भारतबाट ल्याउने,अरुलाई जिम्मा लाउने
नेपाल विद्युत प्राधिकरणले विद्युतको माग बढेको तर आन्तरिक उत्पादन घटेको कारण देखाउँदै आपूर्तिका लागि भारतबाट थप विद्युत आयात गर्ने बाध्यात्मक अवस्था रहेको जानकारी गराएको छ । पछिल्लो समय प्राधिकरणको स्वामित्वमा रहेका १ सय ४४ मेगावाटको कालीगण्डकी,७० मेगावाटको मध्यमर्स्याङदी,७९ मेगावाटको मर्स्याङदीलगायतका विद्युतगृहहरूको उत्पादन बढ्न नसकेपछि भारतबाट आयात बढाउनु परेको बताइएको छ ।
चैतमा प्राधिकरणका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त विद्युतगृहबाट औसतमा २ सय मेगावाट,जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युतगृहहरूबाट २ सय मेगावाट विद्युत मात्र उत्पादन भएको बताइएको छ । तर, भारतबाट ७ सय १० मेगावाट आयात गरिएको देखिन्छ । प्रणालीमा विद्युतको उच्चतम माग १ हजार ४ सय ६३ मेगावाट र औसत माग १ हजार १ सय ५० मेगावाट पुगेको छ ।
उक्त माग पूर्ति गर्न प्राधिकरणका विद्युतगृहहरूबाट अधिकतम ३ सय ४० मेगावाट,कुलेखानीबाट १ सय ३ मेगावाट र निजी क्षेत्रका विद्युतगृहहरूबाट २ सय मेगावाट मात्र उत्पादन भएको छ । तर, त्यो भन्दाबढी भारतबाट अधिकतम ७ सय ८० मेगावाट बिजुली आयात गरिएको देखिन्छ ।
यो वर्षको हिउँदमा पानी कम परेको र प्रदुषणलगायतका कारण हिउँ समेत नपग्लिएकाले चैतमा पनि खोलामा पानीको बहाव बढ्न नसकेको प्राधिकरणले स्पष्टोक्ति दिएको छ । सोही कारण आरओआर र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरूबाट विद्युत उत्पादन घटेको र प्राधिकरणको स्वामित्वमा रहेका १ सय ४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङदी, ७९ मेगावाटको मर्स्याङ्दीलगायतका विद्युतगृहहरूको उत्पादन बढ्न नसकेको बताइएको छ ।
यसैबीच प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्ने स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेञ्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिएको प्राधिकरणले बताएको छ ।
उक्त स्वीकृतिपछि प्राधिकरण भारतीय पावर एक्सचेञ्ज मार्केटको सदस्य बनेको छ । उक्त निर्णय नेपालको ऊर्जा विकासमा एउटा महत्वपूर्ण कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । उनका अनुसार ‘ऊर्जा एक्सचेञ्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्मको विद्युत व्यापारका लागि अर्को स्टेपसमेत खुल्ला भएको छ ।’
प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । पहिलो चरणमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत वर्षायाममा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरिएको छ ।
तर, यता आजको दिनमा समेत हाम्रो आन्तरिक उत्पादनभन्दा बढी भारतबाट आयात गर्नुपरेको अवस्था टड्कारो देखिन्छ ।
टिप्पणीहरू