एमालेजनमा ४८ घण्टे चिन्ता शुरु

एमालेजनमा ४८ घण्टे चिन्ता शुरु

-कौशल चेम्जोङ्ग
नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा कार्यकर्ताहरुको निम्ति आउँदो ४८ घण्टा एकदमै व्यग्र प्रतिक्षाको घडी सावित हुने भएको छ । यो अवधिमा एमालेभित्र चलेको विवादको निप्टारा हुने देखिन्छ । यस घडीमा चालिने कदमले पार्टी ‘जुट्ने वा फुट्ने’ भएकोले एमालेका नेता तथा कार्यकर्ताहरुवीच सर्वाधिक चासो बढेको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी) ले आफ्नो सरकारलाई ‘भोट अफ कन्फिडेन्स’ मागेपछि पार्टीभित्रको शान्त छाल एकाएक उछालिएको हो । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले ‘कुम्लो बोकी ठिमीतिर’ देखाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विभाजित भई पुरानै स्वरुपमा फर्किन बाध्य भएको थियोे ।

एकीकृत हुँदा अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्षको एकलौटी भोगाधिकार फर्किएपछि माधव–खनाललाई हाराबारा खेलाउँदै आए । ओलीको ‘हाराकारा’ खेलाउने रहर अहिले आएर दुईमध्ये एक पक्षको ‘हाराकिरी’ (आत्महत्या) मा हुने छेकछन्द देखिदैंछ ।

सरकारको समर्थन गरिरहेको नेकपा एमाओवादीलाई समर्थन फिर्ता लैजान सार्वजनिक ढंगले खिसिट्युरी गर्ने प्रम ओलीलाई उसले समर्थन फिर्ता लिएपछि अप्ठेरो बढेको छ । सरकारको पक्षमा उभिएको जनता समाजवादी पार्टीले पनि एकाएक ‘विश्वासको मत’ को विपक्षमा उभिने संकेत देखाएपछि प्रम ओलीको संकट झनै बढेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिपक्षको भूमिकामै रमाउने बताएपछि ‘भोट अफ लुज’ को अवस्था प्रस्ट रुपमा देखिएको छ । यस्तो बेला एकाएक आफ्नालाई सम्झेर दोस्रो पुस्ताका नेताहरुवीच घनिभूत छलफल चलाइएको छ । छलफलमा २ जेठ २०७५ मै एमालेलाई फर्काउनु पर्ने ‘बटमलाइन’ मान्य नहुने खबर बाहिरिएपछि प्रम ओलीको ‘सत्तामोह’ करिब करिब भङ्ग हुने अवस्थामा पुगेको छ ।

यसबाट एमालेलाई औपचारिक विभाजनको निम्ति आधारभूमि खडा गर्ने लख काटिदैछ । माधव नेपाल पक्षले प्रम ओलीको स्वेच्छाचारी र निरकुंश शैलीको विरुद्ध पार्टीभित्रै मोर्चाबन्दी गरी ७७ जिल्ला र भातृसंगठनहरुको समानान्तर कमिटी निर्माण गरिसकेको छ ।

विश्लेषकहरुका अनुसार यतिखेर प्रम ओलीको व्यवहारका कारण पार्टीभित्र अपहेलित माधव नेपाल समूह एकाएक ओलीलाई सत्तामा टिकाइ राख्न ‘किङमेकर’को भूमिकामा उदाएको छ ।छँदाखँदाको दुईतिहाईको वामपन्थी सरकारको नेतृत्व गर्दै आएका ओली एकाएक कमजोर हुँदा पनि वरपरकाहरुले यसो नगरौं भन्न नसक्नु आश्चर्यलाग्दो नै छ ।

यदि यो बेला सर्वशक्तिमान ठहरिएकाहरुले लचकता नअपनाउने हो भने कम्युनिष्ट आन्दोलनलाई शिखरबाट रसातलमा पुर्याउने अर्को ‘केशरजङ्ग रायमाझी’ बन्न बेर छैन ।

टिप्पणीहरू