माधवको ‘चित्त’ र प्रचण्डको ‘सोच’
नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन हुनुको दोष नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमाथि थोपर्नुभएको छ ।
नेपाललाई सानो चित्त भएको ईर्ष्यालु र प्रचण्डलाई नीच सोच भएको मान्छेको संज्ञा दिँदै पोखरेलले उहाँहरुकै कारण संसद विघटन गर्नुपरेको बताउनुभएको हो । च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा हिजो ओली समूहनिकट राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै उहाँले ओलीमाथि फौजदारी अभियोग लगाएर पार्टी कब्जा गर्ने प्रचण्ड–नेपालको रणनीति असफल बनाउन ताजा जनादेशमा जाने निर्णय लिइएको दाबी गर्नुभएको छ ।
‘प्रचण्ड,माधव र झलनाथ खनालहरु चुनावदेखि डराएका छन् । चुनावमा गए जनताले पत्याउँदैनन् भन्ने उनीहरुलाई थाहा छ,’ उहाँले भन्नुभयो, ‘जनताको विश्वास जितेर प्रधानमन्त्री हुनुभएका ओलीलाई षड्यन्त्र गरी हटाउन खोजेकाले अहिलेको अवस्था सिर्जना भएको हो ।’ पोखरेलले आगामी अधिवेशनमा आफूलाई साथ दिए पार्टीका सबै तहको नेतृत्वमा ४० प्रतिशत युवा र ३३ प्रतिशत महिलालाई पुर्याउने वचनसमेत दिनुभएको छ ।
त्यसैगरी,युवा संघका इञ्चार्ज तथा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले युवाहरुले अहिलेको चुनौती सामना गर्न सक्नुपर्ने बताउनुभएको छ । प्रचण्ड र माधव नेपालले हावामा बन्दुक पड्काएर तर्साउने खेल खेलेको भन्दै उहाँले आफूहरु नतर्सिने बताउनुभयो ।
’आइ लभ यू केपी बा’ भन्दै युवाहरु सडकमा आउनुले ओलीको कदमको पक्षमा देशभर जनलहर देखिएको बस्नेतको दाबी छ । उहाँले बौद्धिक जगतलाई ‘अराजक तत्व’ भनी कडा आलोचना गर्दै भन्नुभयो ’साइबर सेनाको काम देखेर बौद्धिक जगत अत्तालिएको छ ।’
भेलाले रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई संयोजकबाट हटाएको छ । प्रचण्ड-माधव पक्षले भने जनवर्गीय सङ्गठनको नेतृत्वबाट ओली खेमालाई पद्च्युत गरेको पाइन्न जस्तो कि अखिलमा संयोजक ऐन महर यथावतै हुनुहुन्छ । सोमबारसम्म चल्ने भेलाले राजनीतिक, सांगठनिक प्रतिवेदन, बिधानबारे छलफल गर्नुका साथै आगामी कार्ययोजना, संगठन बिस्तार तथा पुनर्गठनबारे निर्णय गर्ने बताइएको छ । आज सोमबार गृहमन्त्री रामबहादुर थापाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।
टिप्पणीहरू