बोल्ड डिसिजन कसको ? माधवको कि केपीको ?
पछिल्लो एक वर्षदेखि पार्टी र सरकारमा विभिन्न छिर्के निर्णय गराउँदै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विकल्प साँघुरिँदै गएको अवस्थामा पुग्नुभएको छ ।
यता,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अविश्वास प्रस्ताव दर्ता गर्न ढिलो भएको महसुस गर्नुभएको छ । त्यसैगरी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले हालै गरिएको आफ्ना निर्णयले प्रधानमन्त्रीलाई रक्षात्मक पोजिसनमा पुर्याएको विश्लेषण गर्न थालेको छ ।
प्रधानमन्त्रीका पछिल्ला कदमहरू मुलुक,जनता र व्यवस्थाअनुकूल नरहेको थाहा पाउँदा पाउँदै पनि देउवाहरूले अविश्वासको प्रस्ताव दर्ता नगरेर सबैभन्दा ठूलो भूल धेरै अघि गरेको अहिले उनीहरूलाई समेत महसुस हुन थालेको बताइन्छ ।
“प्रधानमन्त्री केपी ओली निकै आक्रामक र माधव नेपालपक्ष नसोचेको रक्षात्मक अवस्थामा देखिएको थियो । तर परिस्थितिले कोल्टे फेर्दा अहिले उक्त अवस्था ठीक उल्टो भएको छ ।”
बेलैमा अविश्वास प्रस्ताव दर्ता गरेको भए निकै पहिले संसद बोलाउने प्रक्रिया शुरु हुन्थ्यो । त्यसबीचमा अरु जोगाड गरेर एउटा निश्कर्षमा जान सकिने शुभचिन्तकहरूको सुझावलाई देउवाले एउटा कानले सुनेर अर्कोले उडाइ दिनुभएको कारण अहिले राजनीतिमा गाँठो परेको हो ।
बूढानीलकण्ठ निकट स्रोतले भन्यो ‘सभापति देउवाको चिन्ता पनि ठीकै थियो । हावाको भरमा अविश्वास प्रस्ताव दर्ता गरेर सरकार नढल्ने,भारत पनि चिढिने उहाँको निश्कर्ष शुरुमा ठीकै थियो । त्यहि कारण ओलीसँग उहाँको वेभलेङ्ग्थ मिलेको थियो । तर, अहिले दक्षिणतिरका मित्रले यथार्थ योजना सुनाएपछि उहाँ तात्नुभएको हो ।’
“झण्डा,नाम,कार्यालय,विधानबारे सपनामा समेत नसोचेको अवस्थामा तत्काल माधव नेपालको पल्ला भारी बनेको स्वयम् बालुवाटार निकटस्थहरू बताउँछन् ।”
दक्षिणको सुझावको निश्कर्ष सुनाउँदै स्रोत भन्छ ‘माधव नेपालपक्षीय सांसदले राजीनामा दिने भन्दैमा देउवाले अविश्वास प्रस्ताव ल्याउँछन् भन्नु र जसपाले प्रधानमन्त्रीलाई विश्वासको प्रस्तावमा मत हाल्छन् भन्नु कच्चा खेल हो । जसपा फुटेर ओलीलाई समर्थन गर्नुपर्नाको कुनै कारण छैन ।’
राजनीतिक घटनाक्रम अघि बढ्दै जाँदा यता सत्तारुढ दलभित्रको समीकरणको हैसियतमा पनि फेरबदल आएको छ । केही समय अघिसम्म प्रधानमन्त्री केपी ओली निकै आक्रामक र माधव नेपालपक्ष नसोचेको रक्षात्मक अवस्थामा देखिएको थियो । तर परिस्थितिले कोल्टे फेर्दा अहिले उक्त अवस्था ठीक उल्टो भएको छ । यसबीच प्रधानमन्त्री र नेपाल दुबैले चाल्नुभएको कदमले पहिलेको अवस्थामा परिवर्तन आएको बताइन्छ ।
“आगामी माघमा हुने राष्ट्रिय सभाका १८ जनाको निर्वाचनमा समेत उहाँलाई त्यति सहज नहुने माधव समूहको ठहर छ ।”
पार्टीभित्र निकै असहज अवस्थामा रहेको,नयाँ पार्टी गठन नगरेको, नयाँ पार्टी गठनमा कुनै झण्डा,कार्यालय,विधानबारे सपनामा समेत नसोचेको अवस्थामा तत्काल माधव नेपालको पल्ला भारी बनेको स्वयम् बालुवाटार निकटस्थहरू बताउँछन् ।
जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा काँग्रेस र माओवादी केन्द्रको समर्थन रहने गरी आफ्ना मान्छे भनेर चिनिएका खिमलाल देवकोटालाई उम्मेदवार बनाउन सफल भएपछि प्रधानमन्त्री रक्षात्मक अवस्थामा पुग्नुभएको नेपाल पक्षको दाबी छ । स्रोत भन्छ ‘नेपालको मुख र क्षमता हेरेर उनीहरूले समर्थन गरेका हुन् । अहिले त्यहि बोल्ड डिसिजनले बालुवाटारलाई अप्ठेरोमा पारिदियो ।’
त्यति मात्रै होइन,स्पस्टिकरण सोधेर पार्टीभित्रको अवस्थालाई असहज बनाएको बेलामा माधव पक्षको सामूहिक राजीनामा दिने चेतावनीले प्रधानमन्त्री थप रक्षात्मक बन्नुभएको बताइन्छ । निकै आक्रामक अवस्थामा देखिँदै आउनुभएका प्रधानमन्त्री नेपाल पक्षले पदको लोभ नगरी सामूहिक राजीनामा दिने बताएपछि एकाएक रक्षात्मक बन्नुभएको हो ।
राष्ट्रिय सभातर्फ बाग्मती मात्र होइन लुम्बिनीमा हुने उपनिर्वाचनमा पनि त्यहि हालत हुने अवस्था बन्दै गएको छ । त्यसैगरी आगामी माघमा हुने राष्ट्रिय सभाका १८ जनाको निर्वाचनमा समेत उहाँलाई त्यति सहज नहुने माधव समूहको ठहर छ । संघीय संसदको आगामी निर्वाचनअघि हुने यस्ता उपचुनावले एकपछि अर्को झट्का मिल्ने अवस्थाले प्रधानमन्त्री रक्षात्मक बन्नुभएको हो ।
टिप्पणीहरू