जंगीअड्डामा उद्घाटन, हल्चोकमा बिसर्जन
नेपाली सेनाको मुख्यालय जंगीअड्डा भद्रकालीमा सीमा सुरक्षासम्बन्धी छलफल शुरु भएको छ । छलफलको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि बलभद्र कुँवरसम्मको लामो चर्चा गर्नुभएको थियो । छलफलमा सीमा सुरक्षामा खटिएका सबै निकायबीच थप समन्वय गर्न आवश्यक उपाय पहिल्याउन विचार विमर्श हुने बताइएको छ ।
आज सशस्त्रको मुख्यालयमा गृहमन्त्री रामबहादुर थापाद्वारा समापन हुने उक्त कार्यक्रममा चार वटै सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता छ । त्यसैगरी, पर्यटन र भूमिसुधारका महानिर्देशकको सहभागिता रहेको छ । हाल बोर्डर सेक्युरिटीको रुपमा काम गरिरहेको नेपाल प्रहरीले नै सीमा प्रहरीको समेत काम गरेको, सशस्त्रले बीओपीको रुपमा र नेपाली सेनाले ती सबैलाई ब्याकअपमा रहेर साथ दिदै आएको छ । कार्यक्रममा ती निकायबीचको सूचना आदानप्रदान र सूचना संयन्त्रलाई कसरी थप सहकार्य र समन्वय गर्ने भन्नेमा विषय केन्द्रित रहेकोे स्रोतले बताएको छ ।
‘सीमा सुरक्षाको काममा दोहोरोपना नदेखिने गरी कामको जिम्मेवारी बाँडफाँड गर्ने’ बारे विस्तृत छलफल भएको सहभागी एकजनाले बताएका छन् । उनका अनुसार अहिलेको अवस्थामा नेपाल प्रहरी नै तस्करी रोक्नेदेखि अन्य सबै काममा संलग्न भइरहेको छ । त्यसैले कामको ‘डुप्लिकेशन’ रोकेर एउटा निकायको कामलाई अर्को निकायसँग प्रभावकारी बनाउनेबारे छलफल भएको उनले बताएका छन् । बीओपी, सीमा स्तम्भको नियमितताको बारेमा पनि छलफल हुने भनिएको उक्त कार्यक्रममा भोलि नेपाल प्रहरी र सशस्त्रका डीआइजीले प्रस्तुति गर्नेछन् ।
टिप्पणीहरू