कमरेड ओली किन जानुभयो कम्बोडिया ?

कमरेड ओली किन जानुभयो कम्बोडिया ?

नेपालमा पनि कम्बोडियाको जस्तै हुन सेनको सत्ता अभ्यास शुरु हुन लागेको भनी तर्साइएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको कानमा बतास लागेको छ ।

देउवाको रणनीति थियो, चुनाव–चुनाव भन्दै, ‘अर्ली इलेक्सन’ मार्फत् सत्तामा जाने । त्यसैले तत्काल सरकार परिवर्तनका खेलमा सामेल नहुने हिसाबले निस्क्रिय राजनीतिक भूमिकामा रहनुभयो । उहाँकै पार्टीका नेताहरूले केपी ओलीले गराउने चुनाव र कम्बोडियाका प्रधानमन्त्री हुन सेनले गराएको चुनावको तुलना गर्दै ‘बाँस नै नरहे बाँसुरी कसरी बजाउनुहुन्छ ?’ भनेका छन् ।

कम्बोडियाली शासक हुन सेन पूर्वकम्युनिष्ट नेता हुन् । कम्युनिष्ट आन्दोलन छोडेर सन् १९८४ देखि ३७ वर्षसम्म पनि प्रधानमन्त्री रहँदै आएका छन् । हुन सेनले कसरी कम्बोडियामा राज गरे ? संसदलाई कुन तरिकाले विपक्षीविहीन बनाए ? कांग्रेस नेताहरूले केपी ओलीको कार्यशैलीसँग दाँज्दै हुन सेन शासनका दृष्टान्त गत हप्तातिरको बैठकमा सुनाएका छन् । र, देउवालाई त्यो इतिहास सम्झन अनुरोध गरेका छन् । शुक्रबार दिउँसो २ बजेदेखि बैठक बस्ने बस्ने–बस्ने भन्दै साँझ साढे ७ बजेबाट शुरु भएको बैठकमा हुन सेनका कर्मकाण्ड सुनेपछि कांग्रेसले बल्ल प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय लिएको हो ।

स्मरणीय छ, हुन सेनकै निम्तोमा प्रधानमन्त्री केपी ओली ०७६ वैशाख ३१ (सन् २०१९ को मे १३ देखि १५ सम्म) कम्बोडिया पुग्नुभएको थियो । अनि, हुन सेन त्यसअघि ३० नोभेम्बरमा चार दिनका लागि नेपाल पनि आए । कम्बोडियामा सन् २०१८ मा सम्पन्न निर्वाचनमा हुन सेनको पार्टी कम्बोडियन पिपुल्स पार्टीले कूल मतको ७६ दशमलव ८५ प्रतिशत, अर्थात् ४८ लाख ८९ हजार १ सय १३ मत पायो । त्यहाँ पूर्णसमानुपातिक निर्वाचन प्रणाली छ । त्यसअनुसार हुन सेनको पार्टीले सिंगै संसद् अर्थात् जम्मै १ सय २५ जना सांसद पायो । उनले आ–आफ्नो मान्छेलाई पद बाँडे । कांग्रेस बैठकमा भनियो, ‘केपीले गराउने चुनाव पनि हुन सेनको जस्तै हो ।’ देउवालाई सचेत गराइयो, ‘केपी ओलीले प्रधानमन्त्री पद सर्लक्क कांग्रेसलाई किस्तीमा राखेर दिनका लागि चुनाव गराउँदै छैनन् ।’

हुन सेनले आधी मात्रै सांसद पाएको पाँच वर्षअघिको चुनाव (सन् २०१३ को) मा प्रतिपक्षी झेल्नुपर्दाको पाठ सिकेर सन् २०१८ मा देशभरका २० वटै दललाई पानी पनि पिउन नपाउने गरी कसरी बढारे भन्ने तथ्यांक कहालिलाग्दो छ । त्यो चुनाव १ सय २३ सीटका लागि भएको थियो । उनले त्यतिबेला ३२ लाखमात्र मत पाएर ४८ दशमलव ८३ प्रतिशतमा झरे अर्थात् पार्टी ६८ सीटमा खुम्चियो । प्रमुख प्रतिपक्षी नेशनल रेक्स्यु पार्टीले २९ लाख ४६ हजार मत पाएर ४४ दशमलव ४६ प्रतिशतको हाराहारीमा पुग्यो, ५५ सीट पायो । र सरकारलाई हाराबारा खेलायो । यसपछि हुन सेनले बीचमा अनेकन लोकप्रिय कार्यक्रम ल्याए । अहिले नेपालमा पुल बनाउने ठाउँको ठेगान नै नलागी पैसाको खोलो बगाएजस्तै शैलीमा अगाडि बढे । र, सन् २०१८ मा प्रतिपक्षीविहीन संसद हुने गरी चुनाव गराए ।

कांग्रेस नेताहरूले बैठकमा चर्चा गरे, ‘केपी ओलीको शैली हुन सेनको भन्दा धेरै फरक छैन । उनी आश्वासन दिन कसैलाई बाँकी नराख्ने । झलनाथ, वामदेवदेखि सबैलाई प्रधानमन्त्री’ र, राष्ट्रपति बाँड्दै, उपयोग गर्नु गरेर पछि लात मार्नेले कसैलाई बाँकी राख्दैनन् । दिउँसै सपना देख्न छाडिदिनुहोस् सभापतिज्यू !’

यो तथ्यको कारण पनि ओलीलाई विश्वास गर्न नहुने कांग्रेस नेताहरूको बुझाई छ । चर्चा गरे, ‘जेठमा आउने बजेटमा उनले चुनावकेन्द्रित पपुलिष्ट कार्यक्रम ल्याउँछन् । उनलाई रेल र पानी जहाजका कुरा गर्न कसैले रोक्दैन । त्यो चुनाव धाँधलीरहित, स्वतन्त्र र निष्पक्ष पनि हुँदैन । उनमा हुन सेन बन्ने महत्वकांक्षा सवार छ, यिनै कुरा सुनेर हो, बल्ल देउवा झस्किनुभएको ।

टिप्पणीहरू