आज कहाँबाट काठमाण्डौमा कति पस्दैछन् ?

आज कहाँबाट काठमाण्डौमा कति पस्दैछन् ?

प्रतिनिधिसभा विघटनबिरुद्ध देशव्यापी आन्दोलन गरिरहेको नेकपा (बहुमत) ले आज माघ २८ गते काठमाडौँमा ठूलो शक्ति प्रदर्शनको तयारी गरेको छ । देशभरबाट कार्यकर्ता काठमाडौँ उतारेर बृहत प्रदर्शनको तयारी गरिरहेको नेकपाले बढीभन्दा बढी सहभागी जुटाउन स्थानीय पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।
नेकपाले विरोधसभामा मधेश प्रदेश २ का ८ जिल्लाबाट हजारौँको संख्यामा कार्यकर्ता ल्याउने लक्ष्य राखेको छ । धनुषाबाट मात्रै ६० वटा बसमा कार्यकर्ता ल्याउने तयारी भएको बताइएको छ । मंगलबार जनकपुरमा बसेको कमिटी बैठकले जिल्लाका १८ स्थानीय तहबाट हजारौँको संख्यामा कार्यकर्ता उतार्ने निर्णय गरेको हो । ६० वटा बसमा कार्यकर्ता भरेर हिजै राती धनुषाबाट छुटेेेको नेकपाले जनाएको छ ।
जिल्लाको जनकपुर उपमहानगरपालिकाबाट तीन, क्षीरेश्वरनाथ नगरपालिकाबाट छ, धनुषाधाम नगरपालिकाबाट पाँच, नगराइन नगरपालिका र विदेह नगरपालिकाबाट दुई दुई वटा बस तयार पारिएको छ । त्यस्तै, मिथिला बिहारी नगरपालिकाबाट चार,सहिदनगर नगरपालिकाबाट छ,सबैला नगरपालिकाबाट पाँच, हंसपुर नगरपालिकाबाट दुई र कमला नगरपालिकाबाट पाँच बस कार्यकर्ता उतार्ने बताइएको छ ।
जनकनन्दिनी गाउँपालिकाबाट पाँच,धनौजी गाउँपालिकाबाट तीन,बटेश्वर गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका,लक्ष्मीनिया गाउँपालिका र औरही गाउँपालिकाबाट दुई दुई बस कार्यकर्ता काठमाडौँ उतार्ने जनाइएको छ ।
बाराको विभिन्न उपमहानगर, महानगर र गाउँपालिकाबाट ६५ वटा गाडी र सुमो खचाखच कार्यकर्ताहरुसहित काठमाण्डौ प्रस्थान गरेको छ । जसअनुसार कलैयाबाट १० वटा,जीतपुर सिमराबाट १२ वटा,कोल्बीबाट ५ वटा,निजगढबाट ५, महागढीमाइबाट ५ वटा, सिम्रौनगढबाट ५ वटा,पचरौताबाट ५ वटा,आदर्श कोतवलबाट २ वटा, करैयामाईबाट २ वटा, देवतालबाट २ वटा, परवानीपुरबाट २ वटा,प्रसौनिबाट २ वटा,फेटाबाट २ वटा र बिश्रामपुरबाट २ वटा सवारी साधन हिँडेको छ ।
उता सर्लाहीका विभिन्न नगरपालिका र गाउँपालिकाबाट ९० वटा बस,४० वटा सुमो र १० वटा अन्य सवारी साधनमा गरी झण्डै पैंतिस सय कार्यकर्ता काठमाडौं हिँडेका छन् । त्यसैगरी सुदूर पश्चिमाञ्चल प्रदेशबाट सुदूरपश्चिम यातायातको ना ६ ख ९४५७ नं. को बसमा ४४ जना महिला धनगढीदेखि काठमाण्डौंको लागि प्रस्थान गरेका छन् भने अन्य केही कार्यकर्ता स्वतस्फूर्त रुपमा काठमाडौं हिँडिसकेका छन् ।
प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपाका दुवैपक्ष अहिले शक्ति प्रदर्शनको दौडमा छन् । नेकपा (प्रचण्ड–नेपाल) ले संसद विघटनको विरोधमा प्रदर्शन गरिरहेको छ भने ओलीपक्ष चुनावी तयारीको नाममा प्रदर्शन र आमसभा गरिरहेको छ । दुवैपक्षले प्रदेश २ लाई बढी महत्व दिएको देखिन्छ । ओली समूहले प्रदेश २ केन्द्रित अभियान चलाउन थालेपछि प्रचण्ड-नेपाल पक्षले पनि प्रदेश २ लाई महत्व दिन थालेको हो ।

टिप्पणीहरू