सकियो यस वर्षको चौंरी महोत्सव

सकियो यस वर्षको चौंरी महोत्सव

पाँचथर जिल्लाको सीमावर्ती फालेलुङमा आयोजित यस वर्षको चौथो चौंरी महोत्सव बुधबार सकिएको छ ।

उक्त महोत्सवलाई दक्षिण एशियाकै एक मात्र चौंरी महोत्सव मानिन्छ । उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ ।

फालेलुङमा चरन क्षेत्र घट्दै गएको र भएको चरन क्षेत्र पनि व्यवस्थित नहुँदा चौंरी पालक किसानको संख्या घट्दै गएको छ । उक्त क्षेत्रका जनप्रतिनिधि तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले फालेलुङको चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

फालेलुङमा हरेक वर्ष यो समयमा गोठसारी हुँदै चौंरीहरू आइपुग्छन् । उच्च हिमाली क्षेत्रको आम्दानीको मुख्य स्रोत चौंरीपालन जैविक विविधताको महत्वपूर्ण पक्ष समेत हो । यतिखेर महोत्सव क्षेत्रमा २१ वटा भन्दाबढी चौंरी गोठ रहेका छन् ।

मेला हेर्न र चौंरीबारे जानकारी लिन सीमावर्ती भारत तथा भुटानदेखिका किसानहरू समेत फालेलुङ आउने गरेका छन् । मेलामा चौंरीको दूधबाट बनेका परिकार,भेँडा, घोडासमेत बिक्रीमा राख्ने गरिन्छ ।

टिप्पणीहरू