर, त्यो झिनो आशा पनि त्यहाँ पुगेपछि तुषारापात भयो । त्यहाँका प्रहरीले उल्टै झपार्दै वैदेशिक रोजगार बोर्डमा जान सुझाए ।

सम्पर्कविहीन भएका दुई दलाल बल्ल तल्ल सम्पर्कमा आए । प्रहरीसम्म यो प्रकरण पुगेपछि बल्लतल्ल पैसा फिर्ता त दिए तर कसैलाई कात्तिक त कसैलाई मंसिर पहिलो साताको मिति राखेर चेक काटियो । पैसा फिर्ता पाइयो भनेर मख्ख भएका हामी फेरि छाँगाबाट खस्यौं । तावाबाट उम्किएको माछो भुंग्रामा खसेझैं हाल भयो हाम्रो । कुनै चेकमा पनि पैसा छैन । सबै बाउन्स । त्यो पैसा नभएको चेक हल्लाउँदै कहाँ जानु ? न्याय कहाँ पाइन्छ ? बैंकिङ कसुरअन्तर्गत फेरि अर्काे मुद्दा दर्ज गराएका छौं ।

यिनको ठगीधन्दाको नालीबेली यस प्रकरण पछाडि विस्तारै फेला पर्दै छ, भोजपुर जिल्ला सदरमुकाम नजिकैको पोखरे पुख्र्यौली घर भएका उनी रातारात थर परिवर्तन गरेर नेपाल भए । पाँच दाजुभाइमध्येका कान्छा छोरा । सानैदेखि घरबाट भागी हिँडेका उनी शुरुमा काठमाडौंको गोंगबुमा जुत्ता सिलाउने काम गर्थे । केही वर्ष त्यहाँ जुत्ता सिलाएको उनले साहुको ६ हजार चोरेर हिँडेका रहेछन् । त्यही पछाडि रातारात शम्भु नेपाल भएका । सपरिवार भोजपुरबाट सुनसरी ०४६ सालमा झरेका उनले धरान ७ सुनसरीबाट २०१७ साल वैशाख १४ गते नेपाली नागरिकताको प्रमाणपत्र लिए । कसरी लिए ? अहिले पनि हेर्ने जान्नेहरूले ढड्डा पल्टाएर हेरे हुन्छ । उक्त नागरिकतामा टोली प्रमुख रामकृष्ण कार्कीको हस्ताक्षर देखिन्छ । बुबाको गाउँमा छँदा वास्तविक नाम चंखे विसुंखे थियो, नागरिकताको प्रमाणपत्रमा बुबाको नाम फेरेर रिठ्ठे नेपाल बनाइएको देख्न पाइन्छ ।
बडो गज्जवको छ यिनको परिचय । कसैलाई श्रम तथा रोजगार मन्त्रालयको शाखा अधिकृत हुँ भन्दै हिँड्छन् । भोजपुर नापीबाट सरकारी जागिर खाँदै वीरगञ्ज भन्सारमा १० वर्ष, स्थानीय विकास मन्त्रालय, बाँसबारी छालाजुत्ता कारखानाको हाकिम हुँदै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जागिरे रहेको बताउँछन् । कहिले कसैलाई आफू लोकसेवा आयोगमा सरुवा भएको र वास्तविक नाम जयराम नेपाल बताउन भ्याउँछन् ।
यसरी एक जना दलालले खुल्लमखुल्ला राज्यलाई चुनौती दिँदै हामीजस्ता युवालाई ठग्दै छ । यी फटाहा र दलाललाई राज्यका क–कसले संरक्षण दिएका छन् ? कतिपयलाई सरकारी जागिर लगाइदिने नाममा समेत रकम असुल्दै आएका छन् । १५ वर्षदेखि यस्तो ठगी धन्दा चलाइरहेका छन् । एक छोरा र एक छोरीका पिता यिनको ठगी धन्दामा श्रीमतीको समेत संलग्नता छ । ती दलाललाई न प्रहरी संगठनले छुन सक्छ, न त प्रशासन कार्यालयले ! प्रहरी संगठनलाई जति नै स्वच्छ र सफा राख्छु भनेर लागेको भए पनि यी दलालले सर्वसाधारणले आफ्नो गाँस कटाएर बचाएको र ऋण–धन गरेको पैसा प्रहरीका हाकिमकोमा पु¥याइसकेका छन् । होइन भने अनामनगर, महाराजगञ्ज प्रहरी वृत्तका हाकिमसावहरू जवाफ दिनुहोस्, यी दलालबाट ठगिएका हामी ८६ जनाले नै तपाईंहरूको कार्यालय घेर्दा, बाउन्स भएको चेकसहित भेट्दा, फोनमा हामीलाई दिएको धम्कीको रेकर्ड सुनाउँदा यत्रो प्रमाण पेस गर्दासमेत किन समातिँदैनन् दलालहरू ? यदि वैदेशिक रोजगारको मुद्दा तपाईंहरूले हेर्नै मिल्दैनथ्यो भने यो मुद्दा किन दर्ता लिनुभयो ? दर्ता हुन्छ भने किन कारबाही हुँदैन ? कि तपाईहरूमा पनि ‘मिलाएर खाने बानी’ लागेको छ ?

– पीडित विवेक राना र साथीहरू

टिप्पणीहरू