इस्पात प्रचण्डमाथि सत्तोसराप किन ?
अधिवक्ता प्रेमराज सिलवाल
संसद् विघटन भएपछि राजावादी, प्रतिगामी, यथास्थितिवादी र गणतन्त्रविरोधीहरू प्रधानमन्त्री ओलीको समर्थन र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घोर विरोधी देखिएका छन् । जनताको ऐतिहासिक राजनीतिक संघर्ष तथा वैधानिक संवैधानिक एवं निर्वाचनका सबै माध्यमबाट पाखा लागेका ‘कुडाकर्कटहरू’ ले नेपालका महान् र गतिशील (डाइनामिक) नेतालाई धारेहात लगाउन कम्मर कसेको छन् । उनीहरू भद्र, शालीन र समन्वयकारी नेता माधवकुमार नेपाललाई सँगै जोडेर दुवैको विरोध गर्दै छन् । यद्यपि, राजावादी, प्रतिगामी र गणतन्त्रविरोधीको विरोध कुनै नौलो होइन ।
प्रतिगामी तत्वले प्रचण्ड–नेपालको किन विरोध गरे त्यो कुनै महत्व र अर्थको विषय भएन । सोचनीय पक्षचाहिँ प्रधानमन्त्री ओलीको संसद् विघटनलाई त्यस्ता तत्वले ‘ओलीले गज्जब गरे’ भनी हौस्याउँदै ‘थप कडा हुँदै माधव–प्रचण्डलाई ठेगान लगाउनुपर्ने’ भनाइ सार्वजनिक गर्दैैै आएका छन् । यसको अन्तर्य के हुन सक्छ ? यसमा लुकेको सह–सम्बन्ध (कोरिलेसन) के हुन सक्छ ? यसमा कुनै ‘प्रतिगामी सेटिङ’ त छैन ? भन्ने जस्ता आशंका जन्मिएका छन् ।
राजावादीले सोचेका होलान्– ओलीले संसद् विघटन गरिहाले । अब संकटकाल लगाउँछन् र प्रचण्ड–नेपाललाई जेल हाल्छन् वा जेल हालुन् । प्रतिगामी तत्वलाई जनताको तागतमाथि अझै विश्वास नभएजस्तो छ । ओलीलाई हौस्याएर गणतन्त्र र गणतान्त्रिक संविधान सिध्याउने वा संविधानको मूल मर्म र प्रावधानलाई ‘धुजाधुजा’ पार्न सकिने सोच तिनीहरूले पालेका छन् । यद्यपि, प्रधानमन्त्री ओलीबाट त्यो तहको हर्कत र गतिविधि हुन सक्ला भन्ने कुरामा विश्वास गर्न सकिन्न । ओली स्वयं राजनीतिक परिवर्तन तथा सामाजिक, आर्थिक समृद्धिका लागि १४ वर्ष जेल बसेका अनुभवी नेता हुनुहुन्छ । उहाँले हुँदाखाँदाको जननिर्वाचित संसद् विघटन गरेर एउटा राजनीतिक आरोप खेपिरहनुभएको छ । फेरि त्योभन्दा माथि अर्काे गम्भीर आरोप खेप्नुहोला भन्ने लाग्दैन । आफूले खान लागेको पाइएन भने पस्केको भात अरू पनि खान नदिने सोच–व्यवहारजस्तो त भइसक्यो । अब फेरि सोही खानालाई आफैँले आचीमा फालिदिनुहोला त ? विश्वास गर्न सकिन्न ।
अस्ति प्रधानमन्त्री ओलीज्यूसँग प्रचण्डले ‘कुम जोड्दा’ हाइहाइ गर्नेहरू आज प्रचण्ड–माधवको समीकरण हुँदा किन छटपटिएका छन् ?
अहिले राजावादी र प्रतिगामी तत्वसँग ओलीको ‘चोचोमोचो मिलेको’ देख्दा कतिपयलाई आशंका हुनु अन्यथा हैन । नेपालमा राजनीतिक परिवर्तन त्यसै आएको होइन । ०६२÷६३ को १९ दिने देशव्यापी संंघर्षले मात्र गणतन्त्र आएको हो ? कसैले त्यसरी सोच्छ भने त्यो उसको कमजोरी र साँघुरो सोच हो । हरेक राजनीतिक, संवैधानिक आन्दोलन र परिवर्तनको लामो चक्र (चेन) हुन्छ र छ । नेपालको राजनीतिक र संवैधानिक आन्दोलन र सबै खालका परिवर्तनको चेन हेर्न २००७ सालको राणाशासनविरोधी आन्दोलनभन्दा अघिदेखि भएका र गरिएका राजनीतिक, सामाजिक र साँस्कृतिक आन्दोलन तथा संघर्षका विभिन्न ऐतिहासिक घटना, क्रान्ति, परिवर्तन, आन्दोलन, संघर्ष, बलिदान, जनताको त्याग, जेल–नेल तथा विभिन्न राजनीतिक घटनाक्रमलाई जोडेर हेर्नु र बुझ्नुपर्ने हुन्छ । जसरी एउटा ठूलो भवनको निर्माणमा जग तयार गर्न बारी–खेत सम्याइएको देखि, जग खनेको, इँटा र सामग्री राखेको, फेरि पर्खालहरू लगाउँदै अघि बढेको, त्यो पर्खाल ढलेको वा सुधारका लागि ढालिएको, नयाँ पिलर हालिएको, नयाँखाले सिमेन्टको प्रयोग भएको, फेरि पखाल लगाउँदै–लगाइएको हुन्छ । हामी सुन्धाराको धरहरा बनेको हेर्न सक्छौं । कसरी कति चरण, श्रमिक, मिहिनेत, श्रम, लागत, सामग्री सबैको जोडले त्यो तयार हुँदै छ । पूर्ण धरहरा निर्माण हुँदासम्म त्यसमा अझै कति जोडजाम गर्नुपर्ने हुन्छ । हो नेपालको राजनीतिक र संवैधानिक परिवर्तन वा वर्तमान गणतान्त्रिक प्रणाली पनि रातारात कसैले दिएको वा बनिबनाउ प्राप्त भएको होइन । यो ‘निगाहा बक्स’ भएको प्रणाली हो ? त्यस्तो ऐतिहासिक जग र आधारमा निर्मित संवैधानिक–राजनीतिक प्रणालीप्रति जनताको अगाध विश्वास छ, हुनु पनि पर्छ । राजनीतिक वैधता नभई आजको विश्वमा शासन कति दिन चल्न सक्ला ?
कसैलाई प्रचण्ड मन नपर्न सक्छ । उनको व्यवहार र शैली पनि मन नपर्न सक्छ । तर, उनी नेपाली राजनीतिका जबर्जस्त नेता र संस्था भइसकेका छन् । कुनै राजा–महाराजाले मनोनीत गरेर दिएको स्थान हो त्यो ? उनले जनताको शक्तिलाई संगठित गर्दै आफू र आफ्नो विचार स्थापित गराएका हुन् । यो देश शक्ति र निर्णायक भूमिकामा रहेका कुन दल र नेताको इतिहास र विगत ‘दूधले नुहाएको’ छ ? क्रान्तिमा के भयो भन्ने कुरा गर्दै ‘गाडी ब्याक गियरमा हाल्ने’ हो भने धेरै कुरा हुन सक्छन् । लोकतान्त्रिक गणतन्त्रले प्रतिगामीलाई पनि विचार राख्न दिएकै छ । तर, त्यसको सीमा सबैले ख्याल गर्नुपर्छ । अस्ति प्रधानमन्त्री ओलीज्यूसँग प्रचण्डले ‘कुम जोड्दा’ हाइहाइ गर्नेहरू पनि आज प्रचण्ड–माधवको समीकरण हुँदा किन छटपटिएका छन् ? किन उनीहरू धारे हात लगाउँदै छन् ? किन उनीहरू कमरेड प्रचण्डलाई ‘छोइछिटो’ को अभिव्यक्ति दिँदै छन् ? के नेपालको राजनीतिक परिवर्तन र संवैधानिक परिवर्तनमा प्रचण्डको अग्रणी भूमिका छैन ? के प्रचण्ड र उनको विचार समूहको संघर्षबिना नेपालमा यसप्रकारको राजनीतिक, सामाजिक र कानुनी परिवर्तन हुन सम्भव थियो ? कुना–कुनामा रहेका र हेपिएका नागरिकलाई राजनीतिक चेतना र जागरण कसले दियो ? त्यो परिवर्तनले प्रचण्ड विरोधीलाई पनि बोल्ने, लेख्ने, सडकमा आउने र आफ्ना आवाज बुलन्द गर्ने अवसर दिएको होइन ? अनि फेरि किन एकोहोरो खोइरो खन्ने ? प्रचण्डको खोइरो खन्नेहरूले आफ्नो ‘मालिक र राजा–महाराजाका अनुहार’ ऐनामा हेरेका छन् ? भोलिको नेपाली राजनीति यसैगरी निषेध गरेरै चल्न सक्छ ?
टिप्पणीहरू