मैले मनाएको जनमुक्ति सेना दिवस
– जानुका धमला
के हो जनमुक्ति सेना ? किन मनाइन्छ दिवस ? वर्गीय मुक्ति सम्भव छ ? जनमुक्ति सेनाले बन्दुकको नालमा टिकेको राज्य सत्तालाई बन्दुकले नै परास्त गर्न सक्छ ? वर्गीय मुक्तिसँगै महिला मुक्ति पनि सम्भव छ ? हामी सबै खाले दासबाट मुक्त हुन सक्छाँै ? मानिसले मानिस भएर बाँच्न पाउने शासन व्यवस्था अभ्यास गर्न पाउँछाँै ? यस्ता सवाल आफैं जनयुद्धको मोर्चामा सहभागी नहुँदासम्म गौण नै थियो । जब प्रमाणित छापामार भएँ त्यो बेला मनाएको पहिलो जनमुक्ति सेना दिवस ०६० साल मंसिर ८ गतेको सम्झना छ, त्यतिखेर पूर्वी कमाण्डअन्तर्गत बेथान स्मृति ब्रिगेडको छापामार सदस्य थिएँ ।
लाल र श्वेतबीच विभाजनको विस्फोट हुनुअघि २०५७ सालमा निधारमा मृत्यु वा मुक्तिको कफन बाँधेर सबैखाले मुक्तिको मोर्चामा होमिएको थिएँ । दोस्रो जनमुक्ति सेना दिवस सिन्धुलीको मरिनमा मनाएको याद छ, कम्मरमा जी ३६ ग्रिनेड र काँधमा ३०३ राइफल बन्दुक बोकेर महिला छापामारको रूपमा ।
शान्ति प्रक्रियापछि माओवादीले उठान गरेको वर्गीय मुक्तिको मुद्दालाई सत्तासँग साटेपछि जनमुक्ति सेना दिवस पनि फागुन १ मै मनाउने निर्णय भयो । मुद्दा नै सकिएपछि जनमुक्ति सेना दिवस मनाउनु र न नमनाउनुले फरक पार्दैन होला त्यसको व्याज खानेलाई । तर, मजस्तै ऊर्जाशील समय देश र दुनियाँ बदल्छु भनेर हिँडेका इमान्दार सिपाहीहरूलाई पक्कै पनि फरक पर्ने रहेछ । फेरि १९औं जनमुक्ति सेना दिवस नजिकिँदै गर्दा कहिल्यै पूरा नभएका मुक्तिका सपनामा टहलिन्छु, कहिल्यै उठ्न नसक्ने गरी लडेको सयाँै लडाइँहरूको यादमा घोत्लिन पुग्छु ।
प्रवासको एक कुनामा बसेर त्यो दिन सम्झँदा महिला मुक्ति र वर्गीय मुक्ति अनि समग्र आन्दोलनको पूर्वदृश्य झलझली आउँछ । क्रान्तिकारी सिपाहीलाई न भूगोलले फरक पार्छ न त वर्गमुक्तिका लागि लडिने लडाइँले नै ! पश्चिमको बेनी मोर्चादेखि चौतारासम्मको लडाइँ सम्झँदा एउटा छापामारलाई काउकुती लाग्छ । पाइलैपिच्छे पछ्याउने दुस्मनका सिआइडीहरू उनीहरूलाई छक्याएर भाग्न सक्ने कला अनौठो अनुभूति हुन्छ । कहिले फायरिङ एम्बुस त १२,१४ घण्टासम्म मोर्चाबद्ध लडाइँको अभ्यास । त्यसैले पनि कहाँनेर महिला अधिकार भेट्यौँ र कहाँनिर छुट्याँै भनेर सम्झने प्रयास गरिरहेको हुन्छु ।
कहिले सिपाही त कहिले कमाण्डर भएर हिँड्दै गर्दा मैले कहिल्यै प्रश्न गरिनँ । आज जीवनको बिन्दुमा उभिँदा लाग्छ त्यो बेला भनिएको परिवर्तनभित्र के–के थिए ? अनि आज हिजो जनयुद्धमा समावेश भएका सिपाहीहरूलाई हेर्छु ।
बन्दुक बिसाइयो, बिसाइएको हतियार शत्रुलाई नै बुझाइयो । त्यो बेला बुझाइएको बन्दुकमा खेल भयो कि झेल भनेर पनि सोधिनँ । आज जनयुद्धको महिला क्रान्तिकारी लडाकुको रूपमा के पाएँ र के गुमाएँ त्यसमा किञ्चित दुःख छैन । तैपनि, त्यो कष्टकारी दिनबाट देश र जनताले के पाए भन्ने कुराचाहिँ प्राथमिकतामै छ । मैले आफूले लडाइँ लडेको र सम्हालेको मोर्चाबाट बेखुस छैन । मैले मेरो हैसियतबाट जति युद्धको किल्ला जोगाएँ त्यो जनमुक्ति सेनाको उपलब्धि हो भन्ने लाग्छ । यसपटक जनमुक्ति सेना दिवस मनाइरहँदा फेरि पनि बन्दुक बोकाँै संविधानमाथि भएको बलात्कारविरुद्ध हतियार उठाआँै भन्ने बन्दुकसँगको त्यो पुरानो प्रेम पुनरावृत्त हुने रहेछ ।
हिजोको विषम परिस्थितिमा हामीलाई लडाएर, घाइते, अपांग बनाएर आफ्नो वर्ग फेर्नेहरू आग्रहलाई मानेर अगाडि बढ्ने कि आफ्नो स्वतन्त्रतामा मनाउने † जनयुद्ध लडेका योद्धा र जनता किन खुशी छैनन् नेताहरूको फेरिएको जीवनशैलीसँग ! युद्धमा अभिभावक गुमाएका घाइते, अपांगका छोराछोरी सानो भन्दा सानो अवसरबाट पनि वञ्चित हुनुपर्ने !
देश जटिल मोडमा छ, यो अवस्थामा हामीले बुद्धि, विवेक भने पक्कै पनि पु¥याउनुपर्छ । भौतिक जीवन र आफ्ना मान्छेलाई गुमाएर ल्याएको संविधानमाथिको हस्तक्षेप असैह्य छ । तर, फेरि यो भनिरहँदा हाम्रो मर्म र विचारलाई एकीकृत गर्ने नेतृत्व भने पाएका छैनौँ । यस्तो अवस्थामा पनि तिनैलाई अगाडि लगाएर १९औं जनमुक्ति सेना दिवस मनाउन सकिने अवस्था भने पक्कै छैन । त्यसैले यसपालिको १९औं जनमुक्ति सेना दिवस म स्वतन्त्रतापूर्वक स्वाभिमानको झण्डामुनि मनाउँदै छु ।
टिप्पणीहरू