प्रहरी अस्पतालका नर्सहरुको वेदना-‘गोरुलाई हरियो घाँस देखाएर दौडाइयो’
प्रहरी अस्पतालका स्वास्थ्यकर्मीको समस्या र गुनासो न सरकारले सुन्छ न आफ्नै संगठनले । अघिल्लो दिनसम्म तन्दुरुस्त व्यक्ति भोलिपल्ट अस्पतालमा,पर्सिपल्ट आइसीयूमा र अर्कोदिन मृत्युको मुखमा पुग्नुपर्ने विकराल परिस्थिति अहिले आम नेपालीले भोगिरहनु परेको छ ।
यस्तो विषम मानवीय संकटको घडीमा एक–आपसमा माया,प्रेम,सद्भावको अति नै खाँचो हुन्छ । त्यसमाथि आफ्नो जीवनको कुनै पर्वाह नगरी पीपीइमा गुम्सिएर संक्रमितको ज्यान बचाउन अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरुलाई त झन बढी खाँचो हुन्छ ।
तर,त्यसको ठीक विपरित संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु नै अमानवीय एवं असंवेदनशील व्यवहार खप्न बाध्य हुनुपरेको तीतो यथार्थ कति पीडादायी होला ? त्यस्तै पीडामा छन् प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीहरु । त्यो पनि आफ्नै सिनियर सहकर्मी र अभिभावकहरुबाटै ।
प्रहरी अस्पतालको यस्तो अवस्थाले स्वास्थ्यकर्मीको उत्प्रेरणाका लागि भन्दै सरकारले पटक–पटक गरेका घोषणा र आश्वासन ‘गोरुलाई हरियो घाँस देखाएर दौडाउने छलकपट’ जस्तै साबित भएको पीडित स्वास्थ्यकर्मीहरु बताउँछन् । यो पीडादायी र उकुसमुकुसपूर्ण अवस्था अन्त कतैको नभएर नेपाल प्रहरी अस्पताल महाराजगञ्जको हो ।
कोरोना संक्रमितको उपचारको जिम्मेवारी स्टाफ नर्सभन्दा अरुको होइन जस्तै गरिन्छ त्यहाँ । डाक्टरहरु संक्रमितको उपचार त के आइसोलेसन वार्डमा नै प्रवेश गर्दैनन् । कोही उपल्लो ओहोदाको संक्रमित वा प्रभावशाली व्यक्तिको आफन्त परेछ भने मात्र डाक्टरहरुले अलि चासो दिएको झैँ गर्छन् । कतिसम्म भने,अन्तिम अवस्थामा पुगेको बिरामीको जीवन रक्षाका लागि डाक्टरको खोजी गर्दा निकै असंवेदनशील र टर्रो व्यवहार हुने गरेको एक नर्स बताउँछिन् ।
‘यस्तै हो,छोड्दिनोस्,हामीले नि केही गर्न सक्दैनौँ’ जस्ता जवाफ र बिरामीको अन्तिम धुकधुकी हेर्नसम्म नपाइने अवस्था साँच्चि नै पीडादायी हुने गरेको उनको अनुभव छ ।
गत बुधबार एक ३८ वर्षीय युवा यस्तै हेलचेक्राइको शिकार भएको बताइन्छ । आइसोलेसन वार्डमा डाक्टर प्रवेश नै नगर्नु,नर्सको भरमा ७० देखि ८० जना बिरामी छाड्नु प्रहरी अस्पतालमा सामान्य हो । सीमित संख्याका नर्सले बेडमा रहेका सबै संक्रमितको स्वास्थ्य अवस्थाको न्यूनतम जानकारीसमेत लिन नसक्ने परिस्थिति छ । सुगर,ब्लड प्रेसरजस्ता दीर्घरोगको नियमित औषधि सेवन गरिरहेका संक्रमितहरुले समेत आइसोलेसन वार्डमा नियमित औषधि सेवन गर्न पाउने अवस्था नरहेको स्रोत बताउँछ ।
प्रहरी अस्पतालमा स्वास्थ्यकर्मी, त्यसमा पनि स्टाफ नर्सलाई कोरोना संक्रमण भएमा,कुनै लक्षण देखिएमा वा त्यस्ता लक्षणबाट स्वास्थ्यमा समस्या आइपरेमा समेत बिदा नबस्न निर्देशन दिइएको छ । ‘संक्रमित भएर आइसोलेसन बस्नुपर्यो भने तिमीहरुको ड्यूटी कसले गर्छ, ड्यूटी गर्दागर्दै मुर्छा परेर कार्यस्थलमै ढल्यौ भने चाहिँ हेरौंला’ भनेजस्तो अमानवीय, संवेदनहीन एवं अविवेकी निर्देशन फर्मान गरिएको अर्की एक नर्सले बताएकी छन् ।
स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै हौसला दिनुको सट्टा असहिष्णु एवम् अपमानपूर्ण व्यवहार अस्पतालमा व्याप्त रहेको बताइन्छ । मेडिकल डाइरेक्टरको व्यवहार त झन् सोचि नसक्नुभएको बताउँदै नर्सले भनिन्, ‘हामी पनि उहाँजस्तै सरकारी नियुक्ति पाएका कर्मचारी हौँ,हामीलाई दिने निर्देशन तुच्छ र तल्लोस्तरको हुन्छ,यति धेरै तनावपूर्ण कार्यवातावरणमा रातदिन आफ्नो सुरक्षा र परिवारको ख्याल नगरी काम गरिरहेकालाई त्यसरी डिमोरलाइज्ड,ह्यारेस गर्दा कति पीडा होला ? त्यो व्यक्त गर्न सकिँदैन ।’
’स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने सरकारको बारम्बारको उद्घोष सायद प्रहरी अस्पताल बाहेकका लागि होला’, उनै नर्सले दुःखेसो पोख्दै भनिन्, ‘सरकारले ७ दिनमा कोरोना बीमावापतको रकम भुक्तानी दिने भनी गरेको निर्णय प्रहरी अस्पतालका लागि होइन होला ।’ ७ महिनाभन्दा बढी भइसक्दा पनि अघिल्लो साल संक्रमित भएका स्वास्थ्यकर्मीहरुले बीमा वापतको रकम अझै नपाएको उनको गुनासो छ ।
अघिल्लो पटक २०७६ चैत्र महिनामा नै सरकारले स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो । त्यहि निर्णयका आधारमा अन्य अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्य सेवाका कर्मचारीलगायतले भत्ता लिइसकेका छन् । तर,प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरुले अहिलेसम्म नपाएकोमा उनको चित्त दुखेको छ ।
त्यहिँका एक स्वास्थ्यकर्मीले भने, ‘फेरि प्रधानमन्त्रीले उद्घोष गर्नुभएको छ रे,स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने भनेर । प्रधानमन्त्रीज्यू, फेरि राष्ट्रका नाममा सम्बोधन गरेर स्पष्ट पारिदिनुहोस् कि यो घोषणा अघिल्लो पटकको जस्तै प्रहरी अस्पतालका स्वास्थ्यकर्मी बाहेकलाई हो भनेर,नत्र थप प्रष्ट पारिदिनुपर्यो एक वर्षअगाडि निर्णय भएको जोखिम भत्ता कुन बाटो कहाँ आइपुग्यो ? हामीलाई थाहा छैन ।’
प्रहरी संगठनको कडा अनुशासनका कारण आफूहरुले खुलेर समस्या राख्न सक्ने अवस्था नरहेको उनीहरु बताउँछन् । समस्या राखे पनि समाधानको कुनै गुञ्जायस नहुँदा ‘बोल्नुभन्दा चुपचाप बस्नु नै ठीक’ भन्नेहरु धेरै छन् । समस्याले पीडावोध हुनु र भित्रभित्रै तड्पिनुबाहेक अर्को विकल्प नदेख्दा चुपचाप बस्नुपर्ने बाध्यात्मक अवस्था रहेको अस्पतालका पीडित स्वास्थ्यकर्मीहरुले बताए।
’विकल्प छ त एउटै,राजीनामा दिएर हिंड्नु । तर अहिले त राजीनामा पनि दिन नपाउने उर्दी छ’,पीडित स्वास्थ्यकर्मी भन्छन् । प्रहरी प्रधान कार्यालयले पनि अस्पतालभित्रको भद्रगोल र कर्मचारीको समस्याप्रति आँखा चिम्लिएर बसेको उनीहरुको आरोप छ ।
टिप्पणीहरू