ल्याप्चे ठोकेर सुनुवारद्वारा विप्लव समूह परित्याग

ल्याप्चे ठोकेर सुनुवारद्वारा विप्लव समूह परित्याग

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना कार्यकर्ताले उक्त पार्टी परित्याग गर्दै विगतमा आफूले गल्ती गरेको बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका १, दिम्लादिपका राजीव उपनामले चिनिने रुद्रबहादुर सुनुवारले विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा लिखितम गर्दै सुनुवारले विगतमा चन्दा,अपहरण जस्ता गतिविधिमा संलग्न रहेको स्वीकारेका छन् । उनले ल्याप्चे लगाएर जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’विगतमा नेपाल सरकारबाट पूर्णरुपमा प्रतिबन्धित नेकपा (विप्लव) समूहको सक्रिय रुपमा वडा सदस्य रही चन्दा अपहरणलगायत राज्यविरुद्धको गतिबिधि गर्दै आएको व्यहोरा अवगत गराउँछु ।’

सुनुवारले स्वेच्छाले नै पार्टी परित्याग गरेको भन्दै अब उप्रान्त कुनै पनि राजनीतिक दलमा आबद्ध नरही स्वतन्त्र नागरिकका रुपमा रहने प्रतिबद्धता जनाएका छन् ।

‘आज माघ २६ गतेदेखि कोही कसैको करकापमा नपरी स्वेच्छापूर्वक म नेपाल सरकारद्वारा प्रतिबन्धित उक्त समूहसँगको पदीय दायित्व टुटाई नेपालको संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्ने प्रण गर्दछु,’ उनले भनेका छन्, ‘आज उप्रान्त उक्त समूहसँग कुनै सम्बन्ध नराखी सचेत तथा स्वतन्त्र नागरिकका रुपमा बस्न चाहेको हुँदा मेरो राजीखुशीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत् नेपाल सरकारसमक्ष आत्मसमर्पण गरेको छु ।’

टिप्पणीहरू