रुकुममा मालपोत हाकिम पक्राउ

रुकुममा मालपोत हाकिम पक्राउ

रक्सी खाएर कार्यालयमा आएको र सेवा प्रवाहमा लापरबाही गरेको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई आज समातेको हो ।

सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । पक्राउ परेका खड्कामाथि प्रचलित स्थानीय प्रशासन ऎनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जनाए ।

खड्काले रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापरबाही गरेको गुनासो आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए ।

कार्यालयमा रक्सी खाएर कार्यकक्षमा बसेको र कामकाजमा ध्यान नदिएको पाइएको जनाईएको छ । खड्कामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू