निजामती प्रशासन झिङ्गा टाँस्ने सोचमै : उपप्रधानमन्त्री

निजामती प्रशासन झिङ्गा टाँस्ने सोचमै : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

सिंहदरबारमा आयोजित निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पोखरेलले निजामती प्रशासनमा विद्यमान झिङ्गा टाँस्ने सोच नै प्रमुख समस्या रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या नै सोचमा सकारात्मक परिवर्तनको अभाव हो,निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिए तापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा बुझ्नुपर्दछ ।’

उहाँले भन्नुभयो ‘कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न सकिरहेको छैन । ढिलासुस्ती, भ्रष्टाचार,जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐजेरुहरू कर्मचारी तन्त्रमा पलाउँदै गएको आमटिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।’

टिप्पणीहरू