आज अख्तियार दिवस, जिम्मेवारी हेरफेर

आज अख्तियार दिवस, जिम्मेवारी हेरफेर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज माघ २८ गते आफ्नो ३१ औं वार्षिकोत्सव मनाउने भएको छ । गत साता आयोगमा नयाँ प्रमुख आयुक्त र केही आयुक्तको नियुक्ति भएकाले वार्षिकोत्सवको रौनक थपिएको बताइएको छ । हालै प्रमुख आयुक्त र आयुक्तहरुको कार्यविभाजन समेत भएको छ । अख्तियारमा मुख्यगरी मन्त्रालयको जिम्मेवारी हेर्ने भागबण्डा नै कार्य विभाजन हो ।

विशेषगरी अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालयलाई महत्वपूर्ण मन्त्रालयको रुपमा हेर्ने गरिएको छ । सबै आयुक्तलाई तिनै मन्त्रालय भाग पर्नेगरी बाँडफाँड गरिएको हो ।

बाँडफाँडमा प्रमुख आयुक्त प्रेमकुमार राईलाई गृह,रक्षा र सुरक्षा निकायको जिम्मेवारी परेको छ । त्यसैगरी अर्थ,पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेशनको जिम्मा पनि प्रमुखलाई दिइएको छ । आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी,शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी परेको छ । अर्का आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा सम्बन्धी,न्याय क्षेत्र र कानुनसम्बन्धी विषयको साथै सहरी विकास आदि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आवश्यकतानुसार आयुक्तहरुको अङ्गरक्षक पनि हेरफेर भएको छ । तर प्रमुख आयुक्तले पहिले गृह सचिव हुँदादेखिको पीएसओलाई नै निरन्तरता दिनुभएको छ । उहाँले बीचमा रिटायर्ड हुँदा पनि नियमित रहेको पीएसओलाई नै निरन्तरता दिनुभएको हो । अहिले प्रमुख आयुक्त भएपछि उहाँको अगुवा पछुवा सुरक्षाकर्मी भने थपिएको छ ।

आयोगले प्रवक्तामा नारायणप्रसाद रिसाललाई तोकेको छ । पूर्व कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीको राजीनामा यसबीच स्वीकृत भएको छ । काङ्ग्रेस कोटाकी आयुक्त सावित्री गुरुङ भने आयोग गइरहनुभएको छ । उहाँले पहिलेदेखि नै नछाड्ने बताउनुभएको थियो । उहाँको चैत १८ गते ६ वर्षे कार्यकाल पुगेर अवकाश हुँदैछ ।

टिप्पणीहरू