राधाको बिदाई, पञ्चको स्वागत
संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत तथा पूर्व अर्थमन्त्री युवराज खतिवडा ओहोदाको प्रमाणपत्र बुझाउन र राजदूतको कार्यभार सम्हाल्न वासिङ्गटन डिसी पुगेका छन् । शुक्रबार काठमाडौंबाट हिँड्नुअघि खतिवडालाई उनकै निवास धुम्बाराहीमा भेटेर पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ‘शुभयात्रा’ भनेकी थिइन् ।
राजदूतमा नियुक्त हुनुअघि खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार थिए । अर्थमन्त्री हुनुअघि योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नर थिए । तर,बिल्कुल फरक भूमिकासहित राजदूत बनेका खतिवडाले पोखरेलसँग पुँजी बजारका समस्या समाधानको लागि आफू अझै पनि प्रतिबद्ध रहेको बताउनुलाई सबैले उदेक ठानेका छन् ।
उनको भनाइले सात समुन्द्र पारिको मुलुकमा राजदूत बनेर जाँदा पनि खतिवडालाई अझै आर्थिक,बैंक तथा वित्तीय र पुँजी बजारको धङधङीले नछाडेको प्रष्ट हुन्छ । नेपाली समयअनुसार आइतबार अमेरिका पुगेका खतिवडालाई आफूले हार्दिक स्वागत गरेको भन्दै एकजना नेपालीले वासिङ्गटन विमानस्थलको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
फोटो पोष्ट गर्ने पञ्चनारायण प्रजापति तिनै हुन् जो खतिवडा गभर्नर हुँदा राष्ट्र बैंकमा कार्यरत थिए । अमेरिकी डिभी प्रोग्राममा चिठ्ठा परेपछि केही वर्षदेखि सपरिवार उतै बस्छन् ।
टिप्पणीहरू