कान्छी उपाध्यक्ष भन्छिन्- ‘संविधानको रक्षा गरौँ’

कान्छी उपाध्यक्ष भन्छिन्- ‘संविधानको रक्षा गरौँ’

सानै उमेरदेखि राजनीतिमा लागेर २१ वर्षमै जनप्रतिनिधि बनेकी रसुवाको नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले प्रतिनिधिसभा विघटनविरुद्ध एकतावद्ध हुन आव्हान गरेकी छन् ।

नेकपा विभाजनपछि तटस्थ बसेकी उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संविधानको रक्षा गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताएकी हुन् । ‘सम्पूर्णमा नमस्कार अनि शुभसन्ध्या ! असंवैधानिक कदमविरुद्ध मेरो खबरदारी ! संविधानको रक्षा गर्ने हाम्रो काँधमा ठूलो जिम्मेवारी,’ उनले भनेकी छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमनकारी भन्दै कान्छी उपाध्यक्ष लामाले नेकपा (बहुमत) ले माघ २८ गते काठमाडौँमा आयोजना गरेको विरोधसभामा सहभागी हुन सबैलाई अपिल गरिन् । उनले लेखेकी छन्, ‘आम नेपाल कम्युनिष्टप्रेमी आदरणीय प्रिय कमरेडहरु तथा जनसमुदायमा प्रधानमन्त्रीको प्रतिगमनकारी कदमको विरुद्ध लाग्न हार्दिक अनुरोध गर्दछु ।’ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी लामा निर्वाचित हुँदा २१ वर्षकी थिइन् । यसअघि उनलाई ओली समूहमा लागेको भनिएको थियो ।

टिप्पणीहरू