मतदान सकियाे,साँझैबाट मतगणना शुरु हुने
नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे नयाँ नेतृत्व चयनका लागि भएकाे मतदान सकिएकाे छ । मतदानका लागि ९७ मतदानस्थल तोकिएका थिए ।
देशभरका १३ हजार हाराहारी मतदाताले भाग लिएकाे महासंघको केन्द्रीय समितिमा विभिन्न ५१ पदका लागि १ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा २ हजार १ सय २० मतदाता रहेको महासंघले जनाएको छ । १ हजार ४ सय ७९ मतदाता रहेको महासंघको काठमाडौँ जिल्ला शाखामा बिहान ९ बजेबाट शुरु भएको मतदान कार्यक्रम बिहान करिब २ घण्टा अबरुद्ध भएको थियो । तर,नयाँ मतपत्र तयार पारेपछि मतदान सुचारु भएको बताइएको छ । काठमाडौँ शाखाको लागि २१ पदमा ५२ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै,उपत्यका बाहिर पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको महासंघले जनाएको छ । मोरङको बिराटनगर,रुपन्देहीको बुटवल,कास्कीको पोखरालगायतका स्थानमा मतदान भइरहेको खबर प्राप्त छ । मोरङ शाखामा २० पदका लागि ४७ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै,रसुवामा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको त्यहाँस्थित हाम्रा संवाददाताले जनाएका छन् । जम्मा ४६ जना मतदाता रहेको रसुवामा ३५ मत खसेको छ । महासंघको रसुवा जिल्ला शाखाको नेतृत्व भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेको छ ।
मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म भएकाे थियाे । मतदान सकिएलगत्तै आजै मतगणना शुरु हुने महासंघले जनाएको छ ।
नयाँ नेतृत्वको निम्ति मूलतः दुई पक्षबीच प्रतिस्पर्धा देखिएको छ । कतिपय जिल्लामा स्थानीय आवश्यकताको सिद्धान्तमा छुट्टै गठबन्धन र उम्मेदवारलाई समर्थन गरेको समेत देखिएको छ ।
टिप्पणीहरू