एमसीसी भित्र्याउन एमाले सांसदको जोड
नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसीसी सम्झौता संसदमा टेबल गर्न माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमसीसी सम्झौतालाई संसदको बिजनेश बनाउन माग गरेका हुन् ।
सांसद अधिकारीले नेपाली कांग्रेस र माओवादीको संयुक्त सरकारको पालामा एमसीसी सम्झौता भएको भएपनि सत्ता बाहिर हुँदा बिरोध गरिएको बताए । एमसीसीलाई संसदको बहसको विषय बनाइनुपर्नेमा उनले जोड दिए ।
एमसीसी सम्झौतालाई लिएर तत्कालीन सत्तारुढ दल नेकपामा तीब्र विवाद थियो । सम्झौता विवादित बनेपछि २०७६ माघमा बसेको केन्द्रीय कमिटी बैठकले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलले यथाअवस्थामा सम्झौता अनुमोदन गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।
दलहरूबीच विवाद हुँदा तीन पटक संघीय संसद सचिवालयमा दर्ता भए पनि एमसीसी सम्झौता अनुमोदन भएको छैन । नेकपा विभाजन र प्रतिनिधिसभा विघटनको घटना एमसीसी सम्झौतासंग जोडिने विश्लेषण गरिएका बेला सत्तारुढ दलका सांसदले सम्झौता अनुमोदनको माग गरेका हुन् ।
सन् २०१७ मा तत्कालीन कांग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता कार्यान्वयनका लागि संसदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।
तर, सम्झौताका कतिपय शर्तहरु नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीति विपरित रहेको भन्दै अधिकांश सांसदहरु सम्झौताको विपक्षमा रहेको बताइन्छ ।
टिप्पणीहरू