कम्युनिष्ट पार्टी प्रगतिशीलहरुको बगैँचा हो, बिर्ता होइन
केशव थापा
विभाजित रहेको कम्युनिष्टलाई देखिने गरी स्थुलरुपमा एकीकरण गर्न, मुर्झाएका हामी नेपालीहरुको सपना ब्युँताउन, छिमेकीको हेपाहा प्रवृत्तिको विरुद्ध टाउको खडा गरेर राष्ट्रियताको पक्षमा दृढ उभिन, विरोधी र प्रतिपक्षप्रति प्रत्युत्पन्नममतिका साथ सतर्क खरो प्रहार गर्न, देशको धार्मिक, सांस्कृतिक विशेषताको विशद व्याख्या गर्न वर्तमान सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू अद्वितीय नै हुनुहुन्छ । सदनमा अविश्वासको प्रस्तावको सिलसिलामा उहाँले दिनुभएको सारगर्भित मन्तव्य, पर्यावरण, अर्थतन्त्रलगायतका विषयमा विश्वमञ्चमा राख्नुभएको धारणा, नेपालको धार्मिक, सांस्कृतिकलगायतका विषयको विशदज्ञान सबै नतमतष्क हुने खालका छन् ।
यस्ता नेताको लेभीधारी कार्यकर्ता हुन पाउँदा स्तम्भकारमा अति गौरव थियो र छ पनि । अन्य दलका मित्रहरुले नेता हुनु त तेरो जस्ताभन्दा गर्वले छाति ढक्क फुल्थ्यो ! प्रधानमन्त्री पद धारण गरेका फरक फरक विशेषता र योग्यता भएका चारजना नेता, इसाराको भरमा मर्न, मारिन तयार दशौं लाख कार्यकर्ता, हरेक तह र तप्काका नेपालीहरुको आशा र भरोसाको केन्द्र निकै गौरवशाली थियो एकता पछिको नेकपा । आन्तरिक जनवादलगायत प्रतिभा प्रस्फुटनमा नेकपा एमालेको विरासत बरकरार रहने अपेक्षाका साथ सबैको अकर्षणको केन्द्र बन्दै थियो यो । राजनीतिलाई व्यवसाय मान्ने बाहेक नेपाल र नेपालीको सुन्दर भविष्यको चाहना राख्ने अन्य दलका इमान्दार कार्यकर्ताको पनि आासा र भरोसाको केन्द्र पनि यही दल बन्दै गइरहेको थियो ।
एकता गर्ने नेताहरु नेकपा खटारो टेम्पो नभएको र दुइवटा पाइलटले वेगवान गतिमा हाँक्ने दुई ईञ्जिनवाला जेटविमान भएको धक्कु लगाउनुहुन्थ्यो । र, मुसुमुसु हाँस्दै एउटा माला दुइवटाको गलामा सगर्व पहिरनुहुन्थ्यो । कमरेड झलनाथ खनाल र कमरेड माधव नेपालको वरिष्ठ पद कहिले यता कहिले उता पथ्र्यो । महाधिवेशनमा निर्वाचितहरुलाई छ्यालब्याल पारिएको थियो । एकताको सूत्रधारहरुको आँखाका नानीहरुले दलको केन्द्रीयलगायत लाभका पदहरु बक्सिस पाएका थिए । पदमिलानको आधारबारे जिज्ञासा राख्नेहरु नमिठो झापडकासाथ क्रमशः कोपभाजनमा पर्दै थिए । कसैको लागि नेकपा चिताएको दिने कल्पवृक्ष जस्तो साँच्चै पार्टी थियो भने कसैलाई सुनसान पाटी ।
सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति चयनपछि सुस्ताएको केन्द्रको गतिविधि एकाएक बुझिनसक्नुको हतारहतारको अस्वाभाविक गतिशीलता र तलतिरको मुर्दातुल्य गतिहीनता उदेकलाग्दो थियो एकीकृत नेकपाको । कतिपय जिल्ला, स्थानीय तहमा पार्टी एकताको कामको सिन्को पनि भाँचिएको थिएन र अद्यावधि छैन । यो किन रहेछ अहिले पटाक्षेप भइहाल्यो ।
दुर्भाग्यवशः दलविभाजनको सम्बन्धमा बाहिर जे आए ती आंशिक सत्य भए पनि २०३४ र ०३५ देखि नै सक्रियताका साथ वाम आन्दोलनको सक्रिय अनुयायी भएको, चालिसको दशकको प्रारम्भ, पचासको दशकको मध्यको घटनाक्रमको प्रत्यक्षदर्शी यो स्तम्भकार चमात्कारिक लाग्ने अप्रत्याशित दल एकता, पछिल्लो समय दलको बैठकका पट्यारलाग्दा उपक्रम, अध्यक्षद्वयको पत्रयुध्द, खासै औचित्यपूर्ण नदेखिएका अध्यादेशहरु, संविधानमा व्यवस्था नहुँदा पनि कार्यकारी प्रमुखमा अन्तनिर्हीत अधिकार र आवश्यकताको सिध्दान्तको आधारमा भनी ‘काम’ गर्न नदिएर हातखुट्टा बाँध्नेलाई देखाइदिन गरिएको प्रतिनिधिसभाको विघटन, यसमै पनि धारा उल्लेखदेखि राजपत्रमा सूचना प्रकाशनमा भएका भूल, सारा कार्यकर्ताको भावना विपरीत क्षणभरमै पार्टी विभाजनले पूराना र इमान्दार नेता, कार्यकर्ता झैँ स्तम्भकार पनि आहात भएको छ ।
पुर्खाको विरासत सुन्धाराको धरहरा (भीमसेनस्तम्भ) ठडिए पनि कम्युनिष्ट आन्दोलनको धरहरा भने सामान्य अवस्थामा सहजै ठडिन नसक्ने गरी गल्र्यामगुर्लुम ढलेको छ । यो क्षणिक भै दिएर सँधैको लागि नभए हुन्थ्यो । विराट व्यक्तित्वलाई पटक्कै नसुहाउने व्यक्तिलक्षित तुच्छ भाषणले सुन्ने सबैलाई अझै बढी दुःखित तुल्याएको छ । तत्काललाई सुन्न मज्जा आए पनि दीर्घकालीन परिणामका हिसाबले ती भाषण कर्ताकै लागि प्रत्युत्पादक हुने निश्चित छ । सम्मान नदिइकन त के पाइएला र ? उहाँहरुजस्तो युग हाँकेका शीर्षस्थ नेताको विरोध त पात्रभन्दा पनि प्रवृत्ति लक्षित हुन छाडेर धागो चुँडिएको चङ्गा जस्तो कता हो कता बहकिएको छ ।
ठूला मानिसले अरुको सम्बन्धमा छिद्रान्वेषी हुनुभन्दा पहिले आफूलाई पनि नियाल्नुपर्ने तथ्य भुसुक्क बिर्सिएको देखिन्छ । सार्वजनिक खपतका लागि भविष्य नहेरी जे पनि अलाप्ने नेताहरुले छातिमा हात राखेर गमिदिए हुने -के प्रतिक्रियावादी, पुनरुत्थानवादी र दक्षिणपन्थी शक्तिभन्दा पनि बढी प्रहार गरिनुपर्ने शक्ति र व्यक्ति हुन् र उहाँहरुले अहिले तिखा शब्दवाणले निशाना ताकेका फुटेर यताउता परेका नेताहरु ? कथम् भोली मिल्न परे गला मिलाउने ठाउँसम्म किन बाँकी नराखेको होला ?
उबेला पनि कमरेड सीपी मैनाली, वामदेव गौतमलगायतका नेताहरुलाई पछाडि पार्दा वा अलग बनाउँदा खिया लागेको नल्टबोल्ट फेरेको, पिलो निचोरिएको, सुकेको हाँगो लछारिएको, महाभ्रष्टाचारीलाई लखेटेको भनिएकै हो । तर, खै के भएको त्यसपछि पनि नल्टबोल्टमा खिया लाग्ने वा फिलामा पिलो आउने क्रम त अझै रोकिएन । हिजो अरुलाई त्यसो भन्नेहरु आज एकार्काविरुध्द त्यही आरोपको पुनरावृत्ति गरिरहेका छन् । सायद, ईतिहास दोहोरिन्छ भनेको यही होला । विकास, समृद्धि, सम्पन्नता र सुशासनलाई पन्छाएर कम्युनिष्ट आन्दोलन र नेता सधै यस्तै फुटको, आरोप प्रत्यारोपको लुते धन्दामा व्यस्त रहँदा देश र जनताप्रति न्याय गरेको ठहर्ला ? दुवै कित्ताबाट गम्भीरतापूर्वक चिन्तन भए जाती हुन्थ्यो ।
विभाजनपछि त्यही घरमा बसेर लड्न छाडेर हतारमा बनाएको नयाँ घर पहिले नै राखेर नफापेको, नसुहाएको, दुइवटा गजुर राखेर अस्वभाविक जस्तो देखिएको छ । पूरानै भनिएको घर पनि हरिसिद्धिको पाको ईंटाले बनेको बलियो पहिलो तलामा थपिएको भक्तपुरे चिम्नीभट्टाको आधा काँचो आधा पाको ईंटाको दोस्रो तल्लाको गारोले सारै भद्दा देखिएको छ । एकातिर कर्तव्यभन्दा पनि पोर्टफोलियोमा बढी गम्भीर धेरै नेताको व्यस्थापनको पूरानै समस्या देखिएको छ भने अर्कातर्फ एउटा मात्र नेतालाई भाषण गरेर भ्याइ नभ्याई छ । नवकेन्द्रीय नेताहरु आफूले गर्नुपर्ने के हो अन्यौलमा छन् ।
यतिबेला पुच्छर समाएर हतारमा वैतरणी तर्न नजान्नेहरु घरका न घाटका भएका छन् । वैतरणी तरेकाहरु उन्मत्त भएर सङ्लो खोलालाई धमिलो बनाउन मरिमेटेका छन् । अहिले जितेको जस्तो भएको अहम् पछि हार्नलाई हो भन्ने अलिकति पनि हेक्का राखेको देखिँदैन । सबैले सीमा नाघी शीर्षनेताहरुकै सिको गरेर गालीको वौच्छार गर्दै जाने हो भने गाउँगाउँ टोलटोलमा कोतपर्व टार्न नसकिने सम्भावना बन्दैछ । एकातिरको मांशाहारी आन्दोलन र अर्कातर्फ आन्दोलन कस्तो हुने साइबरसेनालगायत जनसागरबाट देखाइदिने उद्घोषले मुठभेड अब टार्न नसकिने नियति बन्दै गइरहेको प्रतीत हुन्छ ।
सिद्धान्त, विधिविधान, प्रणालीभन्दा पनि जुलुसमा उपस्थित मानिसको संख्यालाई शक्तिको आधार मान्न थालिएको छ । भाषण सुन्ने भीड दुवैतिर जत्रो भए पनि आधारभूत जनताहरु अत्यन्त निराश छन् भन्ने पत्तो नेताहरुलाई छैन । जीत त कुन्नि नेताहरुको अहिलेको कर्मले कुनै न कुनै दिन हुने निर्वाचनमा कम्युनिष्ट हराउनलाई पर्याप्त भैसकेको छ । सत्ताकै लागि गरिएको यत्रो उपद्रव अनायस सत्ता गुमेपछि नेताहरु कसरी सम्हाल्लिनु होला ? गरेर देखाउने बेलामा फुट अनि अति शत्रुतापूर्ण दाउपेचले कसरी जीतको आधार प्रस्तुत गर्छ र ? फेरि जनतामा पनि कम्युनिष्टलाई सत्ता फाप्दो रहेनछ भने मनोविज्ञानले घर गरेपछि चाहनाले मात्र पासा कहाँ पल्टन्छ होला र ?
एकातर्फ वीभत्स यदुवंशी विनासको लीलामञ्चन हुँदैछ भने अर्कोतर्फ सातचोटी प्रधानमन्त्री हुने भाग्य भएका भनिएका प्रमुख प्रतिपक्ष दलका नेता चिना पल्टाएको पल्टाई हुनुहुन्छ । उहाँ मन नलागी नलागी प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्न जानुहुन्छ । जसले प्रधानमन्त्री र मुख्यमन्त्री दिन्छ उतै लाग्ने बताउनुहुन्छ । उहाँलाई लागेको छ, सत्तपक्ष कमजोर हुनु नै आफू बलियो हुनु हो । सापेक्षतामा ठिकै भए पनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्नेले शासनको बागडोर झनै सम्हाल्न सक्दैन भनी जनताले सहजै अनुमान गर्छन् भन्ने हेक्काचाहिं उहाँमा पटक्कै छैन ।
प्रतिपक्षी दलका जुझारु र सम्भावनाका केही झिल्का बोकेका ’केटानेता’ हरु सत्ताधारी दल र तिनका नेताहरुलाई औंल्याउँदै अनेकथरि अलापी रहेका छन् । त्यसको कतैबाट तर्कसङ्गत यथोचित खण्डनमण्डन छैन । छ त केवल दुवैतिर आखिर हिजोका सहकर्मीमाथि गालीको वर्षा र धारेहात । मार्कसवाद, लेलिनवाद, वहुदलीय जनवाद, समाजवादोन्मुख गन्तव्य केहीको कतै चर्चा छैन । अलापिएको छ केवल कान थुन्नुपर्ने गालीपुराण । सम्झनामा छैनन्, पुष्पलाल, मदन भण्डारी र मनमोहनका योगदान । केवल सम्झनामा छन्, अर्को नेताको मानवजन्य त्रुटि र कमजोरी र अनि सअभिनय सोको सार्वजनिकीकरण ।
सामान्य खेलका त न्यूनतम धर्म र सीमाहरु हुन्छन् भने नीतिमध्येको सर्वोच्च राजनीतिको पनि मर्यादा र सीमाहरु नहुने होइन होला । अतः दुवै पक्षबाट यसको इमान्दारितापूर्वक पालना होस् र जगहँसाईको दिक्क लाग्दो खेल अब उप्रान्त स्वःअनुशासनको नियम बनाएर सके सदासदाको लागि त्यति नभए तत्कालको लागि मात्र भए पनि बन्द हुनसके अलिकति राहत हुन्थ्यो ।
नेकपाका नेताज्यूहरु ७० वर्षको पठ्ठो भए पनि अमरचाहिँ निश्चय नै हुनुहुन्न । जति टुटाएफुटाए पनि कम्युनिष्ट आन्दोलन भने सापेक्षिकरुपमा अजरअमर छ । अतः क्षणभङ्गुर व्यक्तिको जीवन आफैंले हुर्काए बढाएको सापेक्षिकरुपमा दीर्घायु भएको कम्युनिष्ट आन्दोलनको साख वृध्दिमा लगाउँदै सुकीर्ति मात्र सेखपछि पनि बाँच्ने तथ्य स्मरण गर्दै आफूलाई निर्विकल्प ठान्न छाडेर कम्युनिष्ट पार्टी भनेको सयौं फूल उम्रने, हुर्कने र फक्रने प्रगतिशीलहरुको साझा बगैँचा हो र कसैको बिर्ता होइन भन्ने चेत जागृत हुन सकोस्, शुभकामना !
टिप्पणीहरू