राष्ट्रवाद निर्जिबन रेलको फोटो होइन

राष्ट्रवाद निर्जिबन रेलको फोटो होइन

दिनेश रायमाझी

जनताको के कुरा गर्नु, अनपढ गँवार न परे । खडेरी पर्न लाग्यो भने हरहर महादेव भन्दै गुहार लाउँछन् । छोरालाई विदेश पठाउनुपरे साइत हेराउन ज्योतिषीकहाँ पुग्छन् । लगन जुराउन पण्डितकहाँ जान्छन् । लाहुरे बन्ने जोखना हेराउन भाले काट्छन्, भाकल गर्छन्, रोट चढाउँछन् । तर, यति गर्दा पनि पानी भने पर्दैन, न छोरो विदेश जान्छ, न त भर्ती हुन गल्लाले छान्छ । तैपनि, यस्तो गरिरहन्छन् । माक्र्सले भनेजस्तै दुखियालाई यस्तैले लठ्याउँछ, हामीलाई खै अर्कै केले हो तर लठ्याइरहेको छ, कुरा त्यही हो । तर, पानी पर्दा छाता ओढ्न र बोक्न झन्झट, दुःख हुनेहरू, पोषिलोले वजन बढेर डायटिङ गर्दै कम खानुपर्नेहरू, तौल घटाउन वाकिङ गर्नुपर्नेहरू, होचो–अग्लो भए पिर्का चाहिने, तीतो तीतो भए पनि मार्सी चामलै मीठो हुने, ठट्टा सुन्न लाखौं त नभनौं हजारौं उपस्थित हुनेहरूका दुःख कस्ता होलान् जसलाई दूर गर्न दुःख पूजन गर्नुपर्ने खण्डखातिर आइपर्छ ? हाम्रा दुःख दशनंग्र्रा खियायो भने मात्र दूर हुन्छन् त गाँठे !

भीमसेन थापाले बनाएको माटोको धरहरा अब कसका पालाको कंक्रिटको भनेर हेर्ने हुन् हाम्रा छोरा–नातिले ?

किताबमा पढ्ने कुरा छुट्टै हो । तर, आक्कल झुक्कल भेट हुँदा माक्र्सवाद विज्ञान हो, धर्म अफिमको नशाजस्तै हो, यसले लठ्याउँछ भन्थे । अन्धविश्वास गर्नुहुन्न है भन्थे ।महिनावारी हुनु अछुतो हुनु होइन पनि भन्थे । होला त नि भनेर मानियो । त्यतिबेलादेखि दूध बोकेर मन्दिर होइन, पसलतिर जान सिकियो, गल्लाले छानेपछि बल्ल भाले काटेर खान शुरु गरियो ।नछुने भएकी श्रीमतीलाई नुहाएर खान पकाउन भनियो तर अहिले तिनैले दुःख पूजन गरेको देख्दा रनभुल्लै परिया’छ । अब श्रीमतीजीले नुहाएर पकाएको भात खाने कि नखाने ? अब सात दिन द्वार प्रवेश बन्द गरिदिने !

पहिलो ओलम्पिक खेल भएको रोमको स्टेडियम खण्डहरजस्तै छ । मेयर वा सरकारसँग पैसा छ र पनि त्यसलाई बनाउँदैनन् । जस्तो छ त्यस्तै छाडेका छन् । तर, त्यही खण्डहर हेर्न मान्छे पैसा तिरितिरी जान्छन् । यता, कंगालको घरमा जोगी पाहुना भनेजस्तो जनतालाई हिँडाएर बचाएको पैसा मास्न नयाँ रानीपोखरी बनाइरा’छन् । भूकम्पले भत्केको धरहरा ठड्याउन पैसा नभएका मेयर, सरकारले मरिहत्ते गरेकै छन्, कन्दनी कसेर लागेकै छन् । अब यो धरहरामा चढेर काठमाडौंको दृश्यावलोकन गरेपछि जनताले समेत कसका घरमा चुलो बलेछ भनेर ठम्याउन सक्नेछन् र यो ठम्याइले समाजवादको फिलिङ्स दिनेछ । भीमसेन थापाले बनाएको माटोको धरहरा अब कसका पालाको कंक्रिटको भनेर हेर्ने हुन् हाम्रा छोरा–नातिले ? टाउको दुखेको दबाई नजानेर नाइटोमा लाउँछन् भन्थे अनपढ र अन्धविश्वासीहरू, कुरै बुझ्न मुस्किल– को अन्धविश्वासी, को अनपढ ?

अरुका छोराछोरी घोडा चढ्छन्, हाम्रा जैरे धुरी चढ्छन् भनेर आमाले व्यंग्य कस्नुहुन्थ्यो सानो छँदा । सुनेर मुर्मुरिन्थें तर आज उहाँ नै गलत भएकाले रिस उठेको रहेछ भन्ने लाग्छ । आज चारैतिर धरहराजस्तै अग्ला मल बनेका छन्, भ्युटावर ठडिएका छन् । पैसा फेंको, तमासा देखो अर्थात् खासमा चढ्ने त धुरी नै रहेछ । बा भन्नुहुन्थ्यो– बढी फूर्ति नला तँ । तेरो साम्यवाद तँलाईभन्दा मलाई राम्रोसँग थाहा छ । रामराज्य भनेकै साम्यवाद हो । बडो कुरा गर्छ न्याय र बराबरीको ! देशभरि एक से एक सुन्दर मूर्ति बनेका छन् करोडौंको खर्चमा भगवान्का । शपथग्रहणमा बोका ढलेकै छन् । आदित्य बरालहरूको भविष्यवाणीमा मुलुक हिँडेकै छ बेलाबखत र अयोध्या नै अब आँगनमा बन्ने भएपछि रामराज्य नजिकै छ जस्तो लाग्न थालेको छ । बाले बुझेको साम्यवादमा पुग्नै आँटियो जस्तो छ ।

सामन्तले आरन ठटाउन बाध्य पारेको भैरव विश्वकर्मालाई हेपेर भैरे कामी (कामी शब्द लेखेकोमा क्षमाप्रार्थी छु) भन्थे हाम्रातिर उहिले । केही राम्रो गर्न खोज्यो व्यंग्य कसिहाल्थे र भन्थे नापिस्, सबै पछाडि– भैरे कामी अगाडि ! हैन गाँठे किसानका कुरा सुन, मजदुरका दुःख बुझ, रोजगारी निर्माण गर, राम्रोसँग पढाऊ जनताका छोराछोरीलाई, सबैलाई खान पुग्ने बनाउने गरी शासनसत्ता चलाऊ भन्न खोज्यो पूरै खनिन्छन् । नखनेका सुरुङमार्गका, नचलेका चुच्चे रेलका र प्रशान्त महासागरतिर चल्ने अमेरिकी पानीजहाजका फोटोहरूको बिस्कुन लाउँछन् र झम्टिन्छन् अफ्रिकाको जंगलतिर जनावरले जनावरलाई झम्टेजस्तो । देखिनस् काम गरेको ? बढ्ता जान्ने हुने ? सिकाउने ? हेप्ने ?

र पुछारमा,
राष्ट्रवाद ती निर्जीव जहाज र रेलका फोटाहरूमा होइन मान्छेका दैनिकीमा हुन्छन् । गरिबका छोराछोरीले तातो भात खाएर स्कुल जान पाए भने, गरिब गर्भवती महिलाले अस्पताल गई आफू जिउँदै भएर बच्चा जन्माउन सक्ने अवस्था हुन्छ भने, एनसेलले सजिलै कर तिर्छ भने, नसकिने र अनावश्यक निर्वाचन नगरेर खर्च जोगाउने र त्यो पैसा कोभिडको भ्याक्सिन किन्न लगाउने हो भने राष्ट्रवाद सुनिने मात्रै होइन देखिन्छ, अनुभूति हुन्छ,फोटोमा खोज्नै पर्दैन जसरी नाकाबन्दीका बेला खोजिराख्नुपरेको थिएन ।

टिप्पणीहरू