प्रधानमन्त्रीको हुँकार र सेनाको पल्टन सरुवा

प्रधानमन्त्रीको हुँकार र सेनाको पल्टन सरुवा

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् गर्नुभएको प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक गतिरोधसँगै सेनाले ‘रेगुलर अभ्यास’ का नाममा गरेको भनिएको बख्तरबन्द गाडीको देशब्यापी प्रदर्शनले छुट्टै राजनीतिक सरगर्मी बढाएको छ । राजा ज्ञानेन्द्रले ०६१ माघ १९ गते “कू” गरेकै दिन पारेर काठमाडौंको चक्रपथमा गरिएको ‘मिलिटरी भेहिकल टेष्ट’ लाई अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म निरन्तरता दिइएको देखिन्छ ।

राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षका साथै रक्षा मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्रीले आवश्यकता पर्दा संकटकाल घोषणा गर्नसक्ने अड्कललाई सैनिक बख्तरबन्द गाडीको परेडले साथ दिएको बताइन्छ । आन्तरिक सुरक्षा मामिलाका विज्ञहरु भन्छन् ‘प्रधानमन्त्रीको पछिल्लो कदम समाजलाई मनोवैज्ञानिक त्रासमा राख्ने प्रपञ्च हुनसक्छ ।’
यता नेपाली सेनाले पल्टन स्थानान्तरण र ‘मिलिटरी भेहिकल टेष्ट’ आफ्नो नियमित सेड्युलमा गरिएको कार्य भनेको छ । सैन्य स्रोतका अनुसार यो वर्ष ३४ वटा गुल्मको पल्टन स्थानान्तरण चलिरहेको छ । कोरोना महामारीका कारण रोकिएको उक्त कार्य गत पुस २२ गतेबाट शुरु भएर आगामी चैत २२ गतेसम्म सक्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी माघ १९ कै दिन गरिएको ‘बख्तरबन्द’ गाडीको मार्चपास काकताली हो कि,योजनाबद्ध ? भनेर राखिएको जिज्ञासामा स्रोतले भनेको छ ‘काकताली मात्रै हो । यसअघि पनि ती साधन नियमित मर्मत सम्भारपछि गुडाइन्थ्यो । तर, सार्वजनिक जानकारी गराईंदैनथ्यो । गलत सन्देश नजाओस् भनेर यसपटक अघिल्लो दिन नै सञ्चारमाध्यमहरूलाई जानकारी गराएका हौं ।’

टिप्पणीहरू