किन रिसाउनुभो नारायणकाजी कमरेड ?

किन रिसाउनुभो नारायणकाजी कमरेड ?

प्रतिनिधिसभा बिघटनविरुद्ध सडक संघर्ष चर्काइरहेको नेकपा (बहुमत) ले शुक्रबार राजधानीमा गरेको बृहत जनप्रदर्शनका वीच मन्चमै नेता र स्वयंसेवकवीच भनाभन भएको भिडियो फेसबुक, टिकटक र अनलाइनहरुमा छरपस्ट छ ।

अस्ति नेकपाले काठमाडौँ उपत्यका, दुई नम्बर प्रदेश र आसपासका जिल्लाबाट ठूलो संख्यामा नेता-कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने क्रममा पार्टी प्रवक्ता,अध्यक्ष माधवकुमार नेपाल,स्थायी समिति सदस्यद्वय पम्फा भुसाल र लीलामणि पोख्रेलवीच चर्काचर्की परेको हो ।

प्रदर्शनमा सहभागीको संख्या उलेख्य देखेपछि नेकपाका नेताहरुले दोस्रो जनआन्दोलनपछिकै ठूलो उपस्थिति भन्दै सन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबारको प्रदर्शनले आन्दोलनको माहोल बन्दै जान थालेको संकेत गरेको अरु कतिपयको पनि बुझाइ छ । राजनीतिशास्त्रीहरूले पनि नेकपाको प्रदर्शन र सहभागीको सङ्ख्या हेर्दा यसलाई ओलीप्रतिको असन्तुष्टिका रुपमा मात्र बुझ्न नहुने भन्दै विस्तारै संयुक्त आन्दोलनको स्थिति बन्दै जान थालेको बताएका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध झन्डै डेढ लाख मानिस काठमाडौँ ल्याएको दावी गरेको नेकपाको कार्यक्रममा केही व्यवस्थापकीय कमजोरीलाई लिएर आलोचना पनि भएको छ । कतिपयले नेताहरु महँगो सोफामा बसेर कार्यकर्तालाई सडकमा चप्पल ओच्छ्याई बस्न बाध्य पारेको जस्ता टिप्पणी गरेका छन् ।

कम्युनिष्ट नेताहरुको आचरणमाथि प्रश्न गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सोफामा बसेका नेताहरु र सडकमै पलेटी कसेर बसेका प्रदर्शनकारीको फोटो सार्वजनिक गरेका छन् । त्यति मात्र होइन, नेकपाका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ रिसाएको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।

कार्यक्रमको अध्यक्षसमेत रहनुभएका श्रेष्ठ मन्चमै रिसाएको भिडियो सार्वजनिक भएपछि अहिले अनेक टिकाटिप्पणी शुरु भएको छ । श्रेष्ठ कार्यक्रमको व्यवस्थापनप्रति असन्तुष्ट रहेको धेरैले अनुमान गरेका छन् । भिडियो हेर्दा पनि त्यस्तै देखिन्छ। कतिपयले चैं यसैलाई लिएर नेकपामा अन्तरविरोध शुरु भएकोसमेत भन्न भ्याइसकेका छन् ।

केन्द्रीय संघर्ष समितिको सहसंयोजक समेत रहनुभएकी स्थायी कमिटी सदस्य पम्फा भुसालले भने यसमा कुनै ठूलो विवाद नभएको बताउनुभएको छ। भिडियो हेर्दा ठूलै विवाद भएजस्तो देखिन्छ तर त्यस्तो केही होइन सामान्य छलफल भएको हो‘, भुसालले भन्नुभयो ।

प्रदर्शनलाई व्यवस्थित बनाउन भन्दै संघर्ष समितिले उपत्यकाका बिभिन्न १० स्थानलाई आर्क तोकेर जुलुसको रुट तय गरेको थियॊ । तर सहभागीको संख्या अत्यधिक हुँदा जुलुस अनियन्त्रित हुनपुग्यो र श्रेष्ठसंगको छलफल र  सहमतिबिना नै जुलुस सभास्थलमा पुग्यो । भुसालका अनुसार,त्यसैका कारण संयोजक श्रेष्ठ असन्तुष्ट बन्नुभएको हो ।

‘रत्नपार्कबाट बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, शहीदगेट, न्यूरोड गेट हुँदै रत्नपार्क घुमेर सभामा जाने कुरा थियो,तर अध्यक्ष प्रचण्ड बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै सीधै मन्चमा आउनुभयो भने माधव नेपाल सुर्खेतबाट आउन ढिला भएकोले बिमानस्थलबाटै यता पस्नुभयो ।’

उहाँले भन्नुभयो, ‘सबैतिर भरिभराउ थियो, निर्धारित रुटअनुसार जुलुस अघि बढ्दा भद्रगोल हुने स्थिति बन्यो, फेरि एक बजेको समय पनि घर्किसकेको थियो, त्यसैले अकस्मात त्यसरी परिवर्तन भएको हो।’

छिट्टो कार्यक्रम सकेर भाडाको गाडीमा सहभागीलाई घर फर्काउनुपर्ने दबाबले गर्दा केही कमजोरी भएको स्वीकार गर्दै भुसालले भन्नुभयो, ‘कार्यक्रमको स्वागत वक्ता र सभापति नारायणकाजी कमरेडलाई सोधेरै शुरु गरौं कि के गर्ने भन्न खोजेको पनि हो,तर भीडभाडको कारण उहाँको फोन लागेन । पछि उहाँले पनि परिस्थिति बुझ्नुभयो । अहिले बाहिर भनिएजस्तो केही समस्या छैन ।’

टिप्पणीहरू