अग्रजहरुको सम्मानमा जुट्यो सेना

अग्रजहरुको सम्मानमा जुट्यो सेना

नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारलाई सम्मान गरेको छ । सेनाको उपत्यकास्तरीय भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारको सम्मेलनमा यस्तो सम्मान गरिएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गणेशदल गणबाट २०२८ सालमा अवकाशप्राप्त ज्येष्ठ भूतपूर्व सैनिक १०० वर्षका काठमाडौँ बौद्ध निवासी सुवेदार नरबहादुर बस्नेत (अप्रा) र वीरेन्द्र अस्पतालबाट अवकाशप्राप्त स्वर्गीय हुद्दा प्रेमबहादुर थापा मगर (अप्रा) को श्रीमती वर्ष १०४ की जेष्ठ एकल महिला श्रीमती गंगादेवी थापामगरलाई आज सम्मेलनमा सम्मान गरिएको थियो ।

त्यस्तै,सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल भक्तपुर चाँगुनारायण नगरपालिका-८ का जमदार दत्तुप्रसाद तिमिल्सिना (अप्रा) र भक्तपुरकै सूर्यविनायक नगरपालिका-९ का जमदार राजन खत्री (अप्रा) को श्रीमती रुकुदेवी खत्रीलाई पनि सम्मान गरिएको निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा चार वा सो भन्दाबढी सन्तानलाई सेनामा लाग्न अभिप्रेरित गर्ने ८ जना आमाबुवाहरुलाई पनि सम्मान गरिएको थियो । फरक क्षमता भएका तथा असक्त ६ जनालाई व्हिल चेयर,बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको निर्देशनालयले जनाएको छ ।

सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा उपत्यकाभित्रका तीन जिल्लामा बसोवास गर्ने भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा सम्मेलन सम्पन्न भएको हो । उपत्यका पृतना हेडक्वार्टर नारायणहिटीमा आयोजना भएको सम्मेलनमा एक हजार ३०० जनाको सहभागिता रहेको बताइएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले कल्याणकारी कोषका हिताधिकारीहरुको आवश्यकता र अपेक्षालाई सम्बोधन हुने गरी कल्याणकारी गतिविधिहरु विकेन्द्रित गरिएको बताउनुभएको थियो । ‘नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७’ बारे प्रष्ट पार्दै उहाँले सीप सिकाउनु र आत्मनिर्भर बनाउनु यसको उद्धेश्य रहेको बताउनु भयो । कल्याणकारी कोषमार्फत अवकाशप्राप्त सैनिकहरुका लागि स्वेदशमै रोजगारीका अवसरहरु सृजना गरी परिवारसँगै सुखमय जीवनयापन सुनिश्चित गर्न अधिकतम प्रयास गर्दै आएको प्रधानसेनापति थापाले बताउनुभयो ।

सम्मेलनमा पूर्वप्रधानसेनापतिहरु, रक्षा सचिव,कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत,नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु,प्रमुख जिल्ला अधिकारी,नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि, सञ्चारकर्मीहरु तथा राष्ट्रिय सेवा दलका स्वयंसेवकहरुको उल्लेख्य उपस्थिति रहेको सेनाले जनाएको छ ।

सम्मेलनले अवकाशप्राप्त सैनिकहरूको अवकाशपछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानीत जीवन यापन गर्दै राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा र हौसला मिल्ने विश्वास लिइएको सेनाले जनाएको छ । यसअघि सेनाले कर्णाली,सुदूरपश्चिम,लुम्बिनी, प्रदेश नम्बर १,२ र बाग्मती प्रदेशस्तरीय भूपू सैनिक सम्मेलन गरेको थियो ।

टिप्पणीहरू