निर्वाचित जति नेपालतिरै
प्रतिनिधिसभा विघटनसँगै नेकपामा चुलिएको ध्रुवीकरण नुवाकोटको तल्लो तहसम्म पनि तीव्र रूपमा बढेको छ । दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभामै विजयी बनेको नेकपामा निर्वाचित अधिकांश नेता माधव नेपाल नेतृत्वमा रहेको प्रचण्डसहितको समूहतिर खुलेरै लागेका छन् । १२ वटा स्थानीय तहमध्ये नेकपाले निर्वाचन जितेको पाँचवटा स्थानीय तहमा चारवटै तहका प्रमुख÷उपप्रमुख सोही समूहमा खुलेका छन् । यस्तै, नुवाकोटमा नेकपाबाट निर्वाचित वडाध्यक्षमध्ये ३५ जनाभन्दा बढीले नेपाल नेतृत्वको प्रचण्डसहितको समूहको जिल्ला भेला कार्यक्रममा सहभागिता जनाएका छन् । ८८ वटा वडा रहेको नुवाकोटमा ५१ वटा नेकपाले अध्यक्ष जितेको छ । प्रधानमन्त्री ओली पक्षमा १५ जना वडाध्यक्ष रहेको अनुमान छ । ध्रुवीकरणका क्रममा यो संख्या थोरैले तल–माथि हुन सक्छ । प्रदेश सांसद तथा नुवाकोट नेकपाका अध्यक्ष हीरानाथ खतिवडासहित ६ सदस्य कार्यालय टिम प्रचण्ड माधव टिममा देखिएका छन् । संघीय संसद् तथा पार्टी सचिव नारायणप्रसाद खतिवडा, हितबहादुर तामाङसहित प्रदेश सांसद तथा उपसभामुख राधिका तामाङ सोही समूहमा खुलेका छन् । प्रदेश सांसद केशव पाण्डे र बद्री मैनाली ओली पक्षतिर छन् । विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, उपमेयर गीताकुमारी दाहाललगायत एक वडाबाहेक सबै वडाध्यक्ष नेपाल समूहमा छन् । त्यसैगरी, तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्ती, उपाध्यक्ष, तारादेवी रिमाललगायत सबै वडाध्यक्ष, पञ्चकन्या गाउँपालिकाका प्रमुख तेजबहादुर तामाङ रमेश, ककनी गाउँ पालिकाका प्रमुख मानबहादुर तामाङ, उपाध्यक्ष सीता खतिवडा, बेलकोटगढी नपाकी उपमेयर कविता ढुंगानालगायत जनप्रतिनिधि नेपाल पक्षतिरै खुलेका छन् । बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालसहित अधिकांश वडाध्यक्ष भने ओली समूहमा छन् । ६३ सचिवालय सदस्य रहेको नेकपाको जिल्ला कमिटीका ५३ जना सदस्यले केही दिनअघि विदुरमा भेला भएर प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल समूहमा रहेर एकताबद्ध हुने प्रण गरेका छन् । नुवाकोट नेकपाको १ सय ६० जना जिल्ला सदस्यमा हाल प्रचण्ड–माधव समूहमा १ सय ३४ जना सहभागी भएका हुन् । २६ जना ओली पक्षका देखिएकाले भेलामा सहभागी नभएको नेकपा नुवाकोटका एक नेताले बताए ।
अधिकांश निर्वाचित प्रतिनिधि नेपाल पक्षतिर रहँदा जिल्लाका केही प्रभावशाली नेता भने ओली पक्षको केन्द्रीय सदस्यमै परेर आफ्नो पक्षमा माहोल बनाउन क्रियाशील छन् । प्रदेश सांसद केशव पाण्डेसहित पुराना संगठन तथा वामवुद्धिजीवी रामशरण प्याकुरेल, पूर्वएमालेकी सबैभन्दा क्रियाशील नेत्री विन्दा ढुंगाना, विदुर नगरपालिकाका पूर्वमेयर ठाकुरप्रसाद गजुरेल, ट्रेड युनियनका नेता रामहरि नेपाल केन्द्रीय सदस्यमा मनोनीत भई जिल्लामा आफ्नो समूहको पक्षमा क्रियाशील छन् ।
टिप्पणीहरू