दोहनमा थुप्रै आशंका

दोहनमा थुप्रै आशंका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा राजश्व अनियमितताको आशंका गरिएको छ । नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि अमानतमा संकलन गरेको राजश्व रकमबारे फरक सूचना दिएपछि अनियमितताको आशंका गरिएको हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार नगरपालिका क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि चालु आर्थिक वर्षमा ६० हजार ४६ घनमिटर ढुंगा,गिटी,बालुवा उत्खनन गर्न पाइन्छ । सोहीबमोजिम नगरपालिकाले गत असोजदेखि अमानतमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएको थियो ।

अमानतमा संकलन गरिएको नदीजन्य पदार्थको परिमाण र राजश्व संकलनका विवरणमा फरक देखिएपछि अनियमितताको आशंका गरिएको हो । मंसिर मसान्तसम्म ३९ हजार ८ सय ७८ दशमलव ५० घनमिटर नदीजन्य पदार्थ उत्खनन गरेवापत ३९ लाख ८७ हजार आठ सय ५० रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ ।

नगरपालिकाले माघ १५ गतेदेखि लागु हुने गरी रोयल विल्डर्सलाई ठेक्का प्रक्रिया मार्फत् ३० हजार २७ घनमिटर परिमाण उत्खनन गर्न दिनेगरी ठेक्का सम्झौता गरेको छ । उक्त परिमाण वापत विल्डर्सले एक करोड ८० हजार ६० रुपैयाँ राजश्व बुझाउनुपर्ने सम्झौता छ । यद्यपी नगरपालिकाले दिएको परिमाण वातावरणीय प्रभाव मूल्यांकन अनुमतिभन्दा धेरै परिमाण हुन आएको छ । जुन नदीजन्य पदार्थ उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड र नगरपालिका आफैंले आह्वान गरेको ठेक्काको सर्त विपरित पनि हो ।

नगरपालिकाले मंसिर मसान्तसम्म संकलन गरेको ३९ हजार ८ सय ७८ दशमलव ५० घनमिटर र ठेक्का सम्झौतामा अनुमति दिएको ३० हजार २७ घनमिटर जोड्दा कुल ६९ हजार ९ सय ५ दशमलव ५ घनमिटर हुन आउँछ । जुन वातावरणीय प्रतिवेदनभन्दा ९ हजार ८ सय ४१ दशमलव ५ घनमिटर बढि हो ।

तर, टेण्डर सूचनाको शर्त नम्बर २६ मा ‘निर्धारित अवधि अगावै वातावरणीय प्रतिवेदनमा तोकिएको परिमाण निकासी भएमा ठेक्का सम्झौता स्वतः समाप्त भएको मानिनेछ’ भनि उल्लेख गरिएको छ भने नगरपालिका आफैंले ठेकेदार कम्पनीलाई उक्त प्रतिवेदनभन्दा धेरै परिमाणमा नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएको देखिन्छ । यसबाट विल्डर्सभन्दा नगरपालिका आफैँ नदी दोहनमा सक्रिय देखिएको छ भने नदीजन्य पदार्थ तोकिएको परिमाणभन्दा बढी उत्खनन भएको पाइएमा फौजदारी अभियोग मानिने स्पष्ट कानुनी व्यवस्था छ ।

नगरपालिकाले सोही परिमाण र राजश्व बारे माघ २२ गते उपलब्ध गराएको विवरणमा पुस मसान्तसम्म २४ हजार १९ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरिएको उल्लेख छ । पुस ७ गतेको विवरणमा मंसिर मसान्तसम्म संकलित परिमाण ३९ हजार ८ सय ७८ दशमलव ५० घनमिटर थियो भने माघ २२ गतेको विवरणमा २४ हजार १९ घनमिटर मात्र भनिएको छ ।

अचम्म के देखिएको छ भने मंसिर मसान्तसम्म धेरै परिमाण संकलन भएकोमा पुस महिनापछि स्वतः परिमाण बढ्नुपर्नेमा घटेको देखिन्छ । यसबाट नगरपालिकाले नदी दोहन (आवश्यकताभन्दा धेरै परिमाण उत्खनन) गर्ने मनसायले पछिल्लो सूचनामा विवरण छली गर्न खोजेको स्पष्ट भएको बताइएको छ ।

नगरपालिकाका राजश्व उपशाखा प्रमुख देव मुलेलले राजश्व रकमबारे आफु जानकार भएको तर परिमाण बारे बेखबर रहेको जानकारी गराएका छन् । उनले भने ‘वडाबाट नगरको राजश्व उपशाखामा भर्खरै आएकोले रकमबारे थाहा छ तर, परिमाण थाहा छैन ।’

 

टिप्पणीहरू