पूर्व प्रधानमन्त्रीहरुले बोल्नै लागे
नेकपा (बहुमत) को आयोजनामा काठमाडौंका हरेक सडकबाट जुलुश प्रदर्शन भएको छ । मूल जुलुशले मुख्य सडक परिक्रमा गरेपछि विरोधसभा प्रारम्भ हुन लागेको छ ।
केशरमहलबाट निस्किएको सहायक र्याली र लैनचौरबाट आएको र्यालीमा झण्डै चार हजार जना देखिन्छन् भने त्रिपुरेश्वरबाट लुम्बिनी प्रदेश,कर्णाली प्रदेश,सुदूर पश्चिम प्रदेश,चितवन,धादिङ, गोर्खालगायतका जिल्ला तथा काठमाडौं क्षेत्र नं. ९ र १० का नेता तथा कार्यकर्ताहरु जुलुससहित सुन्धाराको मूल जुलुसमा मिसिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
त्रिपुरेश्वरको जुलुसको नेतृत्व नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले गर्नुभएको छ भने जुलुशमा ओनसरी घर्ती मगर, जनार्दन शर्मा,सुरेन्द्र पाण्डे, घनश्याम भुसाल,युवराज ज्ञवालीलगायतका नेता तथा कार्यकर्ता गरी झण्डै ६ हजार जनाको सहभागिता रहेको बताइन्छ । उता,बल्खु चोकमा विभिन्न सवारी साधनबाट आएका झण्डै एक हजार पाँच सय जना प्रदर्शनकारी पार्टीको झन्डा र ब्यानरसहित कालिमाटीको जुलुसमा समाहित भएका छन् । त्यसैगरी विभिन्न जिल्लाबाट आएका झण्डै दुई सय वटा बस कलङ्कीबाट बल्खु हुँदै पार्किङ्गको लागि ललितपुरको सातदोबाटोतर्फ गएका छन् ।
जुलुशमा महान सहिद लाल सलाम,प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, संसद विघटन गर्न पाईंदैन, निरंकुशतन्त्र चाहिँदैन, असंवैधानिक नियुक्ति खारेज गर, प्रतिगामी षड्यन्त्र मूर्दावाद, संविधानको रक्षा गरौं,रास्ट्रिय स्वाधिनताको रक्षा गर,संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिगमन रोक्छौं,रोक्छौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिन्दावाद नारा लगाइएको छ ।
आजको विरोधसभालाई अध्यक्षद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु रघुजी पन्त,देव गुरुङ, जनार्दन शर्मा,सन्तकुमार चौधरी, रामचन्द्र झा,रामकुमारी झाँक्री, महफुज अन्सारी,अमृता थापा, अञ्जना विशंखेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको अध्यक्षता हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन लीलामणि पोखरेलले गर्नुहुने जनाइएको छ ।
टिप्पणीहरू