कालिका माविले मनायो अभिभावक भेला

कालिका माविले मनायो अभिभावक भेला

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालयले ६०औं वार्षिक अभिभावक भेला मनाएको छ । विद्यालयले चैत ३१ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको विशेष उपस्थितिमा सम्पन्न भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जिल्ला आयोजना कार्यान्वयन इकाइका शिक्षा प्रमुख बद्री पाठक, गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामालगायत कलाकार, पत्रकार, स्वास्थ्यकर्मी, समाजसेवी, शिक्षक र विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।सोही क्रममा मुख्यमन्त्री पौडेलले विद्यालयको हालै निर्माण सम्पन्न तीन कोठे र चार कोठे दुईवटा छुट्टाछुट्टै भवनको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी शैक्षिक सत्र २०७६/७७ को आयव्यय विवरण, भावी नीति तथा कार्यक्रमबारे विद्यालयका प्रधानाध्यापक मानबहादुर स्याङ्तान तामाङले प्रतिवेदन प्रस्तुत गर्नुभएको बताइएको छ ।विविध सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा शैक्षिक सत्र २०७६ मा १ देखि ९ कक्षासम्म प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यालय व्यवस्थापन समितिको पुनर्गठन समेत गरिएको थियो ।

टिप्पणीहरू