कहाँ कहाँबाट को, कति राजधानी छिरे ?

कहाँ कहाँबाट को, कति राजधानी छिरे ?

नेकपा (बहुमत)को बृहत् विरोधसभामा सहभागी हुन विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौँ भित्रिन थालेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपाले आज अहिलेसम्मकै ठूलो शक्ति प्रदर्शनको तयारी गरेको छ। जसका लागि नेकपाले देशभरबाट कार्यकर्ता काठमाडौँ उतार्न लागेको हो।

ट्राफिक प्रहरीका अनुसार,अहिले बिहान आठ बजेसम्ममा नागढुंगा र साँगा नाकाबाट मात्रै झन्डै ४०० को संख्यामा ठूला बस भित्रिसकेका छन् ।

प्रहरी विवरणअनुसार साढे चार बजेसम्म दुवै नाका हुँदै प्रदेश नं १ बाट ३ वटा बसमा १०३ जना, प्रदेश नं २ बाट ३९ बसमा एक हजार ३२६ जना,बाग्मती प्रदेश बाट १३ वटा बसमा ६२१ जना, गण्डकी प्रदेशबाट २६ वटा बसमा ८६३ जना र लुम्बिनी प्रदेशबाट ४ वटामा १६४ जना उपत्यका छिरेका छन् ।

त्यस्तै,साढे आठ बजेको विवरण अनुसार प्रदेश नं १ बाट ७ वटा बसमा २३२ जना,प्रदेश नं २ बाट ९४ बसमा तीन हजार १११ जना, बाग्मती प्रदेशबाट ५३ वटा बसमा एक हजार ६६१ जना,गण्डकी प्रदेशबाट ११० वटा बसमा तीन हजार ४८९ जना काठमाडौँ भित्रिएका छन्।

यता,लुम्बिनी प्रदेशबाट ४७ वटामा एक हजार ४५४ जना,कर्णाली प्रदेशबाट तीन वटामा ९७ जना काठमाडौँ आइपुगेको प्रहरीले जनाएको छ । त्यस्तै
३७ वटा साना सवारी साधनबाट १७८ जना काठमाडौँ छिरेका छन्।

ललितपुरको भट्टेडाँडा हुँदै मकवानपुरबाट नेकपाका कार्यकर्ता काठमाडौँ आउँदै गरेको नेकपा मकवानपुरले जनाएको छ। जिल्ला कमिटी सचिवालय सदस्य सर्दा पुलामीको नेतृत्वमा टाटा सुमोमा ९ जना उपत्यका भित्रिंदै छन् । गाउँ कार्यपालिका सदस्य कल्पना बिकको नेतृत्वमा चार वटा सुमोमा ३३ जना र जिल्ला पार्टी सचिवको नेतृत्वमा एउटा सुमोमा १० जना केही बेरमा काठमाडौँ छिर्ने बताइएको छ। पार्टी सदस्य सुरेश मगरको नेतृत्वमा चार वटा सुमोमा ३३ जना काठमाडौँ छिर्दै गरेको नेकपा मकवानपुरले जनाएको छ ।

यता,बनस्थलीस्थित बनस्थली पार्टी प्यालेसमा तनहुँकी नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आशा कोइरालाको नेतृत्वमा दुई हजार जना र स्वयम्भूस्थित स्टार व्यांकेटमा संविधानसभा सदस्य हरिराज अधिकारीको नेतृत्वमा गोर्खा र नुवाकोटका २२ सय जनालाई खाना खुवाइरहेको बताइएको छ।

विरोधसभामा प्रदेश २ का ८ जिल्लाबाट हजारौँको संख्यामा कार्यकर्ता काठमाडौँ भित्रिएका छन् । धनुषाबाट मात्रै ६० वटा बसमा कार्यकर्ता भरेर हिजै राती धनुषाबाट छुटेेेको नेकपाले जनाएको छ ।

बाराको विभिन्न स्थानीय तहबाट ६५ वटा गाडी र सुमो खचाखच कार्यकर्ताहरुसहित काठमाडौँ आइपुगेको छ । जसअनुसार कलैयाबाट १० वटा,जीतपुर सिमराबाट १२ वटा,कोल्बीबाट ५ वटा,निजगढबाट ५, महागढीमाइबाट ५ वटा, सिम्रौनगढबाट ५ वटा,पचरौताबाट ५ वटा,आदर्श कोतवलबाट २ वटा, करैयामाईबाट २ वटा, देवतालबाट २ वटा, परवानीपुरबाट २ वटा,प्रसौनिबाट २ वटा,फेटाबाट २ वटा र बिश्रामपुरबाट २ वटा सवारी साधन हिजो साँझ छुटेको थियो ।

उता सर्लाहीका विभिन्न नगरपालिका र गाउँपालिकाबाट ९० वटा बस,४० वटा सुमो र १० वटा अन्य सवारी साधनमा गरी झण्डै पैंतिस सय कार्यकर्ता काठमाडौं काठमाडौँ पसिसकेका छन्। त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट सुदूरपश्चिम यातायातको ना ६ ख ९४५७ नं. को बसमा ४४ जना महिला धनगढीदेखि काठमाण्डौंको लागि प्रस्थान गरेका छन् भने अन्य केही कार्यकर्ता स्वतस्फूर्त रुपमा काठमाडौं हिँडिसकेका छन् ।

टिप्पणीहरू