कोरोनाबाट बित्नेहरूको संख्या बढ्दै

कोरोनाबाट बित्नेहरूको संख्या बढ्दै

विश्वव्यापी कोभिड संक्रमणको दोस्रो लहर शुरु भएसँगै नेपाल थप आक्रान्त हुन थालेको छ । पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणालाई यही रोगको कारण गुमाएको सेनाले सर्वसाधारणको शव व्यवस्थापनमा समेत आफूलाई संलग्न गराएको छ ।

यस क्रममा चैत १८ देखि छुट्टै पोशाक, गाडीसहित टोली खटाई विभिन्न अस्पतालमा कोरोनाबाट दिवंगतहरूको शव बटुल्ने गरिएको छ । अस्ति २३ गते काठमाडौंमा तीन र २० गते चितवनमा १ सहित हरेक दिनजसो शव व्यवस्थापन हुने गरेको छ । यसैबीच, कोरोनाकै कारण अस्तव्यस्त हुँदै आएका विभिन्न किसिमका सैनिक तालिमहरू धमाधम शुरु भएका छन् ।

रूपन्देहीको सालझण्डीमा अवस्थित नेपाली सेनाको व्याटल स्कुलमा अहिले सैन्य अधिकृतहरू सय–सय जनाको टोली बनाएर दिनरात कमाण्डो तालिममा जुटेका छन् । युद्धकार्यका निम्ति दक्ष सैनिक अधिकृत तयार पार्ने उक्त तालिम उपसेनानी (लेफ्टिनेन्ट) बाट सहसेनानी (क्याप्टेन) मा पदोन्नतिका लागि अनिवार्य मानिन्छ ।

‘युवक (ब्वाइज) अधिकृत तालिम’ अन्तर्गतको यो अभ्यास पूरा गरेपछि मात्रै अधिकृत क्याडेटका रूपमा सैनिक सेवा प्रवेश गरेकाहरू माथिल्लो दर्जामा पुग्ने बाटो खुल्छ । यो तालिम र तालिमस्थल त्यही हो, जहाँ ०७५ असारमा २६ वर्षीय उपसेनानी सौभाग्य देउजाले ज्यान गुमाउनुपरेको थियो । भूपू सहायकरथी यादव देउजाका छोरा थिए, सौभाग्य । तालिम शुरु भएको ४९औं दिन ‘सर्भाइभल फेज’ को एउटा सानो कमजोरीले गर्दा उनले ज्यान गुमाउने घटना भएको थियो । उक्त तालिमका क्रममा सैनिकहरूलाई भोकै राखेर गाउँबस्ती र जंगलमा पठाइन्छ ।

अधिकतम् ४८ घण्टाको यो अवधिमा उनीहरूमाथि ‘गुरुबा’ को कडा निगरानी पनि हुन्छ । उनीहरूले सालझण्डीबाट पहाड चढ्दै अर्घाखाँचीको सुपा देउराली मन्दिर पुगेपछि एउटा मन्दिरको प्रसाद खाए । यो कुरा गुरुबाले थाहा पाउँदा पूरै टोली सजायँको भागिदार बन्यो । लात्ती, मुक्कादेखि बाँसको भाटाले कुटियो । भनिन्छ, त्यही बेला सौभाग्यले साथीहरूलाई जोगाउँदै आफूले मात्रै प्रसाद खाएको बताए । त्यसपछि अरु सजायँबाट जोगिए, सौभाग्य एक्लै भागिदार भए । फलस्वरूप उनले बोक्ने भारीमा आठ केजी बालुवा थपियो ।

त्यहाँबाट अघि बढेपछि बालुवाको भार कम भयो भन्दै फेरि कुटियो । बेलुका पनि कुटियो । त्यही पिटाइका क्रममा कानको जाली फुटेको अनुमान गरिएको छ । ५० औं दिन ‘सर्भाइभल फेज’ सकियो । बेस क्याम्प फर्केपछि राति ३ बजेतिर कमाण्डो टोलीलाई अँध्यारोमै हिलोमा हालियो । त्यसक्रममा सुरक्षाका कुनै उपाय नअपनाइँदा कानमा हिलो छिरेको हुनुपर्छ । भोलिपल्ट, असार ३ गतेदेखि ज्वरो आउने क्रम शुरु भयो । काठमाडौंमा उपचार गर्ने क्रममा २६ गते निधन भयो ।

सेनामा दुई तारे जर्नेलसम्म हुनलाई ९ महिनाको स्टाफ कलेज र हायर कमाण्ड कोर्ष अनिवार्य मानिन्छ । पहिला हायर कमाण्ड कोर्ष नगरकोटमा सञ्चालन हुन्थ्यो । त्यस्तै २ तारे जर्नेलसम्म हुनका लागि विदेशमा गएर एनडिसी कोर्ष पनि गर्नुपर्छ ।

टिप्पणीहरू