काठमाडौं तातेन किन ?

काठमाडौं तातेन किन ?

कुनै पनि आन्दोलन त्यस्ता छैनन्, जसमा उपत्यका नतात्तिई सफल भएको होस् । तर, यसचोटि पुस ५ मा भएको असंवैधानिक कदमविरोधी आन्दोलनमा उपत्यका त्यति नतात्तिएको निचोड छ, नेकपाको प्रचण्ड–माधव समूहसहित कांग्रेसको पनि ।

९ गते सम्पन्न प्रचण्ड–माधव समूहको प्रदर्शनमा देशका विभिन्न भागबाट ठूलो जनसमूह भेला भयो । प्रदर्शनीमार्ग, भद्रकाली, रत्नपार्कसहितका सडकमै मानिस जम्मा भए, सभा भयो । तर, त्यत्रो भीड उपत्यकामा जम्मा हुँदा पनि स्थानीय प्रदर्शनकारीको उपस्थिति नगण्य रह्यो । त्यसमाथि सरकारले विभिन्न जिल्लाबाट काठमाडौं आएका गाडीहरूलाई बाटोमा रोक्ने, ब्ल्युबुकसहितका कागजात हेर्ने नाममा दुःख दिनेजस्ता काम गर्दा आएकाहरूलाई पनि दुःख भयो ।

नेकपा नेताहरूका अनुसार, उपत्यकामा पूर्वमाओवादी यसै पनि कमजोर हो । तर, अहिले भइरहेको आन्दोलनमा पूर्वमाओवादीका जति छन्, सबै कार्यकर्ता तह सडकमा उत्रिएको छ । उपत्यकामा राम्रो पकड भएको पूर्वएमाले हो । त्यतातिरको नेतृत्व वा अलिक जिम्मेवारीमा भएका मान्छेहरू मात्रै आन्दोलनमा आएका छन् । उपत्यका उठ्न ०४६ मा च्यासल, कीर्तिपुर उम्लिएझैं र पह्रार गुठी बिधेयकविरुद्ध राजधानी तातेझैं नेवार समुदाय आउनुपर्छ । पूर्वएमालेमध्ये क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठ, ७ नं. का वडाध्यक्ष शुद्ध डंगोल र कीर्तिपुरका सुरेन्द्र मानन्धर तथा नयाँबजार (१६ वडा) का वसन्त मानन्धरसहितका थुप्रै नेता आन्दोलनको अग्रीम मोर्चामै छन् । तर, उनीहरूले प्रतिनिधित्व गर्ने समुदाय आइरहेको छैन । पूर्वएमालेको ठूलो पंक्ति चुनाव चिह्न कसको भागमा पर्छ भनेर ‘वेट एण्ड सी’ मा छ । शायद, त्यसपछि काठमाडौं तात्तिन्छ कि सेलाउँछ ? बल्ल टुंगो लाग्ला ।

– चिनकाजी महर्जन, असन

टिप्पणीहरू