सबैलाई लाज लागेको छ दुई हुनाले
-दिनेश रायमाझी
एउटा लाइभ लोकदोहोरी गीतमा पुरुष गायकले भन्छ –“एक भनेको एक हो कान्छी,दुई भनेको दुई हो….” शुरुताका माले र मार्क्सवादी दुई थिए,एक भए, चुनावमा ६९ हुँदै ८८ पुगे र अल्पमतको सरकार बन्यो । एमाले र माओवादी केन्द्र दुई थिए,एक भए,चुनावमा १७४ सीट जिते प्रत्यक्षमा र झण्डै झण्डै दुईतिहाई नजिकको सरकार बन्यो । एउटा नेकपा (नेकपा),दुईतिहाईको सरकार केन्द्रमा,प्रदेशमा पनि एकमना सरकार । पालिकाहरूको त गिन्ती नै छैन । अदालतले दुईवटा बनाइदियो,बन्न माने सबैले ,र फेरि एमाले र माओवादी केन्द्र बनेर सिट १२१ र ५३ भएको छ । इन्द्र यदि छन् वा हुन्थे भने पनि छुन नसक्ने एक हुँदाको सरकार दुई हुन पुगेकोले अल्पमतमा झर्न पुगेको छ ।
लुँडो खेल्दा सर्पको मुखमा परेर सीधै तल झरेजस्तो । अदालतले दुई बनाएपछिको एक पनि राम्रै थियो तर यसलाई पनि दुई बनाउने भएपछि टेकोमा अडिएरै सहि अल्पमतमा रहेको सरकार अब सत्ताच्युत हुने अवस्थामा पुगेको छ । दोहोरी गीतमा जवाफ फर्काउन धेरैमा दुई मीनेटको समय मिल्छ।गायकले एक हुँदा हुने फाइदा र दुई हुँदा हुने बेफाइदा दुई मीनेटमै छुट्टाउन सक्छ तर यी देश खाएर शेष पल्टिएका नेताले एक हुने फाइदाको अन्दाज गर्ने त कुरै भएन एक भएर भोग गरिरहेको फाइदा पनि थाहा पाउन सकेनन् ।यस्तालाई के भन्ने होला ? कम्तीमा पनि दिग्गज त भन्न सकिन्न ।
हाम्रो गाउँमा जिम्माल बाजे थिए।डाँडामा बस्ने,घोडा चढेर हिंड्ने ।उनको घरमा गोरस नटुट्ने अक्सर । तैपनि कहिलेकाहीँ भैंसी बिरामी पर्दा,पाडो फुकेर खाइदिंदा वा बाली लागेपछि गोरसमा कमि हुन्थ्यो । गाउँमा मोही बाह्रैमास खान पाइन्थ्यो अल्लि पहिलेसम्म ।किनभने मोही पार्नेको घरबाट सबैले मोही लैजान्थे र दिनैपर्ने हुन्थ्यो । तर जिम्माल्नी बजैले आफूकोमा मोही नहुँदा बाजेलाई घोडा चढाएर अरुकोमा लिन पठाउने र लैजाने तर अरु उनकामा उकालो चढि चढि लिन गयो भने रित्तो भाँडो फर्काउने,नदिने ।पल्लो घरका माइल्बा अल्लि झोंकी खालका थिए ।
जिम्माल बाजे घोडा चढेर मोही लिन के आँगन टेकेका थिए बूढाले भनी त हाले- टुटी खोलेर गाग्री थापे पो गाग्रीमा पानी भरिन्छ । टुटी बन्द गरेर पानी थाप्दा गाग्री भरिन्छ र ? एमाले हाम्रै हो भनेका छन्, अझ सुदृढ र एकीकृत पार्टी बनाउने हो भनेका छन् । अध्यक्ष र प्रधानमन्त्री पनि ओली कमरेड नै हो भनेका छन्।धाएकाधायै छन् ।कहिले म्यारियट होटलमा,कहिले शीतल निवासमा, कहिले धुम्बाराही त कहिले बालुवाटारमा । तर जिम्मालनी बजैले मोही नदिएर फर्काएजस्तै गरी खाली हात,खाली भाँडो र त्यो पनि खिसिट्युरी गर्दै फिर्ता पठाउने काम भएको छ । आफूलाई भने सरकार चाहिने, पार्टी चाहिने र बिश्वासको मत पनि चाहिने ! तर आफूले मोहीको त कुरै भएन, गाईको गहुँत पनि नदिने ।स्पष्टीकरण सोधेको छ,निलम्बन गरेको छ र फेरि पनि स्पष्टीकरण सोध्दै विश्वासको मत पनि मागेको छ । यदि आफूले अरुबाट लिने हो भने आफूले अरुलाई पनि दिनपर्छ होला नि ? टुटी नखोली धाराबाट पानी झर्छ र कमरेड ! आफ्नो मन र मस्तिष्कको धाराको टुटी खोल्नुपर्छ र कम्तीमा पनि खुट्टा टेक्ने पाँच गाउँ त्यो टुटीबाट चुहाउनु पर्छ । खाली गाग्री राखेर बस्ने कि भर्ने ? जिम्मा आफ्नै हो।
सत्यनारायणको पूजा गरेको साँझ खेली गाउँथे उहिले गाउँमा ।आजभोलि उतिसाह्रो हुन्न, त्यसमाथि कोरोना छ कसरी हुनु ! खेली गाउँदा एकअर्कालाई छेप्पन हान्छन् दह्रोसङ्ग । किनभने यसमा जित्नैपर्ने हुन्छ । यसपटक अदालतले भिलेन खेलेर लभ टुटाइदिएपछि यता पनि त्यस्तै छेप्पन हानेको सुन्न पाइयो एकअर्कालाई । खेली गाउँदा हानेको छेप्पनले त आनन्द दिन्थ्यो अझ कडा कडा हाने हुने भन्ने लाग्थ्यो तर यो घरझगडाको राजनीतिमा छेप्पन यस्तो हानियो कि हान्नेबाहेकका अरु सुन्ने जन जति सबैले घाइते र मर्माहत भएको महसुस गरे र यस्तो नहाने हुने भनेर बिन्ती नै हाले । सबैको भावनामा चोट पुगेको छ र ओल्लो घरको यताको र पल्लो घरको उताकाको बीचमा बोली बाराबार भएको छ । गाउँ बिभाजित,सहर बिभाजित र देशै बिभाजित बन्न पुगेको छ । यस्तो किन गरेको होला ?सम्झाईदिने,बुझाइदिने कोही छन् कि ?
अन्त्यमा, दुई होइन,हुने त एकै हो । हिजोको ओज छैन,मुहारबाट चमक हराएको छ,दुई हुनाले । कान्ति छैन अनुहारमा त्यसैले मनमा शान्ति पनि देखिन्न ,दुई हुनाले । नक्कली हाँसो हाँस्न परेको छ लोकलाजबाट बच्न दुई हुनाले । बात मार्दा नजर झुकेका छन्,दुई हुनाले । जनताप्रति जिम्मेवार भएर काम गर्न समय निस्किएको छैन ,सबै समय गफ हाँक्ने र रफु भर्ने काममा ब्यतित भएको छ,दुई हुनाले । धरहराजस्तो अग्लो ब्यक्तित्व अहिले कस्तो भएको छ अरुले भन्दा नमज्जा होला ,स्वयं अन्दाज गर्दा उत्तम होला,दुई हुनाले । अरु त के भन्ने हो र !!!
हामीले भन्ने त एक भनेको एकै हो,एक हौं!! ,दुई तिहाइ नजिकको सरकारै हो ,फेरि बनाओैं र चिनियाँ कम्युनिस्ट पार्टीपछिको ठूलो पार्टी नै हो,ठूलै बनाओैं । आगे आप जाने।
टिप्पणीहरू