पुलिसको ड्रोन उडेको उड्यै
हिजोआज नेपाल प्रहरीले आमसभालगायत धेरैजना सहभागी हुने कार्यक्रम स्थलमाथि ड्रोन उडाउने गरेको छ । माघ २३ गते शुक्रवार प्रधानमन्त्री केपी ओली पक्षधर नारायणहिटी दरवारअगाडिको भेलामा समेत आकाशबाट निगरानी गरिएको थियो भने अन्य महत्वपूर्ण व्यक्तिको भ्रमण तथा कार्यक्रममा पनि त्यस्तै गरिन्छ । प्रहरीका अनुसार सामान्य अवस्थामा ड्रोनले लक्षित समूह र कार्यक्रमस्थलको निगरानी गरिरहेको हुन्छ । विशेष अवस्थामा भने शान्ति सुरक्षामा खलल पुग्यो वा पुग्न लाग्यो भन्नेबारे चासो राख्ने गरिन्छ । सेनाले पनि असोज ३ को सँविधान दिवसलगायतका जमघटमा यो विधि अपनाउने गरेको छ ।
तर सुरक्षा निकायले प्रयोग गर्ने यस्ता ड्रोनबाट लाइभ प्रशारण भने हुँदैन । भिडियो रेकर्ड हेरेर आवश्यकताअनुसार प्रहरीले बल प्रयोग वा थप शक्तिको आवश्यकता पर्न लागेको विश्लेषण गरिन्छ । ड्रोनले भिडियो खिचेर स्टेशनमा फर्केपछि मात्र सुरक्षा निकायले प्रमाणका निम्ति परिस्थितिको विश्लेषण वा ढुङ्गा हान्ने, तोडफोडकारीको पहिचान गर्ने हो ।
प्रहरीले पछिल्लो समय दुई वटा शक्तिशाली ड्रोन प्रयोग गर्दै आइरहेको छ । पछिल्ला दिनमा प्रायः ठूला र महत्वपूर्ण कार्यक्रम सबैमा त्यसको प्रयोग गरिन्छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग आउँदा पनि तत्कालीन अपरेशन एआइजी पुष्कर कार्कीको कमाण्डमा ड्रोन प्रयोग गरिएको थियो । नेपालमा सुरक्षा निकाय र अनुमति लिएर उडान गर्नेबाहेक अरुलाई ड्रोनको प्रयोगमा इजाजत दिइएको छैन ।
टिप्पणीहरू